एक हजार बम डिस्पोजल टोली परिचालित

|
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालयले यही वैशाख ३० गते हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी एक हजार वटा बम डिस्पोजल टोली खटाएको छ। 

देशभरका विभिन्न जिल्लामा हुनसक्ने घटनालाई केन्द्रित गरी एक हजार वटा प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयका उपसचिव बसन्त भट्टराइले जानकारी दिए।

यस्तै, स्थानीय तह निर्वाचनमा सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी खटिएको मन्त्रालयले जनाएको छ।

सुरक्षाकर्मीबाहेक ३ लाखको हाराहारीमा कर्मचारी खटिएका छन्। मुलुक संघीयतामा गएपछि दोस्रो ५ वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

चुनावी सुरक्षालाई मध्यनजर गरी मन्त्रालयले तयार गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ अनुसार चुनावी सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित म्यादी प्रहरीहरु परिचालन भएका छन्।

जसमध्ये ७१ हजार नेपाली सेना, २२ हजार सशस्त्र प्रहरी, नेपाल प्रहरी ६५ हजारभन्दा बढी र एक लाख म्यादी प्रहरी परिचालन गरिएको गृह मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव भट्टराइले जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीहरु मोबाइल गस्ती, घुम्ती टोली र स्ट्राइकिङ टोली बनाएर परिचालित छन्।

निर्वाचनको पहिलो घेरामा सुरक्षा दिन वैशाख ८ गतेदेखि म्यादी प्रहरी र वैशाख २४ गतेदेखि नेपाल प्रहरी खटिएका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले बताए।

देशभरका १० हजार ७ सय ५६ मतदानस्थल र मतगणना स्थलमा ६५ हजार प्रहरी परिचालन भएको केसीको भनाई छ। चुनावी सुरक्षाका लागि मतदानका दिन प्रत्येक मतदान स्थलमा प्रहरीका सहायक निरीक्षक, नायब निरीक्षक र वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा म्यादी सहितको सुरक्षाकर्मीहरु खटिने छन्। 

सुरक्षा संवेदनशीलताका अनुसार मतदान स्थललाई तीन भागमा विभाजन गरिएको छ। जसमध्ये अति संवेदनशील मतदान स्थलमा कम्तीमा ३ प्रहरी र ८ जना म्यादी गरी ११ जना सुरक्षाकर्मी परिचालन गरिनेछ। 

‘सामान्य मतदान स्थलमा तीन प्रहरीसहित कम्तीमा ८ जना सुरक्षाकर्मी हुनेछन्’, प्रहरी प्रवक्ता केसीले भने, ‘अति संवेदनशील मतदान स्थलमा कम्तीमा ११ जना सुरक्षाकर्मी परिचालन हुनेछन्। त्यस्ता मतदान स्थलमा आवश्कता अनुसार थप गरी १८ जनासम्म सुरक्षाकर्मी खटाइनेछ।’

संवेदनशील मतदान स्थलमा ३ जना प्रहरीसहित कम्तीमा ९ जना सुरक्षाकर्मी खटाइनेछ। कम संवेदनशील सूचीमा परेका मतदान स्थलमा ३ प्रहरीसहित कम्तीमा ८ जना सुरक्षाकर्मी परिचालन हुने प्रहरीले जनाएको छ।

उनीहरु मोबाइल टोली, रिजर्भ टोली, सूचना संकलन टोली लगायत विभिन्न टोली मतदान स्थलको सुरक्षार्थ खटिने भएका हुन्। गृह मन्त्रालयले सीमानाका तथा शंकास्पद ठाउँमा चेकजाँच, सूक्ष्म निगरानी राख्ने गस्ती गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ भने घरेलु हतियार, विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, आयात तथा प्रयोगलाई नियन्त्रणका लागि पनि प्रहरी नै सक्रिय हुनेछन्।

मतदान सकिएपछि मतगणना स्थलको सुरक्षा पनि पहिलो घेरामा सुरक्षार्थ खटिएका प्रहरी र म्यादी प्रहरीको जिम्मेवारीमा छ।

दोस्रो घेरामा सशस्त्र प्रहरी

निर्वाचन सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछन्। २२ हजार सशस्त्र प्रहरी मतदान स्थलभन्दा बाहिर दोस्रो घेरामा तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ। 

