|

विराटनगर : स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि शुरु हुँदै छ। मौन अवधि शुरु भएसँगै प्रचारप्रसारका कुनै पनि कार्यक्रम गर्न नपाइने भएकाले यतिवेला बेलबारी नगरपालिकाका नेता, कार्यकर्तासँगै उम्मेदवारहरू घरदैलो कार्यक्रम तीव्र बनाएका छन्।

३ दिनपछि हुने स्थानीय तहको निर्वाचनका लागि बेलबारी नगरपालिकाको नेतृत्व प्राप्तिका त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। बेलबारी नगरपालिकाको मेयरमा एमालेबाट डिपी राई चुनावी मैदानमा छन् भने नेपाली कांग्रेसबाट महेन्द्र सुवेदी र माओवादी केन्द्रबाट नगेन्द्र खड्का रहेका छन्। एकीकृत समाजवादीबाट भूपाल बस्नेत एक्लै चुनावी मैदानमा उत्रिएका छन्।

एमालेको विरासत बोकेको बेलबारी नगरपालिका कांग्रेसका नेता एवम् नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माको निर्वाचन क्षेत्रसमेत भएकाले बेलबारी नगरपालिकाको बागडोर कुन दलले हात पार्ने हो? भन्ने प्रश्नले सबैको ध्यान खिचेको छ।  ०७४ सालको स्थानीय तह निर्वाचनमा तेश्रो  बनेको माओेवादी केन्द्रको आफ्नै परम्परागत मत रहेकाले पनि बेलबारीको चुनावी माहोल थप  प्रतिस्पर्धात्मक रहने स्थानीय बताउँछन्।

एमालेलाई फुटको छिटा, कांग्रेसको दाउ माओवादी र समाजवादीको मत तान्ने

२०७४ सालको स्थानीय तहको निर्वाचन यता ०७९ सम्म आइपुग्दा बेलबारी नगरपालिकाको मतदातामा परिवर्तन आएको छ। अर्थात् एमाले पार्टीभित्रको आन्तरिक किचलोले निम्त्याएको फुटका कारण बेलबारी नगरपालिकामा एमालेको मत हेरफेर भएको छ।

विगतमा एमालेलाई भनेर खस्ने करिब १ हजार मत एकीकृत समाजवादीलाई जाने आँकलन रहेको एक नेताले बताए। ‘बेलबारी नगरपालिकामा एमालेभित्रको फुटको छिटा पर्छ,’  ती नेताले भने, ‘विगतमा एमालेलाई नै भनेर जाने १ हजार मत बिग्रिन्छ।’ गएको निर्वाचनमा एक्लै भिड्दा एमालेले कांग्रेसलाई २ सय १ मतले जितेको थियो भने अबको निर्वाचनमा एमालेले घाटा बेहोर्नु पर्ने उनी बताउँछन्।

कसेनी, डाँगीहाट र बेलबारीसहित ३ पालिकामा एमालेले जित्दै आएको भए पनि पछिल्लो समयको आँकलनअनुसार एमालेले विरासत जोगाउन सक्ने अवस्था कमै रहेको उनले बताए।

 यता जनता समाजवादीसँग तालमेल गरेर चुनावी मैदानमा रहेका कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको मत तान्ने दाउमा रहेको उनी बताउँछन्। उनले भने, ‘कांग्रेसले उम्मेदवारी फिर्ता गर्न लगाएर भए पनि मत तान्ने दाउमा छ, तर उम्मेदवारी फिर्ता लिँदैनन्।‘

यता संचारकर्मी भोजराज बस्नेत बेलबारीमा कांग्रेसले जित्ने पक्का रहेको दाबी गर्छन्। बेलबारी कांग्रेसको गढ नै भएकाले र मेयरका उम्मेदवार सामाजिक काममा सक्रिय रहेकाले पनि कांग्रेसको जीत सुनिश्चित रहेको उनको दाबी छ।

जसपाले कांग्रेसलाई सघाउने

जनता समाजवादी पार्टी नेपालले नेपाली कांग्रेसबाट मेयरका उम्मेदवारलाई सघाउने भएको छ। आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उपमेयरको हकमा भने गठबन्धन लागू नगर्ने बताएका छन्।

गठबन्धनको भावनाअनुसार  निर्णय गरिएको बताउँदै आएको जसपाले  मेयरमा कांग्रेसलाई सहयोग गरे पनि अन्य पदमा भने स्वस्थ प्रतिस्पर्धा रहने बताएको छ।

सकसमा छैन एमाले

बेलबारी एमालेको पकड क्षेत्र भएकाले पनि निर्वाचन जित्न त्यति सकस नभएको सञ्चारकर्मी अर्जुन राई बताउँछन्। आन्तरिक रुपमा दुईवटा दलको गठबन्धन भए पनि बेलबारीमा एमालेलाई जित हासिल गर्न त्यति सकस नभएको उनले बताए।

‘एमालेले जित्ने सम्भावनाको कारण पनि छ, दुई दलबीच भएको गठबन्धन आफैँमा विवादित छ, जसपा र कांग्रेसले गठबन्धन मेयरका लागि मात्रै गरेका छन्। यसलाई गठबन्धन पनि भन्न सकिएन, स्वच्छ प्रतिस्पर्धा पनि भन्न सकिएन,’ उनले भने, ‘सैद्धान्तिक नीति, निष्ठाभन्दा परिधिबाहिर रहेर भएको गठबन्धन हो यो।’ कुशलता र सक्षमताको हिसाबले धेरै जनताले एमालेबाट मेयरका उम्मेदवारलाई रुचाएको हिसाबले पनि एमालेले जित्ने सम्भावना रहेको उनी बताउँछन्।

विगतको मत परिणाम

अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार (वर्तमान मेयर) ज्ञानेन्द्र सुवेदी विजयी भएका थिए। उनले १० हजार ७ सय ८४ मत ल्याएर कांग्रेसका राजकुमार लिम्बूलाई हराउँदै बेलबारी नगरपालिकाको नेतृत्वको बागडोर सम्हालेका थिए। एमालेकी उपमेयर ढाकाकुमारी पराजुलीले ११ हजार ३ सय २२ मत ल्याएर कांग्रेसकी रुकमणी धिमाललाई हराउँदै विजयी भएकी थिइन्।

प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र ३ बाट तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका स्थायी कमिटी सदस्य एवम पूर्व स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालले नेपाली कांग्रेसका डा. सुनिल शर्मालाई हराउँदै विजयी भएका थिए। डा. शर्मालाई १९ सय ६ मतले पछि पार्दै ढकाल निर्वाचित भएका थिए। ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.