|

विराटनगर : नाम: सूर्य धिमाल,उमेर :  ७६ वर्ष!

कानेपोखरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रे। उनको यही परिचयले रिपोर्टिङका लागि कानेपोखरीसम्म तान्यो। भैतिकरुपमा भेट नभएसम्म उनको उमेरलाई लिएर विविध प्रश्नहरु तछाडमछाड गर्दै एकअर्कामा द्वन्द्व चलिरहेको थियो। लामो प्रयास पछि चुनावी अभियानमा भेटिएका धिमालको उर्जालाई देख्दा मनमा उब्जिएका प्रश्नहरु आफै लजाए।

बिहानको ६ देखि ७ बजेसम्ममा उनको घरदैलो कार्यक्रम सुरु हुन्छ। गाँउभरीका पाको उमेर देखि युवाहरु समेटेर समृद्धिको नारा सहित काने पोखरीको कुनाकन्दरा पछ्याउन भ्याउँछन् उनी। उनलाई पच्छ्याइरहँदा बेलाबखत उनीसँगै लस्कर लागेका ताँती नै छुट्ने गर्छ। पुनः छुटेका लस्करलाई समेट्दै अगाडी बढ्छन्।

हिउँ झैँ सेताम्मे कपाल। चाउरिएका अनुहार।  उमेरको खुडकिला जति थपिदै गयो उति नै शरीरमा भएका अंगहरु परिवर्तन हुँदै गर्दा उनी भित्रको उर्जा, हौसला भने उही १६ वर्षको उमेरमा झैँ यथावत छ।  उत्तरी मोरङ प्रवेश गर्दै गर्दा सँधै हरियाली देखिने कानेपोखरीको हरियो वन झैँ उनको फुलेको कपाल भित्र १६ वर्षे ठिटोलाई जित्ने उर्जा उस्तै छ।

तपाईको उमेरको हिसाबले काम गर्नु सक्नुहुन्न भन्ने चर्चा छ नि? पहिलो प्रश्नमा उनले हाँस्दै भने,‘म त्यहाँ फुटबल खेल्न जान लागेको होइन, ज्ञान र योजना लिएर जाने हो।’

उमेर जीवनचक्र समयक्रमसँगै परिवर्तन हुने एउटा बहाना रहेको बताउने उनी सक्रियताको हिसावले आफू सँधै ‘एभरग्रिन’ रहेको बताउँछन्। ‘उमेर त एउटा संख्या मात्रै हो, यो जीवनचक्र हो,’ उनी भन्छन्,‘उमेरले जति डाँडा काटे पनि  मेरो सक्रियता सँधै १६ वर्षे, सँधै ‘एभरग्रिन’ हो।’

०२४ सालदेखि ०३१ सालसम्म विराटनगर महानगरपालिकामा वैदार हुँदै मुखिया काम सम्हालेका उनी आफूले सम्हालिरहेको कार्यभारलाई छोडेर घरगृहस्थ जीवनमा फर्किए। पारिवारिक जीवनको रथलाई एउटा रफ्तारमा चलाइरहेको धिमाल साथीहरुको संगतले पञ्चायत कालमा राजनीतिमा होमिए।

‘२०४२ सालदेखि ०३१ सालसम्म विराटनगर नगरपालिकामा वैदार हुँदै मुखिया काम गरे, त्यसपछि सबै छोडेर घरगृहस्थ जीवनमा फर्किएँ’, उनले सुनाए,‘त्यसपछि साथीहरुको संगतमा लागेर पञ्चायत राजनीति गरियो। मैले झापाबाट राजनीति सुरु गरेको हो।’

वडाध्यक्ष देखि उप प्रधानपञ्चसम्म

 ०३८ सालमा तत्कालिन मोरङको बयरवन ७ को वडाध्यक्ष बनेको उनी तत्कालिन बयरवन गाउँ पञ्चायतको उप प्रधानपञ्चको कार्यभार सम्हालेका थिए।

त्यसबेला उनले खरायो चिह्न लिएर चुनावमा लडेका थिए। त्यसै कारण उनलाई अहिले पनि पुराना पुस्ताले 'खरायो बा'भन्ने गरेको उनी सुनाउँछन्। ‘त्यो समय मैले खरायो चुनाव चिन्ह लिएर चुनावमा लडेको थिएँ,’ उनी भन्छन्,‘मलाई अहिले पनि पुराना साथीहरुले खरायो बा भन्छन्।’

त्यसबेलाका प्रतिस्पर्धी सोमनाथ बाँस्तोलालगायत ४ जना प्रतिस्पर्धीको मत जोड्दा पनि नपुग्ने गरी आफूले मत ल्याएका विगतलाई स्मरण गरे उनले। ‘४ जना प्रतिस्पर्धीको मत जोड्दा पनि मेरो जति पुगेन’, उनीले भने,‘ त्यसबेला ३ हजार ७ सय हाराहारी मैले मत ल्याएको थिएँ।’

उप प्रधानपञ्चको  पद सकिएसँगै मौन बसेका उनी लामो समय मार्क्सवाद अध्ययनमा लागेको उनी बताउँछन्। केही समय पछि किराँत राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनेका उनले किराँत र लिम्बुवानको अन्तरविरोध भएपछि धिमाल राष्ट्रिय मुक्ति मोर्चा गठन गरे।

त्यसबेला उनी आफू मोर्चाको केन्द्रीय उपाध्यक्षको पदमा रहेको उनले सुनाए। मोर्चाको काम गर्दैगर्दा माओवादी नेता गोपाल किराँतीसँगको भेटले  माओवादी आन्दोलनमा होमिएका उनी अहिलेसम्म अनवरत त्यही यात्रामा छन्।

पञ्चायती व्यवस्था देखि संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था ताका भोगेका राजनीतिक अनुभव बटुलेर  ०७४ सालको निर्वाचनमा गाँउपालीकाको अध्यक्षमा चुनावी मैदानमा उत्रिएका उनी एमालेबाट उम्मेदवार बनेका तारा काफ्लेसँग थोरै मतान्तरले पराजित भएका थिए।

उनी पुनः जितको अपेक्षा सहित सोही पदमा यस पटक एमालेका तर्फबाट उम्मेदवार बनेकी राजमती इङ्नाम र कांग्रेसका उम्मेदवार संजय भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्।

अन्य पार्टीका साथीहरुको पनि सहयोग छ

अधिकांश व्यक्ति कुनै एउटा पाटोमा हार व्यहोरेपछि निराश हुन्छन्। बाँकी रहेका सम्भावनाहरूलाई त्यहि निराशाको भूमरीमा रुमलिन छोडिदिन्छन्। तर, हारेर पनि जित्न प्रयासमा दौडिरहेका धिमाल यो पटकको निर्वाचनमा जनताले आफूलाई जिताएर नेतृत्व पंक्तिमा उभ्यिाउने विश्वास रहेको बताउँछन्।

 यसअघिको निर्वाचनमा दोस्रो भएका उनलाई यो पटक जित्ने आधार के छ? भनेर पंक्तिकारले सोध्यो। उनी भन्छन्, ‘जनताले मलाई बुझ्नुभएको छ। अन्य पार्टीका साथीहरुको पनि मलाई सहयोग हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.