तीन जिल्लामै गठबन्धनविपरीत तालमेल

|

रुकुम (पूर्व) :  रुकुम–रोल्पामा माओवादी–कांग्रेस सधैँ बेमेल हुँदै आएका छन्। विगतमा केन्द्रमा समेत दुवै पार्टी बीचमा समन्वय, सहकार्य नहुँदाको कुरा फरक रह्यो। तर, हाल भने केन्द्रबाट माओवादी केन्द्र, नेपाली कांग्रेस सहित पाँच दलीय गठबन्धन भएर चुनावमा जानु पर्छ भन्ने निर्णय गरे। यदि पाँच दल बीच गठबन्धन हुन नसकेको ठाउँमा पाँच गठबन्धन भन्दा फरक पार्टीसँग चुनावी तालमेल नगर्न केन्द्रीय पार्टीबाट निर्देशन आए पनि रुकुम–रोल्पामा त्यसो हुन् सकेन।

रुकुम–रोल्पामा ठूला दल मानिएका माओवादी केन्द्र–नेपाली कांग्रेस कतै पनि तालमेल गर्न सकेन। चुनावी तालमेलका लागि जिल्लामा पटकपटक पाँच गठबन्धन बीच छलफल भयो, अन्तः माओवादी केन्द्र–नेकपा एकीकृत समाजवादीसँग केही ठाउँमा तालमेल गरेका छन् भने माओवादी केन्द्र–कांग्रेसका कतै पनि तालमेल गर्न सकेनन्। बरु केन्द्रीय गठबन्धन भन्दा विपरित कांग्रेसले नेकपा एमालेसँग तालमेल गर्न पुग्यो। हाल रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पामा कुनै पनि स्थानीय तहमा माओवादी केन्द्र र कांग्रेसको तालमेल भएन। बरु कांग्रेस र एमाले बीच तालमेल गरी चुनावमा होमिएका छन्।

वैशाखमा हुने स्थानीय तह निर्वाचनमा रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पामा नेकपा माओवादी केन्द्र एक-दुई ठाउँमा नेकपा (एस) बाहेक धेरै ठाउँमा एक्लै प्रतिस्पर्धामा छ। सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस–माओवादी केन्द्र बीच तालमेल भएन।

बरु कांग्रेसले माओवादीविरुद्ध नेकपा एमालेसँग गठबन्धन गरेको छ। छिमेकी जिल्ला दाङ र प्युठानमा कांग्रेस–माओवादी केन्द्र बीच तालमेल भए पनि रोल्पा र रुकुम पूर्व र रुकुम पश्चिममा भने दुई पार्टीका नेताहरूको मन मिल्न सकेन।

रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका कुल १९ स्थानीय तहमध्ये १२ स्थानीय तहमा माओवादी केन्द्र बाहेकका दलको चुनावी मोर्चा बनेको छ। ७ वटामा एमाले– कांग्रेस र माओवादी केन्द्र अलग अलग प्रतिस्पर्धामा छन्।

सबैजसो स्थानीय तहमा माओवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ भने एउटा स्थानीय तहमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ। रोल्पा र रुकुम दुवैमा माओवादीपछिको शक्ति नेपाली कांग्रेस र नेकपा एमाले हो। नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको प्रभाव भने यहाँ कम छ।

रुकुम पश्चिमको समीकरण

रुकुम पश्चिमका ६ मध्ये चार स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमालेबीच तालमेल छ। चारवटै स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख पद लिएर तालमेल गरेका छन्।

बाँफीकोट र त्रिवेणी गाउँपालिकाका भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अलग अलग उम्मेदवारी दिएका छन्। रुकुम पश्चिममा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेलका लागि छलफल भएको थियो। कांग्रेसले ६ स्थानीय तहमध्ये तीन वटाको प्रमुख र तीन वटाको उपप्रमुख माग गरेको थियो। यद्यपि उसले आफ्नो बटम लाइन भने दुई पालिका प्रमुख, तीन उपप्रमुख र जिल्ला समन्वय समितिको संयोजक पाउने गरी सहमति गर्न सकिने कांग्रेसको योजना थियो।

तर नेकपा माओवादी केन्द्रले तीन वटा पालिकाको उपप्रमुख, उपाध्यक्ष बाहेक अरु पद दिन नसकिने भनेपछि सहमति नभएको नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओलीले जानकारी दिए। ‘यसका लागि ६ पटकसम्म बैठक बसियो, तर सहमति हुन सकेन्’, ओलीले भने।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए।

