|

काठमाडौं : वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ। ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट उपप्रमुखमा बाबुराज बज्राचार्य उम्मेदवार छन्। सत्तारूढ गठबन्धनबीच भएको सहमतिअनुसार ललितपुर महानगरमा प्रमुख नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्य प्रत्यासी छन्।  

उपप्रमुख पदमा उम्मेदवारी दिएसँगै बज्राचार्यले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। उनै बज्राचार्यसँग चुनावी कार्ययोजनाको बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

ललितपुर महानगरपालिकाको उपमेयरको तपाईं उम्मेदवारी किन?

म यहीँको बासिन्दा। लामो समय यही राजनीति गरें। यहाँका स्थानीयलाई आइपर्ने कठिनाइमा सधैं नजिक भएर हातेमालो गरेँ। ललितपुरको राजनीतिक परिवर्तन र विकास निर्माणमा म चार दशकदेखि सहभागी हुँदै आएको छु। स्थानीयस्तरमा आफूले गरेको भूमिका र राजनीतिक पृष्ठभूमिका आधारमा मलाई पार्टीले उम्मेदवार बनाएको हो। 

तपाईंलाई महानगरबासीले उपमेयर किन बनाउने?

म ललितपुरकै विकास र परिवर्तनको लागि लड्दै आएको एउटा सिपाही हुँ। म १२ वर्षको उमेरदेखि नै बहुदलीय व्यवस्थाको लागि निलो झण्डा बोकेर हिँडेको व्यक्ति हुँ। सानै उमेरदेखि सामाजिक र राजनीतिक क्षेत्रमा लागेको थिएँ। पार्टी र समाजको तल्लो तह र तप्कामा बसेर अनवरत खटिइरहेको छु।

मैले २०३५ साल यताका राजनीतिक घटनाक्रममा प्रत्यक्ष रुपमा सामेल हुँदै आएको छु। २०४५ सालमा म तत्कालीन ललितपुर नगरपालिकाको नगर कमिटीको सदस्य बनें। २०४६ को जनआन्दोलनमा नगर कमिटीको सल्लाहकार बनेँ। त्यतिबेला कमिटीको प्रचारप्रसार विभाग सम्हालेको थिएँ। त्यस्तै, नेपाल भ्रमण वर्ष १९९८ मा पनि नगरपालिकाको सचिवालय सदस्य भएर काम गरेँ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा वडा नं. १८ को सदस्य भएँ। त्यतिबेला म नेकपा एमाले र तत्कालीन मालेबाट राजनीतिक प्रतिनिधित्व जनाएको थिएँ। त्यसपछि २०५३ सालदेखि २०५६ सालसम्म तत्कालीन ललितपुर नगरपालिकाका मेयर बुद्धिराम बज्राचार्यको स्वकीय सचिव बनेँ। त्यहाँ मलाई काम गर्ने सहज वातावरण भएन । त्यसपछि मैले २०५६ सालमा उक्त स्वकीय सचिवको काम छाडिदिएँ। अनि माओवादीसँग नजिक हुन पुगेँ। 

तपाईं एमाले र तत्कालीन माले पार्टीमा बसेर लामो समय काम गरेपछि नेकपा माओवादीमा किन प्रवेश गर्नुभयो?

तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको सचिवालयको काम छाडेपछि म माओवादी सर्कलका नेतासँग संगत बढाउन थालेँ। उनीहरू पनि मलाई नजिक ठान्न थाल्नुभयो। मलाई पार्टी प्रवेश गर्न आग्रह गर्नुभयो। २०५६ सालमा म माओवादीमा प्रवेश गरेँ। र २०५७ सालमा सदस्यता पनि लिएँ। म २०५६ सालमा माओवादीमा प्रवेशको केही समय अर्ध भूमिगत जस्तै बनेँ।

२०६२/०६३ को जनआन्दोलनपछि प्रचण्ड भूमिगत जीवनबाट बाहिर आएपछि माओवादीको पहिलो बैठक पाटनस्थित मेरो घर बुवहालमा बसेको थियो। त्यतिबेला नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तीनदिने बैठक बसेको थियो। भूमिगत अवस्थाबाट बाहिर आएपछि बाबुराम भट्टराईले मेरो घरबाट पहिलोपटक अन्तर्वार्ता दिनुभएको थियो। त्यतिबेला म पनि भट्टराईको साथमै थिएँ। 

राजनीतिक र सामाजिक संगठनमा आबद्ध हुनुको कारण के हो?

