|

कास्की :  यो पटकको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुँदैछ। पाँच दल देशभरका महानगर र उपमहानगरमा मात्रै होइन वडासम्म भागवण्डा गरेर चुनावमा होमिएका छन्।

एमाले करिब एक्लै चुनाव जित्ने बताइरहेको छ। यो पटकको चुनावमा पनि महानगरको नेतृत्व दलहरूको प्राथमिकतामा परेको छ। एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन्। उनीहरूसँगै करिब एक दर्जन उम्मेदवार पोखराको नेतृत्वका लागि भिडिरहेका छन्।

यद्यपि बलियो प्रतिस्पर्धा भने एमाले र गठबन्धन बीचमै हुने सम्भावना छ। यसै सन्दर्भमा थाहा सञ्चार नेटवर्कका जगत भण्डारीले एमालेका उम्मेदवार  कृष्ण थापासँग गरेको कुराकानी–

मतदानका लागि अब चार दिन मात्रै बाँकी छ। कस्तो माहोल बनाउनुभयो त ?

हाम्रो माहोल एकदमै राम्रो बनेको छ। घरदैलोमा जाँदा जनताले 'रेस्पोन्स' गरिरहनुभएको छ। समग्रमा भन्दा हामी नै चुनाव जित्छौँ। 

पाँच दलीय गठबन्धन एकातिर तपाईँहरू अर्कोतिर कसरी जित्नुहुन्छ ?

कागजमा पो गठबन्धन छ। जनता त गठबन्धनमा छैनन् नि। जनताहरू त सार्वभौम हुनुहुन्छ। जसको सेवामा हामीले जीवन समर्पण गरेका छौँ। हाम्रो पार्टीका सबै नेताले पोखरा निर्माणका लागि महत्त्वपूर्ण योगदान गर्नुभएको छ। जनताले हामीलाई विश्वास गर्नुभएको छ त्यसैले हामी नै चुनाव जित्छौँ।

अहिले एमाले नै विभाजित छ, अर्कोतिर पाँच दल एक ठाउँमा उभिएका छन्। यस्तो अवस्थामा पनि तपाई कागजको गठबन्धन भन्दै हुनुहुन्छ?

यहाँ विभाजनको प्रभाव परेकै छैन। बाहिरबाट तपाईँहरूले हेर्दा त्यस्तो लागेको हुनसक्छ तर यहाँको 'रियालिटी' त्यस्तो छैन। किनभने १७९ जनप्रतिनिधिले विखण्डनलाई साथ दिनुभएन। त्यसले पनि हामी कति बलियो छौँ भन्ने पुष्टि हुन्छ। 

चुनाव जित्नका लागि एजेन्डा, योगदान कि पार्टीको धरातल बलियो चाहिन्छ ?

प्रमुख कुरा भनेको त तल टोलस्तरसम्म हाम्रो पार्टीको संगठन बलियो छ। हाम्रो पार्टीको नेता कार्यकर्ता सबै एकजुट भएर चुनाव जित्नका लागि लागिपर्नुभएको छ। दोस्रो कुरा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा विकासको लहरै आयो। त्यसको प्रभाव स्वाभाविक रूपमा हाम्रोमा पनि परेको छ। उहाँकै पालामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम सुरुदेखि सम्पन्न गर्नेसम्मको काम भयो। पोखराको विकासका लागि केन्द्र र प्रदेश सरकारले गरेको योगदान र ०७४ सालमा निर्वाचित एमालेको नेतृत्वले गरेको कामका साथै उम्मेदवार पनि मुख्य हुन्छ। 

म २०५४ सालमा निर्वाचित मेयर भएर पोखराको विकासको लागि लागेको, यसैगरी उपमेयरको उम्मेदवार पनि त्यस्तै राम्रो व्यक्ति भएकाले चुनाव जित्ने आधार बनेको हो। 

तपाईँ २५ वर्षपछि मेयरको उम्मेदवार बन्दा के फरक पाउनुभयो?

