|

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी ८० वर्षीया भीमकुमारी तिवारीको जीवन करिब आधा घण्टाको यात्रा गरेर डोकोमा गाग्री बोकेरै बित्यो। कुश्मा नगरपालिका–१२ ठूलीपोखरीबाट २०२० सालमा विवाह गरेर शंकरपोखरी आएपछि पानीको समस्या बेहोरेकी उनको अवस्था ६ दशकपछि पनि उस्तै छ।

पानीको सुविधा रहेको ठूलोपोखरीबाट पानीको चरम अभाव भएको शंकरपोखरीमा आएकी उनले २०३२, २०३७, २०४२, २०४८, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४ को चुनावहरूमा पानीको आश्वासन दिने नेताहरू भेटेकी उनलाई अहिले पनि पानी दिने आश्वासनको अभाव छैन।

‘२० सालमा विवाह गरेर आएदेखि अहिलेसम्म कहिल्यै सुखले पानी खान पाइनँ। जहिले पनि बिहानभरि डोको बोकेर पानी खोज्दै कुवामा पुगेर जिन्दगी गयो। कति नेता आए कति नेता गए, तर पानी कसैले पनि दिएनन्,’ भीमकुमारी भन्छिन्, ‘अब त पानी आउला की भन्यो, आउँदैन। फेरि नेता आउँछन् पानी ल्याउने हो भन्छन्। नेता त कति आए कति तर पानी कहिल्यै पनि आएन। जो नेता आए पनि हाम्रा दुःख कहीँ गएनन्।’

हरेक पटक निर्वाचनमा मत माग्दै दैलोमा आउने नेताहरूलाई पानीको समस्या सुनाउने र आपूर्ति सहज बनाइदिन अनुरोध गर्दा गर्दा बानी परेका शंकरपोखरीवासीको यो नियति अझै पनि उस्तै छ। वर्षौँदेखि एउटै माग गर्दै आएको भए पनि आफूहरूको विषयमा कोही पनि चिन्तित नरहेको उनीहरूको भनाई छ।

‘अहिले पनि बिहान उठेर पानी बस्तीभन्दा टाढा रहेको धारापानीबाट गाग्रीमा पानी ओसार्नुपरेको छ। अहिलेको जमानामा पनि हामीहरुको यो हालत कसैले देखेको छैन,’ शंकरपोखरी डाँडाकी चित्रा थापा भन्छिन्, ‘स्थानीय सरकार बने, प्रदेश सरकार बने, सङ्घीय सरकार बन्यो। जुन सरकार आए पनि हाम्रो घरमा पानी आएन। अबको चुनावमा मत माग्न आउने नेतासँग यो नै हाम्रो बलियो माग हो।’

दिनको एक समयमा डहरेको लेकको पानीको मुहानबाट पानी आउने गरेको भए पनि सडकको विस्तारसँगै बिछ्याइएका पाइपलाइन टुटफुट भएका छन्। देखिएका ठाउँमा मर्मत गर्ने गरिए पनि निकै लामो दूरी भएका कारण  दिनहुँजसो पाइपमा समस्या आउँदा पानी नियमित आउँदैन।

खानेपानी पानीको अभाव रहेको शंकरपोखरीका कृषकले हिउँदे बाली लगाएर त्यसमा सिँचाइ गर्नु परको कुरा हो। सिँचाइको लागि तत्कालै कुनै योजना नभएको भए पनि खानेपानीको सहज आपूर्तिका लागि करिब ६० करोडको लगानीमा लिफ्ट सिस्टममार्फत लमाए खोलाको पानी तानेर वितरण गर्ने योजना रहेको निवर्तमान वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताए।

पानीकै अभावका कारण शंकरपोखरी डाँडावासीले वर्षाको पानी सङ्कलन गर्ने घैँटा निर्माण गरेका छन्। घरकै छेउमा बनाइएका २/३ ओटा घैँटामा वर्षा भएको बेलामा बलेँसीको पानी जम्मा हुन्छ। करेसाबारीमा सिँचाइ, चौपाया र लुगा धुन उनीहरू त्यही पानी प्रयोग गर्छन्। लामो दूरीबाट पानी बोक्न नसकेको बेलामा आकाशे घैँटाकै पानी पिउने बाध्यता रहेको स्थानीय विनोद तिवारी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.