|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमका दौरान लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। 

थापाले ललितपुरस्थित एउटा होटलमा बुधबार पत्रकार सम्मेलन गरेर आफूमाथि लगाइएका आरोपहरूमध्ये मुख्य १४ वटामात्र सार्वजनिक गरेका थिए। साथै उनले ती आरोप प्रमाणित गर्न चुनौती दिए। उनले आरोप प्रमाणित गर्नुस् भनेर पत्रकार सम्मेलन गरेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग यसको कुनै सम्बन्ध नरहेको समेत बताए।

शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा आफूविरुद्ध दिएको अन्तरवार्ता भिडियोमार्फत उनले प्रस्तुत गरेका थिए। सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको भन्दै ती आरोप प्रमाणित गर्न एन्फा अध्यक्ष शेर्पालाई चुनौती दिएका हुन्।

‘वर्तमान अध्यक्षले लगाएका आरोप ७ वर्षदेखि सहेर बस्न मेरा लागि कठिन थियो। केही समय स्वास्थ अवस्थाले पनि साथ दिएन,’ पूर्वअध्यक्ष थापाले भने, ‘मलाई लगाएका आरोप आरोप मात्रै हुन्। २० औं आरोप लगाइएका छन्। तीमध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौती दिन्छु। पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा पनि गर्दिनँ।’

पूर्वअध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागिदार बन्नुपर्ने बताए। लामो समय फुटबलमा बिताएको र व्यवस्थापनमा पनि आफूले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको सुनाए।

एफसीका तत्कालीन अध्यक्ष तथा फिफा अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे। यसकारण आफूले फिफाको प्रतिबन्ध भोगेको उनले बताए। थापाका छोरा गौरव थापाको खातामा १ लाख अमेरिकी डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो।

रकम लिएको पुष्टि भएपछि २०७२ साल कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबैखाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रूपैयाँ जरिवाना गरेको थियो। फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.