|

लोकतन्त्रको सुन्दर पक्ष भनेको जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न सक्छन्। आफैँ जनप्रतिनिधि हुने चाहना हुनेलाई पनि बाटो खुला हुन्छ। तर, यो जति सुन्दर अनि सरल सुनिन्छ, यसका जटिल पक्ष पनि त्यति नै छन्। 

चुनावमा भोट पाएर जित्नु भनेको जनताको प्रतिनिधि हुनु हो। सँगै आफूमा शक्ति आउनु पनि हो, जसको सदुपयोग र दुरुपयोग दुवै गर्न मिल्छ। त्यही शक्तिको लोभले चुनावको मुखमा विभिन्न षड्यन्त्र र खिचातानी हुन्छ। 

स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीतिमा पनि यस्ता दृश्य देखिइरहेको छ। मौन अवधि सुरु भइसकेको अवस्थामा यहाँ केही राजनीतिक विषयमा बनेका फिल्मको नाम दिइएको छ,जसले मतदातालाई आफ्नो उम्मेदवार चयन गर्न मद्दत मिल्न सक्छ। 

प्राइमरी कलर्स
माइक निकोल्सको निर्देशनमा बनेको 'प्राइमरी कलर्स' सन् १९९२ को अमेरिकी राष्ट्रपतिको चुनाव वरिपरी घुम्छ, जसमा विल क्लिन्टन राष्ट्रपतिको उम्मेदवार हुन्छन्। कमेडी पोलिटिकल ड्रामा जनरामा बनेको फिल्ममा शक्तिका लागि हुने संघर्ष र त्यसका बाहिरी असरबारे व्यंग्यात्मक ढंगले देखाइएको छ। 

जो क्लेइन सन् १९९४ प्रकाशित बेस्ट सेलर पुस्तक 'प्राइमरी कलर्स'मा आधारित फिल्मले व्यवसायिक रूपमा लगानी पनि सुरक्षित गर्न सकेको थिएन। समीक्षकले भने यसलाई सकारात्मक प्रतिक्रिया दिएका थिए। फिल्म उक्त वर्ष दुई वटा विधामा ओस्कारको नोमिनेसनमा परेको थियो। 

बब रोबर्ट्स
एउटा लोक गायकको राजनीतिक यात्राको बारेमा रहेको फिल्म टिम रोबिन्सको निर्देशनमा बनेको पहिलो फिल्म हो। यसको लेखन पनि उनले नै गरेका हुन् भने मुख्य भूमिकामा पनि रोबिन्स नै छन्। 

सन् १९९२ मा प्रदर्शनमा आएको फिल्म सटायरिकल मोकुमेन्टरी जनरामा बनेको छ। फिल्मले एउटा गैर राजनीतिक पृष्ठभूमिबाट आएर सिनेट चुनाव लडेको पात्रको कथा भन्छ। चुनाव जित्न र शक्ति पाउन हुने विभिन्न षड्यन्त्र पनि फिल्ममा देख्न सकिन्छ। 

वाग द डग्स 
सन् १९९७ मा प्रदर्शनमा आएको पोलिटिकल सटायर ब्ल्याक कमेडी वाग द डग्स लेरी बेनहार्टको चर्चित पुस्तक अमेरिकन हिरोमा आधारित फिल्म हो। यसको निर्देशन बेरी लेभिन्सनले गरेका हुन्। समीक्षकले यसलाई हेर्नुपर्ने फिल्म बताएका थिए। फिल्म व्यावसायिक रूपमा पनि सफल भएको थियो। 

फिल्ममा नेताहरूले जनताको मनोविज्ञानसँग कसरी खेल्छन् भन्ने देखाइएको छ। राष्ट्रपतिको सेक्स स्क्याण्डलबाट ध्यान हटाउन अल्वानियामा यु्द्ध गराएको प्रसंग फिल्ममा छ। 

द आइडेस अफ मार्च
सन् २०११ मा प्रदर्शनमा आएको जर्ज क्लोनी निर्देशित पोलिटिकल ड्रामा 'द आइडेस अफ मार्च'मा शक्तिको लागि अन्धो हुने प्रवृत्ति देखाइएको छ। अमेरिकन डेमोक्रेटिक पार्टीको २००४ को चुनावको वरपर फिल्म घुमेको छ। 

सन् २००८ मा वियु विलिमोनद्वारा लिखित नाटक फरागट नर्थमा आधारित फिल्मले व्यवसायिक रूपमा राम्रो प्रदर्शन गरेको थियो भने समीक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए। त्यस वर्षको भेनिस फिल्म फेस्टिवल, टोरोन्टो फिल्म फेस्टिवल, हाइफा फेस्टिवलमा प्रदर्शनमा भएको फिल्म त्यो वर्षको उत्कृष्ट १० फिल्ममध्ये परेको थियो। 

द क्यान्डिडेट
सन १९७२ मा प्रदर्शनमा आएको माइकल रिचिद्वारा निर्देशित पोलिटिकल ड्रामा 'द क्यान्डिडेट' सन् १९६८ को राष्ट्रपति चुनावको वरपर घुमेको छ। फिल्ममा राजनीतिक अभियानका विभिन्न पक्ष र षड्यन्त्र देखाइएको छ। 

फिल्म उक्त वर्षको ओस्कारमा दुई वटा विधामा मनोनयनमा परेको थियो भने उत्कृष्ट पटकथाको अवार्ड हात पारेको थियो। जेरेमी लर्ननरले लेखेको द क्यान्डिडेटलाई उत्कृष्ट पोलिटिकल ड्रामा फिल्म मध्येमा गनिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.