|

कास्की :  यतिखेर देश वैशाख ३० हुने स्थानीय तहको चुनावको माहौलले तातिएको छ। विभिन्न पार्टी तथा स्वतन्त्र उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा भोट तान्न घरदैलो गरिरहेका छन्।

यसैबीच पोखरा महानगरको वडा-२२ मा जनता समाजवादी पार्टीबाट पूर्व-शिक्षिका तथा पर्यटन व्यवसायी सरिता बराल क्षेत्रीले उम्मेदवारी दिएकी छिन्।

समाज सुधार वडाको विकासको लागि आम मतदाताले आफ्नो उम्मेदवारीलाई सहि मुल्यांकन गर्ने विश्वस्त छिन्। आफ्नो पार्टीको बल बुतामा एक्लै चुनाब प्रचार प्रसार गरिरहेकी उनलाई सहयोग र समर्थन गर्दै पार्टीकी शिर्ष नेत्री हिसिला यमीले चुनाब प्रचार प्रसारका लागि घर दैलो समेत गरेकी छिन्।

जनताले आफूलाई समाजका लागि काम गर्ने बताउने सरिताले जनताले वडाध्यक्षमा हार व्यहोरेपनि जितेका व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्।  शुक्रबार वडा-२२ को घरदैलो कार्यक्रममा भेटिएकी सरितालाई थाहाखबरले केहि जिज्ञासा राखेको छ।

पर्यटन व्यवसायीका रुपमा ९ वर्षदेखि अनवरत सफल हुनु भएको व्यक्ति एक्कासी वडाध्यक्षको उम्मेदवार उठ्नुभयो। त्यहाँका नागरिकलाई विश्वासमा लिने आधार तपाईंसँग के छ?

जुनसुकै क्षेत्रको लागि विकासको लागि पनि सबैभन्दा पहिला त्यहाँको समस्या चुनौती र सम्भावना केलाउन जरुरी छ। हाम्रो वडाको सम्भावना भनेकै पर्यटन क्षेत्र हो। यस्तै यहाँको शिक्षाको उन्नतीको लागि आफै पनि पूर्व शिक्षिका भएका कारण सरकारी विद्यालयको चुनौति केलाएर सुधारका लागि गर्नुपर्ने कामहरूको बारेमा मसँग अनुभव छ। गर्न सक्छु भन्ने मेरो आँट पनि।

त्यस्तैगरी म एक सफल पर्यटन व्यवसायी भएको नाताले पर्यटन प्रवर्द्धनको विकासको लागि मसँग आत्मविश्वास छ। म एक कुशल महिला भएको कारण महिला दिदीबहिनी आमाहरूको म प्रति विश्वास आशा भरोसा रहन्छ नै। यसरी हेर्दा हरेक पक्षबाट म वडाध्यक्ष हुनका लागि सक्षम व्यक्ति हुँ। र सक्षम व्यक्तिलाई जनताले विश्वास गर्नुहुन्छ भन्ने कुरामा दुईमत पक्कै छैन।  

के छन् तपाईंका चुनावी एजेण्डा?

मलाई बोलेर भन्दा पनि काम गरेर जनताको विश्वास आर्जन गर्न मन हो। मैले यो पाँच वर्षमा गर्न सक्ने र गर्ने कामको मात्र योजना बनाएकी छु। महिला शशक्तिकरणका लागि ५ वर्षे अभियान, वडाभित्रका सरकारी विद्यालयहरूको शैक्षिक सुधार र नियमित अनुगमन,  दिगो पर्यटन विकासका लागि : पुम्दी- भुम्दी पर्यटन विकास सम्मेलन गरि कोदिडाँडादेखी थाप्लेको डाँडासम्मको योजनाबद्ध विकास, महिला विशेषको रोगको निशुल्क उपचार, गरिब अभिभावकका बच्चाका लागि शिक्षा र पोषणको व्यवस्था, वडाध्यक्षको लागि राज्यले दिने भत्ता गरिब बच्चाको पढाइका लागि, सेवाग्राहीको लागि वडा अफिसमा स्वच्छ खानेपानी र चियाको व्यवस्था, वडाभित्रका सबै विद्यालय र सरकारी कार्यलयका शौचालय सफा पार्ने नियमित अभियान, मदिरा किनबेच र सेवनमा कडाइ र समयको पावन्दी लगाइने,राजनीतिक इतिहास र ऐतिहासिक व्यक्तिहरूको डाटा संकलन गरि (वडा पहिचान) संग्रहालय बनाइने साथै सामुदायिक भवनहरू निर्माण मा विशेष जोड दिइने, वैदेशिक रोजगारमा जाँदा अप्ठ्यारोमा परेका व्यक्तिलाई निशुल्क घर फर्काउने व्यवस्था र  हुने खानेले दिने र कमजोरले लिने गरि आर्थिक बास्केट संचालन गर्ने मेरा योजना रहेका छन्।

चुनाव जितेपछि तपाईंका योजनाहरू सारमा आए नै, कुन विषयलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुहुन्छ?

