|

हेटौंडा : निर्वाचनको मिति नजिकिरहँदा हेटौंडा उपमहानगरपालिकामा उम्मेदवार बनेकाहरूको दौडधुप बढेको छ। दुई दिनपछि मौन अवधि शुरु हुने भएकाले पनि मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले हरसम्भव प्रयास गरिरहेका छन्।

हेटौंडा उपमहानगरपालिकाका प्रमुखमा १९ जनाको उम्मेदवारी कायम रहे पनि मुख्य प्रतिस्पर्धा भने नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच हुने देखिन्छ। पछिल्लो समय राप्रपाले पनि आफ्नो उपस्थिति राम्रो देखाइरहेको छ।

हेटौंडामा एमालेले लामो समयदेखि आफ्नो उपस्थिति बलियो रूपमा देखाउँदै आएको छ। २०४९ यता भएका तीनवटै स्थानीय निर्वाचनमा हेटौंडामा एमालेले जित्दै आएको छ। यसपटक एमालेबाट विभाजित एकीकृत समाजवादीको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र एमालेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

हेटौंडामा ‘लालकिल्ला’ को इतिहास रचेको एमाले त्यही इतिहासलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको छ। यसका लागि सत्ता गठबन्धन बाधक बनेको छ। एमालेलाई ३० गतेको निर्वाचनबाट मतपरिणाम आफ्नो पक्षमा पार्न सत्तारुढ पाँच दलीय गठबन्धनलाई परास्त गर्नुपर्ने बाध्यता छ। कुनै पनि हालतमा आफ्नो विरासत जोगाउने दाउमा एमाले छ भने एमालेलाई हराउँदै नयाँ इतिहास रच्ने दाउमा सत्ता गठबन्धन छ।

२०४९ र २०५४ मा हेटौंडा नगरपालिकामा एमालेका डोरमणि पौडेल मेयरमा निर्वाचित भएका थिए। उनीसँगै उपमेयरमा एमालेबाटै हरिबहादुर महत विजयी भएका थिए। २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो तैपनि परिणाम एमालेकै पक्षमा गयो।

०७४ को निर्वाचनमा कांग्रेस–माओवादीका उम्मेदवारलाई परास्त गर्दै एमालेका हरिबहादुर महत मेयर र मीनाकुमारी लामा (हाल एकीकृत समाजवादी) उपमेयरमा विजयी भएका थिए। त्यतिवेला एमालेलाई विजयी हुन मत बदर हुँदा पनि सजिलो भएको थियो। गत स्थानीय निर्वाचनमा एमालेका महत ६१५ मतान्तरले मेयरमा विजयी भएका थिए। निर्वाचनमा मेयरमा सात हजार ५०२ मत बदर भएको थियो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बदर मतमध्ये करिब ९० प्रतिशत माओवादी केन्द्रको चुनाव चिह्नमा स्वस्तिक छाप हानिएका कारण बदर भएको थियो। यसले गर्दा माओवादीको समर्थनमा मेयर उम्मेदवार रहेका कांग्रेसका आनन्दराम पराजुली पराजित भएका थिए। त्यसैले पनि अघिल्लो निर्वाचनलाई हेर्दा मत बदर नभएको खण्डमा परिणाम गठबन्धनको पक्षमा जाने देखिन्थ्यो।

अहिलेको स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा एमालेबाट उपमेयरमा निर्वाचित भएकी मीना लामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी छन्। एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीमा आबद्ध रहेकी उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन्। यता एमालेले यसपटक संविधानसभा (२०७०) सदस्य अनन्त पौडेललाई मेयरमा उठाएको छ। यो पटक एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालको पनि समर्थन पाएको छ। यद्यपि हेटौंडामा राप्रपा नेपालको प्रभाव भने खासै देखिएको छैन।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले मेयर–उपमेयरसहित सबै वडामा उम्मेदवार प्रतिस्पर्धामा उतार्दा थापाले आफ्नै गृहनगरमा पनि पार्टीका तर्फबाट एकजना पनि उम्मेदवार खडा गर्न सकेनन्। राप्रपाबाट दीपकबहादुर सिंह मेयरको रूपमा मैदानमा छन्।

