|

हामी फर्केपछि लाङटाङ खोलाको पानी त्रिशुलीमा मिस्सिएर हिजोआज त खोज्दै होला, समुन्द्रको कुनै कुनामा आफ्नै नामको लालपुर्जा। एक बर्खा र एक  हिउँद, क्यालेन्डरबाट निस्केर खै कता पो पुगे। तर, रौँ जति पनि हलचल भएका छैनन् लाङटाङ यात्राका अमर सम्झनाहरू।

२०७७ फागुनको अन्तिम साता, कोभिडले (पहिलो लहर) आफ्नो लय बिर्सँदै थियो। हामीले गुमेको स्वतन्त्रता फिर्ता लिदैँ थियौँ। 'चिलाइरहने पैतालामा किला गाडेर बस्नुपर्ने समयको अन्त्य भयो', मनले सोच्यो। उही २०७७  साल दशैँ अगाडि सरुवा भएर नुवाकोट पुगेँ म। धादिङको गल्छीबाट दौडेको सडक, नुवाकोट हुँदै  रसुवाको पल्लोछेउ केरुंग पुगेर चीनसँग अंकमाल गर्छ।

म त्यही  सडक योजनाको कारिन्दा थिएँ। गल्छीबाट छिरेकै दिन चाहनाको जुलुस लाङटाङ उक्लिसकेको थियो। पैतालाले भने फागुनको अन्तिम साता कुर्नुपर्‍यो। सर्कलका ट्रेकरलाई निम्तो गरेँ। पोखराबाट ठुल्दाई(सुरेश) र स्पन्दनले निम्तोलाई स्विकार गरे। यता विवेक र म स्वागत गर्न आतुर भयौँ।  

दिन एक : आत्माको इन्तजार  

लाङटाङ यात्राको छोटो योजना डायरीमा लेखिएको थियो। स्याफ्रुवेशी पैदल यात्राको सुरु विन्दु हो। स्याफ्रुवेशी पुग्न  नुवाकोटको बेत्रावतीबाट बाटोको दुईथरी सुविधा छन्। एउटा : धुन्चे हुँदै स्याफ्रु पुर्‍याउँछ, अर्को :  तल्लो छोटो बाटो मैलुंग सडक आयोजनाको क्याम्प हुँदै त्रिशुलीको किनारै किनार।

माथिल्लो बाटोमा खसेको वस्तु गुरुत्वबलले तल्लो बाटोसम्म ल्याइ पुर्‍याउँछ। डायरीले निर्देश गरेअनुसार पहिलो रात हाम्रो झोलाले मैलुंगमा (रसुवाको तल्लो बाटोमा पर्ने बस्ती ) ओत पायो। क्याम्पको वरिपरी कुनै घर छैनन्। 'रामदी पुल तरने बित्तिकै' स्पिकरले एकोहोरो चिच्याउँछ। खानपिन सकियो। नसा र यात्रीहरू नाचिरहे।

बसेकै घरको जगमा मृत आत्माहरू छन्। २०७२ को भुकम्पले पहिरो खस्यो। स्थिर जमिन हल्लियो। हल्लिरहेको धड्कन रोकियो। भूकम्पले राखेको मानवशरीरको जग आर्मीले निकाल्न सकेन। कम्तीमा आधा दर्जन शव यही घरको जगमा पुरिएका हुन्। विवेक,भगवान र तारा यो क्याम्पका घरबेटी हुन्। उसैपनी घरबेटीको बानी सुनाउने न हुन्छ। उनीहरूको ओठले कथा र अनुहारले त्रास बोलिरहेको छ।

घरबेटीमध्ये एक सुनाउँछ, 'अघिल्लो महिना, न हावा चल्नु न पहिरो आउनु, चिलाउनेको रुख हिडेर हाम्रो क्याम्प तिर आयो। राती चेनलगेटमा चाबी खोल्यो। हामीले भान्सा उठाइ सकेपछि कुक्करको सिठी खै कसले उठाउँछ ? आधारातमा खै कसले हो दाउरा लोड गरिरहन्छ, इन्जिन बिग्रेको पुरानो टिप्परमा। खै कसले पानी खाएर खुल्लै छोड्छ धारा?'

