|

इलाम : कम्युनिष्ट आन्दोलनका नक्षत्र बमप्रसाद बान्तवाको आज ४४ औँ स्मृति दिवस। इलामको चमैताका बान्तवाको स्मृति दिवस इलाममा हरेक वर्ष मनाइन्छ। इलाम सदरमुकाममा रहेको उनको अर्धकदको शालिकमा फूलमाला अपर्ण गरेर कम्युनिष्टहरूले बमलाई हरेक वर्ष वैशाख २८ गते सम्झन्छन्।

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको उपस्थितिमा बमको शालिकमा माल्यापर्ण गरेर नेकपा एमालेका नेता कार्यकर्ताले बमलाई सम्झिएका छन्। नेकपा एमाले केपी शर्मा ओली नेतृत्वमा रहँदा सरकारले रत्नलाई शहीदको रुपमा सुचिकृत गरेको छ। तर उनकै सहयोद्धा बम वान्तवालाई नेकपा एमालेले मात्र शहीद मानेको छ।

इलाम बजारमा २०४८ सालमा नेकपा एमाले नगर कमिटी र प्रजातान्त्रिक युवा संघको संयुक्त लगानीमा ठुलो टुँडिखेल छेउमा रत्नको शालिक बनेको थियो। तर बमको शालिक बन्न २०६९ साल नै कुर्न पर्‍यो। रत्न–बम प्रतिष्ठानको पहलमा विभिन्न दाताहरूबाट सहयोग संकलन गरेर रत्नको शालिकबाट करिब १ सय मिटर नजिकै रहेको काफ्ले धारामा कुन्ती बस्नेतले दिएको जग्गामा बमको अर्धकदको शालिक बनाइएको छ।

उनको ३४ औ स्मृति दिवसको अवसर पारेर पुर्व सभामुख सुवासचन्द्र नेम्बाङले शालिक अनावरण गरेका थिए। एक महिनाको अन्तरमा एउटै अभियोगमा मारिएका दुई दाजुभाईमध्ये रत्नको नाममा धेरै संघसंस्थाहरू खुलेका छन्। तर बमको बारेमा चर्चा कमै सुनिन्छ।

राष्ट्रिय सभाका निवर्तमान सदस्य अगम बान्तवा रत्न बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटको नाममा बमको समेत नाम राख्न दिएको सुझाव विर्सिएको बताए। ‘झलनाथ खनालले नै मंगलबार हाई स्कुलमा बम बान्तवा पढ्दै गर्दा कम्युनिष्ट शिक्षा दिएर कम्युनिष्ट बनाएका थिए। हाम्रो सुझाव रत्न बम पोलिटेक्निकल इन्स्टिच्युट राखौ भन्ने थियो। तर चट्क्कै विर्सिदिनुभयो र रत्नको मात्र राख्नुभयो।’

बम २०३२ सालमा अखिल नेपाल कोअडिनेसन केन्द्र इलाम जिल्ला कमिटीसँग आवद्ध भए जस्को सचिव थिए झलनाथ खनाल। अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद वान्तवा र वसन्त पराजुली थिए।

झलनाथ खनालको शब्दमा बम बान्तवा

बम वान्तवा चित्रेमा जन्मनु भएको र २८ देखि ३० सालमा हालको देउमाई नगरपालिकास्थित मंगलबारे हाई स्कुलमा पढ्नुभएको मेधावी विद्यार्थी हुनुहुन्थ्यो। उहाँ मेरै विद्यार्थी हुनुहुन्थ्यो मैले नै उहाँलाई माक्र्सवादको बारेमा ज्ञान दिएको हो। मैले नै उहाँलाई रुपान्तरण गरेर क्रान्तिको दिशामा अगाडी बढाएको पनि हो।

उहाँ मंगलबारे हाइस्कुलको विद्यार्थी युनियनको सभापति समेत हुनुहुन्थ्यो। र उहाँले विधार्थीहरूलाई जागरुक गर्दै संगठित गर्ने काममा आफ्नो विद्यार्थीकालमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो। त्यसपछि मैले भुमिगत रुपमा मैले इलाम जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी गठन गरिसकेको थिए।

