|

ललितपुर : गोदावरी नगरपालिकाको मेयरका लागि यसपालि नेकपा एमालेका गम्बिर राना र कांग्रेसका गजेन्द्र मर्हजनबीच कडा टक्कर हुने देखिएको छ।

५४ हजार ३ सय ९९ मतदाता रहेको गोदावरीमा २१ जनाले मेयरमा प्रतिस्पर्धा गरे पनि मुख्य प्रतिस्पर्धा भने एमालेका राना र कांग्रेसका मर्हजनबीच नै हुने स्पष्ट छ। गोदावरीको मेयरका लागि राना र मर्हजनबीच अत्यन्त प्रतिस्पर्धात्मक भिडन्त हुने भएको हो।

मर्हजन अघिल्लो २०७४ सालको चुनावमा एमालेका तत्कालिन जिल्ला उपाध्यक्ष श्यामकृष्ण सिल्वाललाई २७ सय ३३ मतले हराएर मेयरमा निर्वाचित भएका थिए। कांग्रेसका ललितपुर जिल्ला उपसभापति समेत रहेका मर्हजनलाई अघिल्लो पटक जति सजिलो भएको थियो यसपालिको चुनावमा त्यत्ति सहज देखिँदैन। सरल र सहज स्वभावका मर्हजनलाई नगरवासीले विकासप्रेमी र संस्कृति संरक्षणका अभियन्ताकै रुपमा  लिन्छन्।

एमालेका रानालाई पनि विकासप्रेमी र सहयोगी भावनाका ब्यक्तिका रुपमा चित्रण गरिन्छ। ललितपुरमा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन हुँदा गोदावरीमा भने मेयर र उपमेयर दुबैमा कांग्रेसको उम्मेदवारी परेको छ। यहाँ माओवादीको साथ रहे पनि अघिल्लो कार्यकाल मेयर बनिसकेका मर्हजनका लागि अघिल्लो पटक जस्तो यसपाली जित्न त्यत्ति सहज छैन।

अघिल्लो पटक १३ हजार ८ सय २० मत ल्याएका मर्हजनलाई ठेचो, चापागाउँ र बाडेगाउँबाट पहिलाकै जस्तो गरी भोट आउनेमा शंका छ। यद्यपी मर्हजन यो कुरा मान्न तयार छैनन्। उनी आफू जित्ने आधार भनेकै आफ्ना नगरवासीको माया र स्नेह भएको प्रतिक्रिया दिन्छन्। ‘५ वर्षमा मैले काम गरेको छु, मैले गरेका कामका आधार नै मेरो जित्ने आधार हो,’ उनले भने, ‘पार्टीबाट टिकटका लागि अन्यौल हुँदादेखि अहिले प्रचारमा हिँड्दा समेत १४ वटै वडावासीले देखाएको सद्भावले गर्दा मलाई लाग्छ सबै वडामा मेरो मत कम हुँदैन होला।’

अघिल्लो चुनावमा मेयरमा एमालेका उम्मेदवार सिलवालले ११ हजार ८७ मत ल्याएका थिए। यसपालिको चुनावमा यो मतमा धेरै सुधार आउने दाबी मेयरका प्रतिस्पर्धी रानासँगै अरुको पनि छ। मेयरको टिकट पाउनुअघि देखि नै दौडधुपमा ब्यस्त एमालेका जिल्ला आर्थिक विभाग प्रमुख रानालाई वडा नम्बर १, २ , ३ , ४ , ५ , ६ , ७, ८,९ , १० र १३ नम्बर वडाबाट राम्रो मत खस्ने विश्लेषण गरिएको छ।

यद्यपी निवर्तमान मेयर मर्हजनको घर रहेको वडा नम्बर १२ ठेचोमा समेत आफ्नो प्रभाव बलियो भएको दाबी रानाको छ। ‘धेरै मतदाता रहेको १२ नम्बर वडा ठेचोमा पनि हाम्रो माहोल राम्रो छ,’ रानाले भने, ‘विश्वास गरेको स्थानबाट मत आए मेरो जित सुनिश्चित छ।’ 

राप्रपाबाट राजकुमार मर्हजन मेयरका उम्मेदवार भए पनि संगठन बलियो नहुँदा र तयारी सो पार्टीको नपुग्दा खासै प्रभाव नदेखिने स्पष्ट छ। एकीकृत समाजवादीका तर्फबाट नगरपालिकाका मेयरका पूर्व प्रतिस्पर्धीसमेत रहेका श्यामकृष्ण सिलवालले उपमेयरमा दावेदारी प्रस्तुत गरेका हुन्। गोदावरीमा जिल्लाका ६ पालिकामध्ये प्रमुखका उम्मेदवार सबैभन्दा बढी २१ रहेका छन्।

गोदावरीमा उपप्रमुखमा १० जना सहित वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी ३ सय २३ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत शारदा रिजालले जानकारी दिइन्।

दुवैका योजना 

मर्हजनले पहिलो कार्यकालमा शुरु गरेको पूर्वाधार निर्माणलाई सम्पन्न गर्नुपर्ने भएकाले पनि प्रमुखका रुपमा अझै पाँच वर्ष काम गर्न चाहेको बताए। हालसम्म नगरपालिकाको फोहर उपत्यकाका अरु पालिकामा जसरी नै नुवाकोट लगेर बिसर्जन हुँदै आएको छ। आगामी दिनमा नगरभित्रको फोहर व्यवस्थापनका लागि देवीचौरमा आधुनिक प्रशोधन निर्माणको योजना रहेको उनले बताए। सडकमा बत्ती, पैदल मार्ग, खेलमैदान निर्माणलाई पनि उम्मेदवारले प्राथमिकतामा राखेका छन्।

एमालेका उम्मेदवार बनेका रानाले सडक निर्माण र भइरहेका सडक सुधारलाई नै आफ्नो पहिलो प्राथमिकतामा राखेका छन्। कान्ति लोकपथ खाल्डाखुल्डी हुँदा नागरिकले दुःख पाइरहेको भन्दै उनले त्यसमा सुधारका लागि पहल गर्ने बताए। सडकमा ड्रेन र ढल नभएकाले कालोपत्र गरेपनि चाँडो भत्कने समस्या रहेकाले आफू निर्वाचित भएपछि यी कुरामा पनि ध्यान दिने रानाले बताए।

नगरपालिकाको केन्द्र रहेको चापागाउँसम्म जाने सातदोबाटो–चापागाउँ सडक साँघुरो र सवारीसाधनको चाप बढी रहेकाले जामको समस्या छ। यो सडकको विकल्प बन्नसक्ने नख्खु करिडोरलाई विकास गरेर जाने उनको योजना छ। नख्खु खोलाको क्षेत्र र जग्गाधनीको जग्गा छाडेर सडक निर्माण गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.