'भुकम्पमा परेर फिर्ता नभएका आत्माहरूको हाजिरी हामीले यसरी उठाएका छौ', क्याम्प कुरेर बस्ने सुपरभाइजर भाइहरूले सुचना दिँदा घडीले रातको एघार उक्लँदै गरेको सुचना दियो।

विवेकले थप्यो 'दाइहरू हाम्रो हाजिरी राख्नुहुन्छ, हामी आत्माहरूको। लामो हाँसो...'

हलमा एकछिन  त्रास मिसेको हाँसो गुन्जियो। सत्य कि भ्रम, दुनियाँ जानोस्, हामीलाई त्रासले निल्यो।  रातभर कुरी रह्यौं सिठी लगाउने, दाउरा  उठाउने, धारा खोल्ने सेता मान्छेहरू।

दोस्रो दिन : एब्सोलुट एडभेन्चर  

अनिदो मैलुंग छोडेर स्याफ्रु पुग्दा घाम जवान भइसकेको थियो। यतिन्जेल त्रिशुलीले हामिलाई डोर्‍याइरह्यो। निर्माण कम्पनीका बोलेरो गुरु जीले धन्यवाद लिएर मैलुंग फर्के। स्याफ्रुबेशीबाट रसुवागढी नाका १७ किमी टाढा छ। स्याफ्रु सुगम छ। अलिक माथी यसको भाइ खलक बजार छ ठुलो स्याफ्रु, जहाँबाट गोसाइँकुण्ड उक्लन पनि मिल्छ।

बजारको थोरै तल बेलीब्रिजमाथि मार्च पास गरेपछि सुरु हुन्छ : लाङटाङ उपत्यकाको पैदल यात्रा। छेउकै दोभानमा लाङटाङ खोलाले त्रिशुलीलाई यौवन  सुम्पिदिन्छ। स्याफ्रुबेशीबाट लाङटाङ खोलाको तिरैतिर बाटो उकालो लाग्छ।

पैदलयात्राहरूमध्ये यो पदमार्ग अलिक खास छ। पुग्नुपर्ने गन्तव्यको पेरीफेरी यात्राको सुरुमै देखिन्छ, पर कतै क्यानभासमा पोतेर राखेजस्तो 'लाङटाङ लिरुंग'। जवान किशोरले उसकी ‘क्रस’ पछाए जसरी बाटोले पच्छ्याइरहन्छ। सामान्यतया पैदलयात्रीको पहिलो दिनको यात्रा ‘लामा होटल’ पुगेर टुंगिन्छ। लामा होटल आफैमा एउटा बस्तीको नाम हो। दोमेन,पहिरो,बम्बो र रिम्चे नामका बस्तीहरूले हामीलाई लामा होटल जाने बाटो देखाइरहे।

अन्नपूर्ण हिम श्रृंखलाको वरिपरी जन्मे हुर्केर उतै पदयात्रा सिकेका हामीलाई बम्बोको खाना भन्दा होटल साहुनी काकीले ३ घन्टामा लामा होटल पुग्छौ भन्दा थप मिठासपूर्ण लाग्यो। पहिरो काटेर रिम्चे नपुग्दै एउटा ठुलो भीमसेन ढुंगा  सुरुङमार्गको झल्को दिने गरी बाटो बनाएर बसेको छ। भीमसेन ढुंगा मुनी पुग्नासाथ स्पन्दनको शरीरले धानिने जमिन खोज्यो। खुट्टा फर्कियो।

विवेकले भगवानलाई रिसाउन नपाउने सर्तमा टाउकोको हर हर महादेवको टालोले खुट्टा कसिदियो। जेनतेन उठेर ५/७ पाइला हिड्दैमा फेरी अर्को खुट्टा फर्कियो, क्रमश दुवै खुट्टाका पिँडुला। यात्रा, यात्रा मात्र होइन रहेछ, यात्रा त संयोग रहेछ र भाग्य पनि! कसले चोरेर लग्यो १५ सेकेन्ड अगाडी नभेटिने गरी कुदिरहेको स्पन्दनको पाउबाट जाँगर? रिम्चेमै बसौँला भन्न पनी २० मिनेटको ठाडो उकालो बाँकी छ।