मैले पाटन क्षेत्रका थ्रुपै संघ संगठनमा बसेर काम गरेँ। २०५६ सालमा मैले नेवाः खल कमिटीमा बसेर काम गरेको थिएँ। तर त्यो कमिटीको काम कारबाही भने मलाई त्यति याद छैन। मैले पार्टी र समाजको विभिन्न तहमा बसेर भूमिका निभाउँदै आएको छु। 

तपाईं पार्टीमा अहिले कस्तो भूमिकामा हुनुहुन्छ?

हाल म पार्टीको महानगर कमिटी अध्यक्ष पनि हुँ। माओवादीमा प्रवेश गरेपछि मैले नेवाः राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य र महानगर अध्यक्ष पनि भएर काम गरेँ। २०७० सालमा म माओवादी केन्द्रको महानगर कमिटीको अध्यक्ष भएँ। त्यसपछि पार्टी एकता र गठबन्धनपछि म जिल्ला कमिटीको सदस्य भएँ। २०७८ सालको कमिटीको निर्वाचनमा म पुन निर्वाचित भएर नगर कमिटी अध्यक्ष बनेँ। 

तपाईं पार्टीमा लागेको र समाजमा सक्रिय र काम गरेको धेरै समय भएछ। तर जनप्रतिनिधि बन्न योभन्दा अघि किन उम्मेदवार बन्नु भएन?

यो पटक धेरैको साथ र हौसलाले म उपमेयरको उम्मेदवार बनेको हुँ। यो भन्दा अघिको बागमती प्रदेश सभा चुनावमा पनि म सदस्यमा आकांक्षी थिएँ। तर एमालेसँग गठबन्धन भएपछि ओलीले आफ्नो घर व्यवहारमा समस्या हुने भएको भन्दै मलाई त्याग्न आग्रह गरेपछि मैले त्यागेँ। त्यतिबेला एमालेका ज्ञानेन्द्र शाक्य निर्वाचित भए।

उम्मेदवारी दिएर जित्न सक्छु भन्ने आधार के छ?

यहाँ लामो समय काम गरेको अनुभव नै जित्छु भन्ने आधार हो। मैले आजसम्म यस क्षेत्रमा गरेको कार्य र भूमिकाको निष्कर्ष चुनावमा निस्कने छ।

तपाईं समाजसेवा र राजनीति दुवै क्षेत्रमा सक्रिय व्यक्ति, यी क्षेत्रलाई तपाई कसरी लिनुहुन्छ?

मेरो बुझाइमा राजनीति र समाजसेवा दुइटा पाटो हो। यद्यपि मैले यी दुवैलाई सँगसँगै अघि बढाए। न त समाजसेवामा कमजोर देखिए नत स्थानीय राजनीतिमा नै। मलाई समाजमा राजनीतिक र समाजसेवी दुवै व्यक्तिका रुपमा चिन्छन्। समाजमा काम गरेको व्यक्तिले त्यो समाजको नेतृत्व पनि गर्न पाउनुपर्छ भन्ने मान्यता मेरो हो।

२०४९ सालको स्थानीय तहमा एमालेबाट वडाध्यक्षको टिकट तपाईलाई दिइएको थियो तर त्यतिबेला तपाईको उमेर नपुगेका कारण त्यसै छाडिदिनु पर्‍यो होइन?

हो, २०४९ सालको स्थानीय तहमा एमालेबाट वडाध्यक्षको टिकट मलाई भाग लागेको थियो। तर त्यतिबेला मेरो उमेर २४ वर्ष मात्रै पुगेको थियो। त्यसैले आएको अवसर पनि गुमाउनु पर्‍यो। वडाध्यक्ष बन्नको निम्ति त्यतिबेला २५ वर्षको पुग्नुपर्दथ्यो। त्यसबेला मैले उक्त वडाको टिकट ज्ञानेन्द्र शाक्यलाई दिएँ।

त्यस्तै २०५४ सालमा पनि मैले तत्कालीन ललितपुर नगरपालिकाको १८ नम्बर वडामा वडाध्यक्ष दाबी गरेँ। म र ज्ञानेन्द्र मध्ये को उम्मेदवार बन्ने भन्नेबारे रस्साकस्सी नै चल्यो। 

तपाईंले राजनीति र सामाजिक क्षेत्रमा लाग्नुअघि हस्तकला व्यवसाय गर्नुहुँदो रहेछ? राजनीतिमा लाग्नलाई किन व्यवसाय नै छाड्नुभएको?

