|

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेको डडेल्धुरा बसपार्कको चुनावी आमसभामै भारतीय गाडीको प्रयोग भएको छ। उनले मंगलबार दिउँसो नेपाली कांग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए।

देउवा सभास्थल पुग्नुअगाडि भारतीय गाडी यहाँ आइपुगेको थियो। कांग्रेस डडेल्धुराले बिहान १० बजे कार्यक्रम शुरु हुने बताएको थियो तर कार्यक्रम निर्धारित समयमा शुरु भएन। बसपार्कमा जम्मा भएका नेता–कार्यकर्तालाई मञ्चबाट लक्ष्मी बैंकनजिकै भेला हुन भनियो। त्यहाँ जिल्लास्तरीय नेता तथा कार्यकर्ता भेला भए।

त्यहाँ र्‍याली भयो। र्‍याली बाजागाजासहित बसपार्कसम्म पुग्ने कार्यक्रम थियो। लक्ष्मी बैंकनजिकै नेता कार्यकर्ता देउवाको पर्खाइमा थिए। देउवा जिल्ला सदरमुकामबाट ६ किलोमिटर टाढा रातोगुराँस रिसोर्टमा बसेका थिए। त्यहाँबाट देउवा आउन ढिलो भयो।

देउवा १२ बजेपछि मात्रै कार्यक्रमस्थल आइपुगे। तर उनी आउनुभन्दा १५ मिनेट अगाडि भारतीय यूके ०३ टीए ०९८२ नम्बरको गाडी कांग्रेसको चारतारे झण्डा बोकेर आयो। सञ्चारकर्मी देखेपछि गाडीभित्र रहेका कांग्रेस कार्यकर्ताले झण्डा लुकाउन चालकलाई भने तर त्यतिभनुन्जेलसम्म पत्रकारले तस्वीर खिचिसकेका थिए।

उक्त भारतीय नम्बर प्लेटको गाडीलाई कांग्रेसले आचारसंहिता विपरीत प्रयोग गर्दै आइरहेको छ। यही गाडी केही दिनअघि अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार र कार्यकर्ताले प्रयोग गरेका थिए।

निर्वाचनमा भारतीय नम्बरको गाडी प्रयोग गर्न पाइँदैन, यसरी प्रयोग भएको पाइएमा आचारसंहिता उल्लंघन गरेको ठहर हुने निर्वाचन आयोगले जनाएको छ। तर कांग्रेसले भारतीय गाडी प्रयोग गर्दासमेत यहाँको प्रहरी प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन रहेको स्थानीयको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.