झन्डै आधा घन्टामा स्पन्दनको खुट्टा बोल्यो, 'तलाई म रोकेर राख्दिन, तैंले गन्तव्यमा  पुग्नुपर्छ।' दुई हातमा लट्ठी। दुई गोडामा ब्यान्डेज। मनभरी लाङटाङ पुग्ने हुटहुटी। कसरी रोकिन्थे पैतालाहरू? साँझको ५ बजे आसपासमा लामा होटल पुग्यौं।

'दुई घण्टाको दुरीमा रिभर साइड आउँछ', पहिले नै गएका मध्ये कसैले फुकिदिएको थियो मेरो कान र त आशावादी पैतालाहरू लम्किरहे। फागुनको छोटा दिन अँध्यारोले निलिसकेको छ। करिब आधा बाटो सकिएपछि दुई यात्री भेटिन्छन् तल झर्दै गरेका र भन्छन्, 'कुनै होटल खुल्ला छैनन्, फर्किऊँ।'

उकालो यस्तो छ की बरु जंगलमै बस्न तयार, तर फर्कने सुविधा हामीलाई छैन। खुट्टाको पीडामा पानीको प्यास थपिएको छ। कतै पर खोल्सामा पानीको आवाज सुनियो। टर्चको उज्यालोमा हामीले प्यास निल्यौ, एक थान दुखको अन्त्य भयो। जंगलको बाटो सकेर खोलानेर पुग्दा ‘रिभर साइड होटल’को धमिलो दृश्य देखियो।

चकमन्न अँध्यारोमा घडीका हरिया सुई टल्केका छन्। सुईको हिसाब साढे सात निस्कियो। सुनसान होटलका प्रत्येक कोठाको विश्वास ताल्चामा अडिएको छ। छेउमै एकनासले सुसाइरहेछ लाङटाङ खोला। यसपछिको अर्को बस्ती घोडा तबेला हो।

करिब दुई घण्टाको जंगलको उकालोपछि आइपुग्छ, जंगली भालुको बासस्थान। जसलाई आक्रमणको केन्द्र मानिदोँरहेछ। सन्नाटा चिर्दै सुरेश दाई बोल्नुभयो, 'बाहिर बेन्च छ, लगाउने लुगाले माथिबाट आङ ढाकौँ र यहीँ सुतौँ।'

विवेकले हो मा हो मिलायो।  स्पन्दन र म राजी भएनौँ। हामी घोडा तबेला पुगौँ भन्ने पक्षमा उभियौँ। रातीमा तापक्रम माइनसमा पुग्थ्यो। यसरी बाहिर सुत्नु सुरक्षित काम होइन्। सानो समुह दुई कित्तामा विभाजित भयो। आ-आफ्नै तर्क र दाबी भएपछि भएपछि मध्यमार्गी बाटो खोज्नुको विकल्प थिएन।

टर्चको उज्यालोको भरमा सम्भावना खोज्न लाग्यौँ। होटलदेखि अलिक पर एउटा साइनबोर्डमा कुनै होटलको विज्ञापन लेखेको देखियो। त्यसमा उपलब्ध नम्बरमा सम्पर्क भयो। विडम्बना सम्पर्क नम्बरवालाको होटल यो रुटमा नै नपर्ने रहेछ, तर  पनि हाम्रा दुखको आगोले ती साहु जीको मन पग्लियो।

साहु जी त अघि नै गेस्ट नभएर घोडा तबेला उक्लेका रहेछन्। मदिराले मातेका साहुसँग फोन पुग्यो। 'तिमीहरूलाई मैले किन सहयोग गर्ने, कसरी गर्ने? त्यहाँ रोकियौँ भने म निकुञ्जको आर्मी बोलाएर कारबाही गराउँछु' देखी १२ मिनेट ८ सेकेन्डको वार्तालापमा 'छ नम्बर कोठाको चाबी फुटाएर सुत' सम्म कुराको उतारचढावमा फोनवार्ता भयो। 