समान राजनीतिक विचारधारा बोकेको राप्रपाले सेटमै प्रतिस्पर्धा गरिरहँदा राप्रपा नेपालका मतदाता राप्रपालाई छान्ने कि एमालेलाई छान्ने भन्ने दोधारमा छन्। त्यसैले हेटौंडामा राप्रपाको राजनीतिक समर्थन भए पनि व्यवहारिक रूपमा एमालेले विगतमा झैं एक्लै लड्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ।

एमालेका लागि चुनौतीको बिन्दु यही देखिन्छ। अहिले गठबन्धनको आकार बढेको छ। कांग्रेसबाट उपमेयरमा राजेश बानियाँ मैदानमा छन्। उनको प्रभाव युवामाझ अत्यधिक रहेको छ। गठबन्धनमा माओवादी केन्द्रका साथै एमालेबाट विभाजित भएको एकीकृत समाजवादीको मत पनि जोडिएको छ। अघिल्लो चुनावमा गठबन्धन भए पनि मतदाता शिक्षा राम्ररी दिन नसक्दा धेरै मत बदर भएर क्षति व्यहोर्नुपरेकाले अहिले सत्तारुढ गठबन्धनले सो अवस्था दोहोरिन नदिन घरदैलो कार्य तीव्र बनाएको छ।

मकवानपुरमा एमाले विभाजनपछि एकीकृत समाजवादीतर्फ गएको जनमत स्पष्ट नभए पनि प्रभावशाली नेताहरू भने एकीकृत समाजवादीतर्फ लागेका छन्। एमालेमा हुँदा केन्द्रीय भूमिकामा रहेका विरोध खतिवडा, केदार न्यौपाने र मजदुर नेता ललित बस्नेत एकीकृत समाजवादीमा छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेकी लामाको सबलताले पनि एमालेको विरासतलाई टक्कर दिइरहेको छ।

उपमहानगरमा रहेको जनजाति मतले पनि गठबन्धनलाई उत्साही बनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हेटौंडा उपमहानगरमा एक लाख चार हजार ४७३ मतदाता छन्। तीमध्ये करिब ३१ प्रतिशत मतदाता जनजाति (तामाङ) समुदायका छन्। बाहुन २६ र क्षेत्री १३ प्रतिशत छन्। तामाङ (लामा) समुदायकी गठबन्धनकी साझा उम्मेदवार लामाको जोड जातीय मत आफूतिर तान्ने छ।

सत्तारुढ गठबन्धनको मत एकढिक्का भएर खसेको खण्डमा एमालेको लालकिल्ला नभत्किएला भन्न सकिँदैन। पछिल्लो समय हेटौंडामा कांग्रेसप्रति आकर्षण बढ्दो देखिन्छ। एमालेबाट पुरानै अनुहार चुनावमा फर्कीफर्की आउँदा जनता र कार्यकर्तामा निराशा छाएको स्पष्ट देख्न सकिन्छ। यदि राप्रपाले स्वतन्त्र र कांग्रेस निकटको मत तानेको खण्डमा भने अर्कै परिणाम नआउला भन्न सकिन्न।

समग्रमा गठबन्धन बलियो देखिए पनि बदर मत बढेको खण्डमा फेरि अघिलो निर्वाचनको परिणाम आउन सक्ने पनि देखिन्छ। राप्रपाले विशेषगरी हेटौंडा बजार क्षेत्रका कांग्रेस मत पाउने उसको विश्वास छ। राप्रपाको प्रयास सफल भयो भने यसको फाइदा एमालेलाई पुग्ने देखिन्छ तर सत्तारुढ गठबन्धनमा रहेको सबै दल एकढिक्का भएको अवस्थामा भने हेटौंडामा एमालेको ‘लालकिल्ला’ भत्काएर नयाँ इतिहास रच्न सक्ने सम्भावना पनि देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.