जिल्लाका मुख्य निर्वाचन कार्यालयको सुरक्षा पनि सशस्त्र प्रहरीले गर्नेछ। सुरक्षाका लागि सशस्त्र प्रहरी दुई टोलीमा बाँडिएका छन्। घुम्ती टोली र स्ट्राइकिङ टोली।

‘नेपाल प्रहरीको पछाडी रहेर हरेक मतदान स्थलको सुरक्षा सशस्त्रका घुम्ती टोलीले गर्नेछ’, मन्त्रालयका उपसचिव भट्टराईले भने, ‘प्रहरीलाई आवश्यक परेको अवस्थामा तुरुन्तै मद्दत दिनेगरी खटिएका छन् तर मतदान केन्द्र भित्रै चाँही खटिएका छैनन्।’

‘स्ट्राइकिङ टोली चाही विशेषगरी महानगरपालिका उपमहानगर र नगरपालिकामा खटिएका छन्।’ उपसचिव भट्टराइले भने, ‘आवश्यकता परेमा यो टोलीले जिल्लाका कुनैपनि स्थानमा पुग्ने गरी खटिएका छन्।

अन्तिम तथा तेस्रो घेरामा नेपाली सेना

निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा सुरक्षा दिने नेपाली सेना पनि प्रत्येक पालिकामा पुगिसकेको गृह मन्त्रालयले जनाएको छ।  प्रत्येक पालिकामा सेनाका एक कम्पनी पुगिसकेका छन्। एक कम्पनीमा बढीमा एक सय १५ जनासम्म रहनेछन्।

नेपाली सेनाले मुख्य मुख्य स्थानको सुरक्षा गर्नेछ। सेनाले धेरै प्रहरी आवश्यक पर्ने स्थान विशेषगरी मुख्य ठाउँका विमानस्थल, कारागार लगायतका सुरक्षाको जिम्मेवारी पाएको छ।​

हेलिकप्टरबाट सामान तथा सुरक्षाकर्मीको ओसारपसार गर्ने जिम्मा पनि नेपाली सेनालाई नै दिईएको सूचना अधिकारी बसन्त भट्टराइले जानकारी दिए। ‘सेनालाई विशेषगरी मुख्यमुख्य ठाउँको विमानस्थल र कारागारको सुरक्षासहित हेलिकप्टरबाट सामान र सुरक्षाकर्मीहरु ट्रान्सपोर्ट गर्ने जिम्मेवारी छ’, उनले भने, 'प्रहरी र सशस्त्रले सुरक्षा स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था सिर्जना भएमा नेपाली सेना परिचालन हुनेछ।'​

एक सातालाई सेनासँग हतियार सापटी !

स्थानीय निर्वाचनमा खटिने प्रहरीका लागि नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार साना हतियार माग गरेको छ। चुनावी प्रयोजनका लागि बोकेर हिँड्न मिल्ने गरी साना हतियार एक साताको लागि माग गरिएको प्रहरी वरिष्ठ उपरीक्षक केसीले जानकारी दिए।

उनका अनुसार हिजो आइतबारसम्म सेनाले ७ सय वटा हतियार प्रहरीलाई उपलब्ध गराएको छ। ठाउँ अनुसार आवश्यकताका आधारमा हरेक प्रदेशमा सेनासँग समन्वय गरेर हतियार लिइने प्रहरीले जनाएको छ।

सेनाले उपलब्ध गराएका हतियार मतदान स्थलमा खटिएका प्रहरी अधिकृतहरूले सुरक्षाका लागि प्रयोग गर्ने केसीको भनाई छ।  निर्वाचन सम्पन्न भएपछि पुनः सेनालाई नै फिर्ता गर्नेगरी साना हतियार मागिएको प्रहरी प्रवक्ता केसीले स्पष्ट पारे।

उनले थपे, ‘आवश्यकता पर्दा सेना र प्रहरीबीच हतियार साटफेर गर्ने गरिन्छ। त्यहीअनुसार एक साताका लागि अफिसरले बोक्ने साना हतियार मागेका हौं।’

मुलुकभर एकैपटक हुने निर्वाचनमा साना हतियार नभएकाले विश्लेषण गरी प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार मागेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.