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र महिला सशक्तीकरण नै मेरो पहिलो प्राथमिकता हो।

वडा- २२ मा देखेका समस्या केक हुन्?

मुख्य त यातायात नै हो। हरेक क्षेत्रमा समस्या छन्। खानेपानी स्वास्थ्य शिक्षा कृषि युवा पलायन हुनु आदि।

पूर्व शिक्षिका, पर्यटन व्यवसायी र लामो समय संक्रिय राजनितिक पृष्ठभूमि त्यसमा पनि (तपाईंको श्रीमान पनि तत्कालिन शसस्त्र युद्धमा जेलनेल भोग्नुभयो) यसले  मात्र चुनाव जित्ने आधार तय गर्न सक्छ?

मैले श्रीमानले देशका लागि गरेको योगदान देखाएर जनताको मन जित्न खोजेको छैन्। हो, मेरो श्रीमानले समाजका लागि गरेको योगदानलाई समाजले हिसाब गरेको छ। त्यो अर्को पाटो हो। यो भन्दै गर्दा म आफैँ पनि राजनितिक पृष्ठभूमिबाट आएको कुरा भुल्नु हुँदैन भन्ने लाग्छ। समाजमा मेरो पहिचान आफ्नै बलुबतोले निर्माण गरेकी छु।

एक निष्क्रिय राजनितिक पृष्ठभूमि बाँचेर आएको भन्दा सक्रिय राजनितिक जीवन बिताएर आएकी हुँ म। समाजको तल्लो वर्गको जीवन कस्तो हुन्छ? भोगेकी छु। देखेकी छु। महसुस गरेकी छु। पूर्व–शिक्षिका भएको हिसाबले  पनि बालबालिकाको अवस्था र अभिभावकहरूको समस्याबारे मलाई ज्ञान छ। उहाँहरूको समस्या समाधान गर्न म एक उपयुक्त पात्र हुँ। धेरै जना साथीहरूले तपाईं अगाडि हिँड्नुस्। हामी छौं भनिरहनु भएको पनि छ। मेरो जित नै समग्र वडाको जित हो।

वडा- २२ का अधिकांश सरकारी विद्यालय 'कोल्याप्स' हुने अवस्थामा छन्। झन तपाईं शिक्षिका रहेको तत्कालिन लीला निमावि, हाल आधारभूत विद्यालयमा झरेको छ।  ती विद्यालयलाई पुन: उत्थान गर्न तपाईंको भूमिका कस्तो रहन्छ?

सबैभन्दा पहिला ती विद्यालयको स्थलगत निरीक्षण समस्याको पहिचान, त्यहाँको जनसंख्याको स्थिति आदि कुराको लेखाजोखा  पश्चात् ती विद्यालयको पुन: विकास र स्थायित्वको लागि विभिन्न निती तथा योजना ल्याउन मेरो अग्रसरता रहन्छ।

म एक महिला हुनुको नाताले पुरुषको तुलनामा महिलाको हकहित, उनीहरूको शशक्तिकरणमा म एक बलियो खम्बा हुन सक्छु। त्यसैगरी म एक आमा हुनुको साथै पूर्व -शिक्षिका हुनुको नाताले बालबालिकाको समग्र विकासको लागि स्पष्ट खाका बनाएर अघि बढ्न सक्ने मेरो आँट र हौसलाले पक्कै पनि उनीहरूको उज्यालो भविष्य निर्माणमा थप बल प्रदान गर्नेछ।

चुनाव जित्न त पैसाको खोलो बगाउनुपर्छ भन्छन्। यसमा तपाईंको टिप्पणी के छ?

म सरल जीवन बाँच्ने मान्छे हुँ। इमानदार भएर काम गर्दा पैसाको खोलो बगाउनु पर्दैन। मैले घरदैलो कार्यक्रममा कुनै पनि आर्थिक रुपमा खर्च गरेको छैन। जनताको मन धनले होइन् कामले जित्नुपर्छ भन्ने मान्यता मेरो हो। व्यवहारमा पनि त्यसरी नै जनताको घरदैलोमा पुगिरहेको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.