दैनिक पेट्रोल २ हजार २ सय र डिजेल ६ हजार किलोलिटर खपत

|

काठमाडौं : सरकारले पेट्रोलियम खपत घटाउन भन्दै आगामी जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म तोकिएको छ।

सरकारको यो बिदाको घोषणासँगै निजामती कर्मचारी भने मनग्गे बिदा पाउने भएका छन्। अब शनिबार, आइतबार, पर्व बिदालगायत सबै गरेर निजामती कर्मचारीले सरदर वर्षमा २ सय ५ दिन बिदा पाउने भएका छन्। यसअनुसार काम भने १ सय ६० दिन मात्रै गर्नुपर्ने देखिएको छ। दुईदिने बिदा कति प्रभावकारी हुन्छ भन्ने अहिले सबैको चासोको विषय बनेको छ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखानाका कायम मुकायम उपमहानिर्देशक रामराज खकुरेल निजामती कर्मचारीलाई पासमा कडाइ भयो भने दुईदिने बिदा प्रभावकारी हुने बताउँछन्।

उनले भने, ‘निजामती कर्मचारीलाई घुम्न दिनु भएन, सरकारी गाडी उपलब्ध नै गराउनुहुँदैन, यसका लागि अनुगमन नै हुनुपर्छ। यसो गरेमा सरकारको बिदा निर्णय प्रभावकारी हुन्छ।’

उनका अनुसार निजामतीको हकमा कडाइ गरे ठूलै परिमाणमा पेट्रोलियम पदार्थ खपत घट्ने उनको भनाइ छ। देशभर सबै तहका गरि १ लाखभन्दा बढी निजामती कर्मचारी छन्।

सरकारको निगरानीमा भर पर्छ : कोइराला

सरकारका पूर्व मुख्यसचिव विमल कोइराला बिदाको प्रभावकारिता सरकारको निगरानीमा भर पर्ने बताउँछन्। ‘बिदाले पेट्रोलियम पदार्थको खपत कम हुन्छ हुँदैन भन्ने सरकारको निगरानीमा भर पर्छ,’ उनले भने, ‘सरकारले कडाइ गरे कर्मचारी अनुशासनमा बस्छन्, नीति नियम मान्छन्, नभए आफूखुशी गर्छन्, बिदा दिनुको मतलब नै रहन्न।’

उनका अनुसार अझै पनि आफ्ना चिनजानकालाई सवारी चलाउन दिने, अनावश्यक व्यक्तिगत काममा छुट दिने प्रवृत्ति सरकारी कार्यालयमा छ। यी प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।

सेवा प्रवाहको विषयमा पनि सरकारी कर्मचारीमै भरपर्ने उनले बताए। ‘सेवा दिने मन भएका कर्मचारीले जसरी पनि सेवा दिन्छन्, सेवा नदिनेले बिदा दिए पनि नदिए पनि केही गर्दैन, सरकारी सेवा सुविधामात्र लिन्छ,’ उनले भने। 

‘बिदा होइन, सार्वजनिक गाडी प्रयोग गरी सेवा दिउँ’

यता, शिक्षाविद् प्राडा विद्यानाथ कोइराला सार्वजनिक बिदा दिनुभन्दा सार्वजनिक गाडीमा चढेर सेवा प्रवाह गर्नु राम्रो हुने बताउँछन्। उनका अनुसार सरकारी कार्यालय बन्द गरे पनि निजामती कर्मचारी निजी गाडी प्रयोग गर्छन्। यसो गर्दा तेल खर्च हुन्छ नै।

उनले भने, ‘पेट्रोलियम पदार्थ व्यवस्थापन नै गर्ने भए निजामती कर्मचारी सार्वजनिक गाडीमा चढेर कार्यालय जाँदा हुन्छ, विद्यालय पनि बन्द गर्ने होइन, सुरक्षित ढंगले हिँडाएर बालबालिका विद्यालय पुर्‍याउँदा पढाइमा असर पनि पर्दैन।’

सरकारी कर्मचारीले सार्वजनिक सवारी प्रयोग गरे सार्वजनिक गाडीमा देखिएका समस्या पनि सुधार हुने उनको भनाइ छ। यसरी बिदा दिँदा शिक्षा क्षेत्रमा धेरै असर पुग्ने उनको तर्क छ। त्यसैले निजी विद्यालय संगठन भने सरकारको बिदा मान्ने पक्षमा छैनन्। बन्दका कारण समयमा कोर्स नसकिने उनीहरूको भनाइ छ। 

इन्धन खपतबारे जेठको दोस्रो हप्ताबाट थाहा हुन्छ : मन्त्रालय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले अहिले नै पेट्रोलियम खपतबारे केही भन्न नसकिने बताइन्। उनले भनिन्, ‘बिदाको निर्णय अझै लागू भएको छैन, जेठबाट लागू हुन्छ, त्यसैले खपत कम हुने नहुनेबारे जेठ दोस्रो हप्ताबाट मात्र थाहा हुन्छ।’

बिदाको दिन कर्मचारी घुम्न जाने हुँदा पेट्रोलियम पदार्थ खपत बढ्ने उनको बुझाइ छ। ‘बिदाको दिन निजी गाडी लिएर घुम्न जाने हुन्छन्, यस्तो वेला झन् बढ्ने पो देखिन्छ,’ उनले भनिन्। सवारीसाधनको पासमा भने कडाइ गर्ने उनको दाबी छ। 

नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्याय सरकारको निर्णय पूर्ण रुपमा लागू भए ७ देखि १० प्रतिशत तेल खपत नियन्त्रण हुने बताउँछन्। उनका अनुसार अहिले दैनिक देशभर पेट्रोलको खपत २ हजारदेखि २२ सय किलोलिटर हुन्छ। दैनिक ६ हजार किलोलिटरसम्म डिजेल खपत हुन्छ।

‘बिदाको पालना भए ७ देखि १० प्रतिशत कन्ट्रोल हुने हाम्रो प्रारम्भिक अनुमान छ, जथाभावी बाहिर घुम्न गए फेरि उही समस्या दोहोरिन्छ,’ उनले भने। जेठ १५ पछि यकिन खपतबारे जानकारी हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.