रुकुम पूर्वको समीकरण

रुकुम पूर्वका तीनमध्ये सिस्ने र भूमे गाउँपालिकामा नेपाली कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ। दुवैमा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षको उम्मेदवार उठाएका छन्। तर, भूमे गाउँपालिकामा कांग्रेसका तर्फबाट पालिका अध्यक्ष उम्मेदवार दिएका भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस–एमाले गठबन्धनका तर्फबाट पालिका अध्यक्ष उम्मेदवारविहिन भएको छ।

पुथाउत्तरगंगामा भने तीनवटै पार्टी एक्ला एक्लै प्रतिस्पर्धामा छन्। रुकुम पूर्वमा नेपाली कांग्रेसले एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष तथा जिल्ला समन्वय समितिको संयोजकमा दाबी गरेको थियो।

माओवादी केन्द्रले दिन नमानेका कारण सहमति हुन नसकेको कांग्रेसका जिल्ला सभापति केशरमान रोकाले बताए। २०७४ सालको स्थानीय तह निर्वाचनमा रुकुम पूर्वका सबै स्थानीय तह नेकपा माओवादी केन्द्रले जितेको थियो।

रोल्पाको समीकरण

रोल्पाका १० मध्ये ६ स्थानीय तहमा माओवादी बाहेकका अरु दलहरूबीच तालमेल भएको छ। माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्षको उम्मेदवारी दिएका छन्।

परिवर्तन गाउँपालिकामा एमाले–कांग्रेस–एकीकृत समाजवादी–स्वतन्त्र उमेदवारबीच तालमेल भएको छ। अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार छन्। सुनिल स्मृति गाउँपालिकामा कांग्रेसले राष्ट्रिय जनमोर्चा र राप्रपासँग तालमेल गरेको छ। राप्रपा र राष्ट्रिय जनमोर्चाले कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई समर्थन गरेका छन्।

सुनछहरी गाउँपालिकामा स्वतन्त्र उमेदवार पुष्टमन घर्ती मगरलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन छ। पुष्टमन विप्लव नेतृत्वको नेकपाका पूर्व विशेष जिल्ला सेक्रेटरी हुन्। सो गठबन्धनबाट गाउँपालिका उपाध्यक्षमा कांग्रेसका कोमबहादुर बुढामगर उम्मेदवार छन्।

थवाङ गाउँपालिकामा नेपाली कांग्रेस–नेकपा एमाले–स्वतन्त्र उमेदवारले तालमेल गरेका छन्। थवाङमा स्वतन्त्र उम्मेदवारहरू अध्यक्षमा दर्जित रोकामगर र उपाध्यक्षमा रायबहादुर पुनमगरलाई कांग्रेस, एमाले लगायतका दलले समर्थन गरेका छन्।

नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्ती मगरका अनुसार कांग्रेसले आफ्नो हैसियत भन्दा बढी माग गरेका कारण गठबन्धन हुन नसकेको बताए।

जिल्लाका बाँकी ४ स्थानीय तहमा रोल्पा नगरपालिका, लुंग्री गाउँपालिका, गंगादेव गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले अलग अलग उम्मेदवारी दिएका छन्।

रुन्टीगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी बीच तालमेल भएको छ। त्यस्तै नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै प्रतिस्पर्धामा छन्। सत्तारुढ दलबीच भागबन्डाको छलफल हुँदा रोल्पामा नेपाली कांग्रेसले ५० प्रतिशत स्थानीय तहको नेतृत्व दाबी गरेको थियो।

५ प्रमुख, अध्यक्ष र ५ उपप्रमुख, उपाध्यक्ष र ७२ मध्ये ३६ वडाको नेतृत्व दाबी गरे पनि कांग्रेसलाई माओवादीले २ स्थानीय तहको प्रमुख र २ उपप्रमुखको उम्मेदवार मात्र छाड्न सकिने भनेपछि सहमति नभएको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले बताए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पाका १० स्थानीय तह मध्ये सात स्थानीय तह नेकपा माओवादी केन्द्र, दुई स्थानीय तह नेकपा एमाले र एक स्थानीय तह नेपाली कांग्रेसले जितेका थिए।

रोल्पा नगरपालिका, सुनीलस्मृति गाउँपालिका, थवाङ, गाउँपालिका, सुनछहरी गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र माडी गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो। रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका नेकपा एमाले र लुंग्री गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो।

रोल्पा र रुकुम नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र हो। यहाँ माओवादी केन्द्रले अरु दलमाथि अत्याचार र दमन गर्ने गरेको कांग्रेस लगायतका दलका नेताहरूको भनाइ छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.