|

धादिङ : त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा एमाले कार्यकर्तामाथि आक्रमण हुँदा चारजना गम्भीर घाइते भएका छन्। 

आक्रमणमा परी त्रिपुरासुन्दरीका २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते भएका हुन्। स्थानीय सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि उनीहरूलाई काठमाडौंस्थित मनमोहन अस्पताल ल्याइएको छ।   

आक्रमणमा १० जना भन्दाबढी सामान्य घाइते भएका एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरि पन्तले जानकारी दिए। 

मंगलबार साँझ त्रिपुरासुन्दरी गाउँपालिका १ स्थित डाँडागाउँमा एमालेको घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भीमप्रसाद भट्टले खुँडा प्रहार गरेको पन्तको आरोप छ।  

जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरी फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्कासमेत आक्रमणमा सहभागी भएको अध्यक्ष पन्तले बताए।

आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो। 

यसैगरी सिद्धलेक  गाउँपालिका–५ बाघबच्छला नजिकै  आक्रमण हुँदा स्थानीय एमालेका २६ वर्षीय राकेश श्रेष्ठ गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको मलेखुस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटनामा तीन मोटरसाइकलमा क्षति पुगेको छ। 

नेकपा माओवादी केन्द्रका नेता बुद्ध गुरुङको नेतृत्वमा घटना भएकोले आरोपविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठले बताए। जिल्ला प्रहरी कार्यालयले भने दुई पक्षबीच झडप भए पनि कसले आक्रमण गरे भन्ने कुरा अनुसन्धान भइरहेको बताएको छ । 

धादिङका डीएसपी जागेश्वर भण्डारीले दुवै घटनामा परी चारजना गम्भीर घाइते भएको जानकारी दिए। उनका अनुसार हालसम्म घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिइएको छैन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.