|

फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनाण्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्कोस जुनियर राष्ट्रपति निर्वाचित भएका छन्। त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भएकी छिन्।

पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवार उठाएका थिए। दुई प्रभावशाली नेताहरूको तालमेलका कारण उहाँहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ विजयी भएका हुन्। राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएका छन्। यो संख्या मार्कोसको प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिस्पर्धीको रूपमा उदारवादी एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए। नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार मतदान भएको थियो।

त्यस अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति र एक हजार २०० सिनेटरसहित ३०० भन्दा बढी संसदका प्रतिनिधि साथै एक हजार ७०० भन्दा बढी अन्य स्थानीय प्रतिनिधि निर्वाचित भएका छन्।

हाल निर्वाचित राष्ट्रपतिका पिता तत्कालिन राष्ट्रपति फर्डिनान्ड मार्कोसलाई ३५ बर्ष अघि तानाशाही भएको भन्दै सडक आन्दोलनका बलमा अपदस्थ गरिएको थियो।  २०४६ सालमा निर्दलीय पञ्चायत व्यवस्था बिरुद्ध भएको सडक आन्दोलनमा मार्कोस बिरोधी आन्दोलन उदाहरण लिइन्थ्यो।  

यसपटक फिलिपिन्सको राष्ट्रपति बन्न अन्य आठजनाले पनि उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.