म ३४ वर्षको युवा उमेरमा मेयर बनेको थिए। त्यतिबेला मसँग अनुभव थिएन। अहिले म धेरै अनुभवबाट खारिँदै, धेरै जिम्मेवारीबाट सिक्दै–बुझ्दै जनताको सेवा गर्दै यहाँसम्म आएको छु। अहिले मूलरूपमा फेरिएको विषय भनेको हिजो पोखरा उपमहानगर पालिका थियो। सानो भूगोल (५५ स्क्वायर किलोमिटर) थियो अहिले साढे ४०० स्क्वायर किलोमिटरको महानगर भएको छ। यो देशकै ठूलो भूगोल भएको महानगर भएको छ।

अहिले धेरै विकासका पूर्वाधार बनेका छन्। पोखरा पर्यटकीय राजधानीको रूपमा विकास गर्न केन्द्र सरकारलाई प्रदेश सरकारको माध्यमबाट माग पनि गरेका छौँ। पोखरा दिनप्रतिदिन नेपालको मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै पर्यटकको मुख्य गन्तव्य बन्नेतर्फ अघि बढिरहेको छ। 

पोखरालाई पर्यटकको मुख्य गन्तव्य बनाउने तपाईँका योजना के छन्?

म मेयर हुँदा ‘हाम्रो अभिभारा, स्वच्छ सुन्दर पोखरा’ को अभियान अघि सारको थिए। मैले नेपालमै पहिलो पटक १० वटा नयाँ काम सुरु गरेको थिए। ‘जीआईए सिस्टम’बाट घर नम्बरिङ गर्ने, गरिबी निवारणको लागि कार्यक्रम, अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालमै पहिलो अत्याधुनिक ल्यान्डफिल्ड साइट निर्माण गर्नेदेखि नेपालको सबैभन्दा चौडा ६ लेनको बाटो र गल्लीको मापदण्ड बनाउनेसम्मका  काम सुरुवात गरेको थिए। यो सारा काम गर्दा पनि १५ वर्ष जनप्रतिनिधिविहीन हुँदा पोखरा अस्तव्यस्त भयो।

अहिले म फेरि नेतृत्वमा पुगेर ती पुराना योजनालाई तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्न चाहन्छु। प्राकृतिक र साँस्कृतिक सम्पदाले युक्त सभ्य सुसंस्कृत नागरिकले बसोबास गरेको आर्थिकरूपमा सम्पन्न महानगर बनाउने लक्ष्यमा अघि बढेका छौँ। त्यसका लागि शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेका छौँ। जनताको दैनन्दिन सहज बनाउने योजनामा छौँ। 

त्यसैगरी हामीले तत्काल केही पूर्वाधारहरू निर्माण पनि गर्नुपर्ने छ। सिटी बसपार्क बनाउनुपर्ने छ। महानगरको अत्याधुनिक पोखराको सिंहदरबार बनाउनुपर्ने छ। महानगरकै आन्तरिक काम पनि गर्नुपर्ने छ। त्यसपछि सुशासनसहितको सेवा दिने प्रतिबद्धताका साथ चुनाव लडेका हौँ।

चुनावको बेला गरिने यस्ता प्रतिबद्धता कार्यान्वयन हुँदैनन् भन्ने गुनासो सुनिरहन्छन्। यसअघि पोखराको नेतृत्व तपाईंहरूकै पार्टीले नै गर्यो। मूल्याङ्कन कसरी गर्ने?

विकराल र अप्ठेरो स्थितिमा निर्वाचित हुनुभयो। स्थानीय पछि प्रदेश र संघको चुनावले पनि काम असहज भयो। त्यसपछि जब काम सुरु गर्दा मेयर ‘साप’ आफैँ बिरामी हुनुभयो। कोरोना महामारी पनि त्यतिबेलै आयो तर पनि थुप्रै काम गर्नुभयो। तीनै कामलाई निरन्तरता दिन हामी अघि सरेका हौँ। म झारा टार्नेगरी काम गर्ने मान्छे होइन। जति गर्न सक्छौँ, त्यति नै भन्छौँ। 

तपाईँ बदलिनु हुन्न भन्ने आधार के हो ?

आमजनताले मलाई पटक पटक जाँच्नुभएको छ। त्यहाँ मलाई उत्कृष्ट नम्बर दिएर पास गराउनुभएको छ। ०५४ सालमा मेयर बनाउनुभयो। ०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित गर्नुभयो। मेरो जीवन नै पोखराको विकासको लागि खर्च गरिरहेको छु।

पोखराक लागि मात्र होइन ०४६ सालको आन्दोलनदेखि पार्टी र देशको लागि इमानदारिताका साथ काम गरेर आएकाले महानगरवासी र पोखरेली जनताले विश्वास गरेर जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास लिएको छु।  मलाई सबै पार्टीका साथीहरूको सद्भाव छ त्यो तपाईँले वैशाख ३० गतेपछि थाहा पाइहाल्नुहुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.