हो, म राजनीतिमा लाग्नुअघि मेरो व्यवसाय थियो। मैले हस्तकलाको व्यवसाय गर्थे। राजनीतिमा लागेपछि उक्त व्यवसाय पनि चौपट बन्यो। राजनीतिक र समाजिक काममा व्यस्त हुन थालेपछि मैले व्यवसाय छाडेँ। 

तपाईं सानैदेखि राजनीतिक क्षेत्रमा लागेको व्यक्ति, राजनीतिप्रति किन यति ठूलो मोह?

२०३६ सालको कुरा हो म भर्खर १२ वर्षको थिएँ। उमेर सानै भएपनि मैले त्यतिबेला सिद्धिलाल सिंहलाई बुझ्न र जान्न भ्याइसकेको थिएँ। म उहाँको फ्यान नै थिएँ। सिद्धिलाल भाषण वा कार्यक्रम छ भन्ने सुन्नेबित्तिकै म हेर्नलाई पाटनतिर पुग्थेँ। २०३६ सालको कुरा हो, सिद्धिलाल अब बाहिर आउने भनेर हल्ला चल्यो।

म पाटनको भीमसेन मन्दिर पुगेको थिएँ तर त्यतिबेला नराम्ररी लाठी खाएँ। केटाकेटी उमेरमा लाठी खाएपछि मलाई झन् राजनीतिमा लाग्ने जोस जाग्यो। त्यसपछि झन् म राजनीतिक कार्यक्रममा हिँड्न थालेँ। एकदिन गाःवहालको पानी ट्यांकीमा तुलसीलाल र सिद्धिलालले भाषण दिए। उनीहरू दुई मिनेट आएर भाषण दिएर गायब भइहाले। त्यतिबेला म भाषण सुन्न त्यहाँ पुगेको थिएँ। मेरो राजनीतिक इच्छा यी दुई व्यक्तिलाई देखेर आएको हो। यी दुवैको भाषण सुन्दा अब राजनीति गर्नुपर्छ भन्ने लागेको थियो।

विगतलाई कसरी सम्झिनुहुन्छ?

मैले २०४० सालदेखि समाजसेवाको यात्रा सुरु गरेँ। म बौद्ध बिहार संघमा ६ वर्ष काम गरे (२०६४ देखि २०७० सम्म)। त्यस्तै अक्षश्वर महाविहारमा पनि ६ वर्ष काम गरेँ। हाल यशोधरा महाविहार टोलमा १७ वर्षदेखि निरन्तर रुपमा मैले नेतृत्व गर्दै आइरहेको छु । म बुद्ध जयन्ती टस कमिटीको सदस्य र नेको जात्रा मतयाको सल्लाहकार हुँ। म बौद्ध विहार र अक्षश्वर विहारको संरक्षकको रुपमा रहेको छु।

ललितपुर पाटन क्षेत्रका संस्कृति संरक्षणमा तपाईंले कस्तो भूमिका निभाउँदै आउनुभएको छ ?

मलाई नेवारी संस्कृति र सम्पदाको राम्रो ज्ञान छ। पाटन क्षेत्रका सांस्कृतिक पर्वहरू सञ्चालन र संरक्षणमा म लाग्दै आइरहेको छु। मेरै सक्रियतामा पाटन क्षेत्रका १३ वटा विहार निर्माणाधीन अवस्थामा रहेका छन्। त्यसमध्ये केहीको काम सकिएको छ।

मैले नै १४ करोड बजेट माग गरेर सम्पदा क्षेत्रमा खर्च गरेको छु। सांस्कृतिक प्रशिक्षणको लागि रकम पनि हामीले तोकेको छौं। नीतिगत रुपमा नै पर्यटक आउँदा उठेको रकम सम्पदा पूर्वाधार निर्माणमा खर्च गर्ने भनेर यसअघि निर्णय पनि गरेका थियौं।

तपाईंले चुनाव जित्नुभयो भने पाँच वर्षमा के के गर्नुहुन्छ?

मैले लामो समय पाटन क्षेत्रमा सामाजिक काम गर्दै आएँ। यहाँको विकास निर्माण, सम्पदा संरक्षण र पूर्वाधार क्षेत्रको बारेमा पनि म अवगत छु। हिजोको दिन हुन नसकेका नयाँ एजेण्डा मैले अघि सारेको छु। समग्रमा भन्दा ललितपुर सुहाउँदो विकास गर्ने मेरो लक्ष्य छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.