|

दोलखा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा थामी समुदायबाट ७१ जना चुनावी मैदानमा छन्।

मुख्य राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा स्वतन्त्रसहित ७१ जना थामी चुनावी मैदानमा रहेका हुन्।

यो कुल उम्मेदवार संख्याको ५.२९ प्रतिशत हो। ७१ जनामध्ये सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकामा ३१ जना र सबैभन्दा कम मेलुङ गाउँपालिकामा ४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ।

त्यसैगरी, बिगु गाउँपालिकामा १९ र भीमेश्वर नगरपालिकामा १७ जनाले उम्मेदवारी दिएका छन्। 

थामी समुदायबाट पालिका प्रमुखमा १ महिला र १ स्वतन्त्रसहित ३ जना र उपप्रमुख पदमा २ जना महिलाको उम्मेदवारी परेको छ। जनता समाजवादी पार्टीबाट भीमेश्वर नगर प्रमुखमा बिच्छिकुमार थामी र कालिञ्चोक गाउँपालिका अध्यक्षमा नानु थामी तथा बिगु गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार हेमबहादुर थामीको उम्मेदवारी परेको हो।

त्यसैगरी, नेकपा एमालेबाट कालिञ्चोक गाउँपालिका उपप्रमुखमा कविता थामी र बिगु गाउँपालिका उपप्रमुख पदमा देविका थामीको उम्मेदवारी परेको छ।

वडाध्यक्ष पदका लागि १७ जना र वडा सदस्य पदमा ४९ जनाले उम्मेदवारी दिएका छन्। दोलखामा ९ स्थानीय तहका ३ सय ८८ जना  जनप्रतिनिधिका लागि १ हजार तीन सय ४०  जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.