त्यसो पार्टीका विभिन्न इकाईहरू र स्थानमा विस्तार गर्ने क्रममा ३२ सालमा कोअर्डिनेसन कमिटी निर्माण ग¥यौ। कोअर्डिनेसन कमिटी निर्माण गरेर हामीले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने दिशा तर्फ कदम चाल्यौं।

 त्यो सम्पूर्ण कदमहरूमा उहाँले हार्दिक रुपमा समर्थन गरेर कार्यकर्ताको रुपमा रुपान्तरित गरेर अगाडी बढाउनुभएको थियो। र त्यही सिलसिलामा मैले इलाम जिल्ला कमिटीको मात्र भुमिका निर्वाह नगरेर केन्द्रिय तहमा कोअर्डिनेसन सचिव भएर काम गर्नुपर्ने स्थिति आयो। त्यो अवस्थामा जिल्ला पार्टीमा काम गर्ने कुरामा उहाँले महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो। पछि म पनि जेलमा परे।

रत्नकुमार बान्तवा म जेल परेपछि उहाँ प्रमुख भएर इलाममा पार्टीलाई नयाँ ढंगले पुर्नगठित गर्नुभयो। उहाँले पुर्नगठित गरेको पार्टीका लागेर बम वान्तवा प्रतिवद्धताका साथ काममा लागिरहनुभएको थियो। त्यही सिलसिलामा रत्नकुमार बान्तवा पनि ३५ सालमा सहादत प्राप्त गर्नुभयो। उहाँलाई पञ्चायती तानाशाहले निर्ममतापुर्वक हत्या गरो। त्यही हत्याको सिलसिलामा केही समयपछि कमरेड बम बान्तवाको पनि इलामको साखेजुङमा धेरै निर्ममतापूर्वक हत्या गरियो।

यसरी हत्या गरिनुभएका बम बान्तवाको सहादतले त्यागले तपस्याले भावनाका कारणले नेपालको कम्युनिष्ट आन्दोलन लगातार अगाडी बढ्दै गयो। धेरै शहीदहरूका सपनाहरू थिए र बलिदान थिए ति कुराहरूका आधारमा हामी अगाडी बढ्दै गयौ। र ६२÷६३ मा आउँदा नेपालको जनवादी क्रान्तिले सफलतापुर्वक सम्पन्न ग¥यौ। त्यसपछि संविधान बनायौ।

अहिले नेपाल समाजवादी क्रान्ति र निर्माणको नयाँ युगमा आइपुगेको छ। हामी यो क्रान्तिलाई समाजवादी क्रान्तिको विचारले अगाडी बढाउन प्रयत्नशिल छौ। यस्तो क्रममा बम बान्तवाको स्मृति दिवस आज आइपुगेको छ। म उहाँ प्रति अत्यन्त गहिरो श्रद्धा व्यक्त गर्न चाहन्छु। र उहाँले जुन प्रकारका योगदानहरू गर्नुभएको छ नेपालको कम्युनिष्ट आन्दोलनलाई खास गरि इलाम जिल्लाको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन, इलाम जिल्लाका युवाहरूलाई संगठित गर्न जुन भुमिका खेल्नुभएको छ।

त्यो भूमिका र उहाँले दिनुभएका शिक्षाबाट हामीले अगाडी बढ्नुपर्ने अठोट गर्नुपर्ने आवश्यकता छ। म अठोट गर्नका लागि सम्पुर्ण इलाम जिल्लाका, देशभरीका सम्पुर्ण क्रान्तिकारीहरूलाई पनि आजको यो दिन संस्मरण गर्दै अगाडी बढ्न हार्दिक आहवान समेत गर्न चाहन्छु।

यसरी भएको थियो हत्या

रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या गर्‍यो। निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो। सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो।

रत्नकुमार र निमाको हत्यापछि गाउँमा प्रहरीका ज्यादती बढ्न थाल्यो। सोही समय बमप्रसाद साखेजुङको ध्वजबहादुर राईको घरमा लुकेर बसेका थिए। त्यो एक महिना चित्रे नजिकको महभीरको जंगल, कालिखोला, सिंखर्कतिर भौतारिएर बसेका थिए। राजनीतिक अनि भूमिगत चेत भएका बम रत्नको बदला लिनुपर्छ भनेर बैशाख १ गते रत्नको श्रद्धाञ्जलि सभामा कसम खाएका थिए।

