‘राजनीतिक दलले अटेर गरे’

|

काठमाडौं : स्थानीय तहको निर्वाचन नजिकिँदै छ। यही वैशाख ३० गते ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुनेछ। अहिले शहरदेखि गाउँसम्म चुनावी माहोल तातिएको छ। भोट माग्न उम्मेदवार जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ।

विभिन्न दलका उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक ठाउँमा प्रचारप्रसारका सामाग्रीहरू त राखेकै छन्, त्यसमाथि विद्यार्थीहरूको समेत प्रयोग गरेर चुनावी अभियान गरिरहेको पाइएको छ। कतिपय विद्यार्थीलाई पार्टीका झण्डा बोकाइएको छ। 

निर्वाचन आचारसंहिता २०७८ को दफा (४) को सबैले पालना गर्नुपर्ने आचरणः दफा (३) बमोजिमका व्यक्ति, संस्था, निकाय तथा अधिकारीले १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ। 

उनीहरु अध्ययन गरिरहेकै विद्यार्थी हुन्। तर, अहिले धनगढी, ओखलढुंगा, इलाम, धनकुटा, मकवानपुरलगायत अधिकांश जिल्लामा ठूला राजनीतिक दलले विद्यार्थीहरूलाई प्रयोग गरेका छन्।

धनकुटा, ओखलढुंगा, महोत्तरीमा चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको तस्वीर नै सामाजिक सञ्जालमा धमाधम आइरहेका छन्। 

शिक्षाविद् भन्छन् : बालअधिकार हनन भयो

शिक्षाविद् प्राडा विनय कुसियत राजनीतिक दलले विद्यार्थीहरूलाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्नु दुःखद रहेको बताउँछन्। ‘म अहिले गाउँमा छु, विभिन्न राजनीतिक दलका मान्छेहरूले विद्यार्थीहरूलाई प्रयोग गर्ने, साइकलमा झण्डा बोकाउने गरेको देखेँ, यो निकै दुःखद कुरा हो,’ उनले भने।

उनका अनुसार उम्मेदवारहरूले पनि बालबालिकालाई छनोट गर्ने होइन र बालबालिकालाई अझै उम्मेदवार चुन्ने उमेरले पनि दिएको छैन। ‘उनीहरूलाई त यसरी पार्टीको झण्डा बोकाउने होइन, पढाउने व्यवस्था पो गर्ने हो,’ उनले भने, ‘तर उल्टै विद्यालय बन्द गरेर पढ्न पनि पाउँदैनन्, त्यसैले बालअधिकार हनन भएको छ।’

उनका अनुसार बिदाको दिन यस्ता चुनाव गराउनुपर्ने थियो। तर राज्यले नै विद्यालय बन्द गराएर चुनाव गराउने निर्णय गर्‍याे। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नै मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिइसकेको छ।

पार्टीका झण्डा खुल्लम खुला विद्यार्थीहरुलाई बोकाए पनि निर्वाचन आयोग मूकदर्शक बनेको उनी बताउँछन्। उनले भने, ‘यस्तो प्रवृत्तिले लोकतन्त्र बलियो पार्दैन र शिक्षा क्षेत्रमा सधैँ समस्या निम्त्याउँछ, त्यसैले आयोगले अनुगमन गर्नु पर्‍याे, कारबाही गर्नु पर्‍याे।’

जति भने पनि टेर्दैनन् : आयोग

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल जति पटक राजनीतिक दल, कार्यकर्ता सबैलाई निर्वाचन आचारसंहितामा रहेर प्रचारप्रसार गर्न भने पनि उनीहरूले अटेर गर्ने गरेको बताउँछन्।

‘आचारसंहितामा विद्यार्थीहरू प्रयोग गर्न नपाइने उल्लेख छ, पहिला भने आचारसंहिता उल्लंघन गर्दैनौँ भनेर हस्ताक्षर गरेर आउने तर पछि उनीहरू नै यस्तो कार्य गर्ने गरेका छन्, यो ज्यादै दुःखद कुरा छ।’

जहाँ पनि चर्को राजनीति हुँदा यो प्रवृत्ति देखिएको उनी बताउँछन्। उनले भने, ‘यस्ता कार्य गर्नेहरूलाई यही कारबाही गर्ने भन्ने लेखिएको पनि छैन, नैतिक पक्षको कुरा हो, पहिला केही गर्दिनँ भन्ने, पछि आफैँ गर्ने, यसले राजनीतिमा अविश्वास बढायो।’  

उनका अनुसार जो सुकैले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी दिन सक्छ। उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित,सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिन सकिन्छ।

त्यस्तै, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालयमा उजुरी दिन सकिन्छ। आयोगले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रूपैयाँसम्म जरिवाना गराउने चेतावनी दिइरहेको उनको भनाइ छ। तर कारबाही भने गर्न सकेकाे छैन।

(यो पनि)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.