हामीले भगवान भेट्यौँ। चाबी फुटाउन ह्याम्मर भेटियो। हामी होटल फोरेर भित्र पस्यौं। झोलामा बोकेको बाटो खर्चले छाक टार्ने सल्लाह भो। सिंगल बेडका साना दुई ओछयान जोडेर, प्याकेटमा राखेको सामान जसरी हलचल नभई हामी चार भाइ निदायौँ।

तेस्रो दिन : सेतो केन्जिनगोम्पा

उत्तर दिशाको भित्तामा हिमाल टाँसिएको छ। घरको  ढाड पछाडिबाट लाङटाङ बगेको छ। विवेक खोलामा दाउरा बटुल्दै छ। रातभर बाहिर चिसिएको सिलोटको बाटामा पानी तताउन सुरेश दाई र स्पन्दन ढुंगा जोडेर आगो बाल्दै छन्।  मानौँ हामीले बचपनमा पढेको शिशिर वसन्तको कथा यहीँको परिदृश्य हो।

होचो कद। अनिदो जस्ता चिम्सा आँखा। पुरानो खैरो स्वेटर। स्वेटर रंगकै अनुहार। दाँतको साटो हाँस्ने गिजाहरू। बुढा साहु जी टुप्लुक्क आइपुगे। 'ए तिमीहरू हो अर्काको घर फोर्ने?', घरी ठट्टा गर्थे, घरी सेन्सर चाहिने गाली गर्थे। उनको गणित मिलाएर हामी उकालो लाग्यौँ।

घोडा तबेला उक्लेपछि ठाडो उकालो सकियो। त्यहाँदेखि लाङटाङ उपत्यकासम्म हाम्रो चर्चा चलेछ। बाटोका बत्तीहरूमा थुप्रै पटक सोधियो, 'भाइहरू हो, पोखराको टोली?'

लाङटाङको पहिरो तरेर मात्र पुगिन्छ लाङटाङ उपत्यका। गोरखा भुकम्पमा पुरिएको सिंगो उपत्यका हिमपहिरो मुनी छ। ४० बढी घर र दुईसय बढी मान्छेहरू। सम्झिँदा पनि शरिरमा काँडा उम्रिए। चिप्लिन बिर्सिएको चट्टान मुनी एउटा घर बाँकी छ। भुकम्पसँगै आएको पहिरोले पुरै बस्ती खण्डहर बन्यो।

लाङटाङ गाउँमा नयाँ संरचना बने। लाङटाङ  अगाडी मुन्दु काटेर टिसप पुग्दा चौरीको हुल भेटियो। चिसोमा भिजेका चौरीले आङ ताने। छिनमै काला रंगका चौरी सेता भए। हिउँ फुलको स्पर्शले हामी हौसियौँ। करिब एकघण्टा पर्दापर्दैको बाक्लो हिउँमा बाटो खोज्दै पुगियो सुन्दर सेताम्मे केंजिनगोम्पा।

हिउँका डल्ला हान्दै छिल्लिन होटल बाहिर दुई युवती आइपुगे। उनीहरूको चञ्चलता मौसमले जाती मानेन, दुई मध्ये एकलाई लिन भोलिपल्ट हेलिकप्टर आयो।नमस्ते होटलले बुढी आमाले अघि नै हाम्रो बाटो हेरेकी रहिछिन्। पदयात्रामा भेटिने ठुलो फलामे चुलो वरपर हामी जम्मा भयौँ।