वैशाख २७ गते चित्रेबाट अशोक राई सहित बम साखेजुङको गैरीवास पुगेका थिए। सधै बस्ने गरेको अलैची बगानमा बस्न र दिन बिताउन गाह्रो भएकाले र धेरै दिन शारिरिक थकाई अनिन्द्रा र भोकले दुवै जना जर्जर भएका थिए। उज्यालो हुनै लागेकाले ध्वज विक्रम राईको रित्तो घरमा बस्ने निर्णय गरे। २८ गते विहान खाना खाने बेलामा त्यो गैरीबासको लेकाली घरलाई त्यो पनि राईको घर हो भनेर पुलिसले घेरा हाल्यो। भोक, निन्द्रा र थकित रहेका दुवैलाई पुलिसले राइफल र पेस्तोलको नालले झक्झकाएर उठायो। व्युझदा उनीहरूले आफुलाई बाँधिएको पाए।

अशोक राई २०३७ सालमा जेलबाट छुटेर आएपछि सुनाएको घटनालाई राष्ट्रिय सभा सदस्य अगम वान्तवाले रत्न बम स्मृति ग्रन्थमा यसरी वर्णन गरेका छन्। २८ गते दिउँसो पुलिसले बाधेर गंगा बहादुर बस्नेतको घरमा ल्याएको थियो। त्यसपछि यातना दिँदै पुलिसले पार्टीको गोप्य कुरा सोध्न सुरु ग¥यो। त्यसबेला बम चार पटक मुर्छा परे।

तर उनले पार्टीको गोप्य योजना पुलिस सामु खुलाएनन्। साखेजुङका जमिन्दार गाउँ पञ्चायतका वडा अध्यक्ष गंगा बस्नेत र प्रधानपञ्च बाजवर्ण कटुवालले गोप्य सल्लाह गरेर बमलाई पुनः ध्वोज विक्रमकै घरमा लगेका थिए। दिनको ठिक ४ बजेर ३५ मिनेट जाँदा गैरीवास स्कुलको शिक्षकहरूले गोली चलेको सुनेका थिए।

बाजवर्ण कटुवालले २०४० सालमा नेपालटार स्कुल अगाडी सुनाएको घटनालाई स्मृति ग्रन्थमा यसरी लेखिएको छ ‘पहिलो गोली ढक बहादुर हान्यो तर त्यो केटो ढलेन। त्यसले त नेपाली क्रान्ति जिन्दावाद भनेर नारा पो लगायो। असईले रिसले आँखै देखेनछ। घाँटीमै ताकेर गोली छोड्यो अनि मात्र बल्ल केटो ढल्यो।’

२०३६ वैशाख २८ गते बमप्रसाद मारिएपछि प्रहरी प्रशासनको अपरेशन अन्त्य भएको थियो। बमप्रसाद सम्झनामा देउमाई नगरपालिकाको चमैता चित्रेमा रत्नकुमारसँगै पुर्णकदको शालिक बनाइएको छ।

गठबन्धन सरकारको पालामा घोषणा गर्न पहल गर्छु : खनाल

थाहाकर्मीसँग कुरा गर्दै खनालले केपी ओली नेतृत्वको सरकार बम बान्तवालाई शहीद घोषणा गर्न गम्भिर नभएको आरोप लगाए। ‘अघिका छोटा सरकारले भ्याउँदा पनि भ्याएका थिएनन्। अलि लामो अवधि निर्वाचित भएको ४२ महिने खड्गप्रसाद ओलीको सरकारमा शहीदहरूको मापदण्ड बनाएर हामीले घोषणा गर्न कुरा गरेका थियै। बम वान्तवा लगायतको नाम अघि सारिएको थियो। तर सो सरकारले रत्नकुमार बान्तवाको घोषणा गर्‍यौ। अरुको गरेन त्यो आफैंमा अकर्मण्यता हो,’ उनले भने ‘अब अहिलेको गठबन्धनको सरकारले ६/८ महिनाको अवधिमा कति भ्याउँछ त्यो बाँकी अवधिमा गम्भिरतापूर्वक लिएर अघि बढ्नुपर्ने हुन्छ। बम बान्तवासहित सवै शहीद घोषणा गराउने कुरामा प्रतिबद्ध छु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.