कहिल्यै बुढो नहोला जस्तो जिउडाल,सर्लक्क पछाडी चुल्ठो बाटेको कपाल, कानमाथि टेको खुट्टा राखेर उभिराखेको गोलो चस्मा लगाएका नविन ज्ञवाली हाम्रा अगाडी छन्। एकतमासले उनलाई सुनिरहेका छन्, नेपाल मेडिकल कलेजमा भर्खर चिकित्सा शास्त्रको परिक्षा सकाएर आएका अनमोल खड्का र टोली। ज्ञवाली, सोलो ट्रेकर हुन्। अध्ययनले पिएचडी  सकियो  तर उनलाई बाँधिन मन परेन, डुलीरहन्छन। भर्खर सगरमाथा आधार शिविर पुगेर यता उक्लेका रहेछन्। हामी पनी उनका कथामा मुग्ध भएका छौँ। उनको काठमाडौंमा स्कुले जीवन, रुमानी प्रेमका कथा र ग्यांग फाइटका किस्सा। 

चौथो  दिन : जय शम्भो

आज महाशिवरात्रि हो (त्यो दिनको कुरा हो)। आँखा खुल्दा छेउको झ्यालमा आएर  लाङटाङ लिरुंग उभिएको छ। हतार हतार घरको छतमा पुग्दा हामी जस्तै हतारिएर  घाम आइपुग्न लागेको छ। चारैतिर सेता टाकुराको बिचमा आलिशान छ, केन्जिन भ्याली।

मैले जीवनमा यो भन्दा सुन्दर वस्ती देखेको थिइन। केन्जिन भ्याली र हिमाल हेर्ने दुई चर्चित टाकुरा ‘सेरगो री’ र ‘केन्जिन री’ हुन्। हामीले ‘केन्जिन री’ रोज्यौँ। नाक ठोकिने उकालोको थाप्लोको नाम ‘केन्जिन री’ हो।

रातीको हिउँले चिसिएर उदाउँदो  घामको  न्यानोपनमा  लुटुपुटु गरिरहेको चरा  हाम्रो नजिक आइपुग्यो। हामीले ब्रेकफास्टको लागी लगेको फ्राइ राइस दियौँ। उसले निर्धक्क फोटो खिच्न दियो। हामीले नाम राख्यौ ‘लाङटाङकी चरी’।

केन्जिन रीबाट देखिने पेनोरोमिक दृश्य लोभ लाग्दो छ। हाम्रा आँखाले छेउबाट हिमाल छोएका छन्। हामीले सेतो छँदै उक्लेको पहाड र केन्जिन भ्याली घामले बिस्तारै आफ्नै रंगमा फर्काउँदै छ।

पहाडको थाप्लोमा हिउभरी क-कसले क-कसका नाम लेखे, हिसाबकिताब छैन। केन्जिन भ्याली आफूलाई चाहिने बिजुली छेउमै उत्पादन गरेको छ। केन्जिन री र लाङटाङ लिरुंगको बिचमा बिस्तारै पग्लदै छ, जमेको हिमताल। टाढा कतै परीका कथामा, सिनेमाका चित्रमा कल्पना गरेको भन्दा पनी सुन्दर।

सुन्दर केन्जिन गोम्पाबाट फर्कदाको सुनाउने खास कुरा छैनन। झर्ने बेला लामा होटल पुग्ने लाग्दा उकालोको अन्तिम विन्दुतिर अप्ठ्यारो घुम्तीमा भेटिएका किशोरीहरू बाहेक।

उनीहरू बाटो भुलाउने गरी सुन्दर छन। उनीहरूको घर केन्जिन गोम्पा हो। काठमाडौंमा कलेज पढ्छन्। छुट्टीमा घर फर्किदै छन्। हामीलाई पुग्न २ दिन लागेको घर एकै दिनमा पुग्छन। उनीहरू तामांग हुन तर गुरुङ लेख्छन्। गफिँदा गफिँदै उनीहरूको बाँकी टोली आइपुग्यो।

उही बाटो, उही यात्री, केन्जिन भन्दा तल पुगेपछि पनी फर्किदै हेरिरहेका छौ,लोभका आँखाले  सुन्दर केन्जिन उपत्यका। लाङटाङ खोलाको तिरैतिर ओराली लागेका यात्रीलाई बुद्ध गुम्बा, ढुंगाका मन्त्र र लामा ढुंगे मन्दिरको सुन्दरतामा मिसिएर शिवरात्रीले  जयशम्भो भनिरह्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.