|

विराटनगर : मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरको रौनक कुनै वेला बेग्लै थियो। मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो। अहिले ती सबै क्षण सम्झनामा मात्रै छन्। भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए। थोरै मात्र साथै छन्। परदेशिएका आफ्नाहरूको सम्झनामा रुमलिरहेको शिविर यतिबेला सुनसान  छ। 

त्यही सुनसान बस्तीको एक छेउमा भेटिएका ८० वर्षीय बिर्खबहादुर तामाङलाई बेलाबखत भुटानमा छोडेका दुई सन्तान र जमिनको खुब याद आउँछ। तीन दशकअघि भुटान छाडेर आएका उनलाई पुर्ख्यौली घर ताप्लेजुङ हो भन्नेसम्म थाहा छ। तर, आफ्ना पुर्खा कहाँ बस्छन् भन्ने पत्तो  छैन।

उनका एक सन्तान भुटानमा नै सेनामा जागिरे छन्। एक छोरी पनि उतै घरजम गरेर बसेकी छिन्। उनलाई घरीघरी सन्तानको मायाले पिरोल्छ। प्रत्यक्ष भेटघाट त परको कुरा। न फोनमा सम्पर्क हुन्छ, न सामाजिक सञ्जालमा कुराकानी नै।​‘हामी नेपाल आँउदा छोरो उतैको आर्मीमा भर्ती भएको थियो। छोरीको बिहे भैसकेको थियो। आफ्ना साथमा भएका  छोराछोरी लिएर यहाँ आएँ,’ उनी सम्झिन्छन्,‘घरीघरी छोराछोरीको याद आउँछ। तर, बोल्न पनि पाइँदैन। कोरोनाअघि वेलावेला भेट्न आउने छोरा नआएको दुई वर्ष बितिसकेको छ। 

भुटानबाट सँगै आएका दुई सन्तानमध्ये एक समुद्रपारिको देश (अमेरिका) पुगिसके। कान्छा छोराबुहारी जाने प्रक्रियामा छन्। सबैले छाडेर गए पनि आफू अर्काको देश नजाने अडानमा छन् उनी।

आफू जन्मेर हुर्केको भुटानको माटोसँग गहिरो नाता जोडिएको उनलाई हिजोआज नेपाल नै प्यारो लाग्न थालको छ। उनी गफिँदै गर्दा घरीघरी भुटान सम्झिन्छन्। हावाहुरीले पतकर उडाए झैँ उनीहरू भुटानबाट लखेटिँदा बगानभरि सुन्तलाका बोट थिए। गोठ गाईभैँसीले भरिएका थिए। बारीमा मकै टुसाइरहेका थिए।  ती क्यानभासमा कोरिएका चित्रझैँ उनको मानसपटलमा अझै ताजा भएर आउँछ।​​

‘हामी भाग्दै गर्दा वैशाख महिना थियो क्यार!, बारीमा भर्खर मकै उम्रिरहेको थियो। गोठभरी गाईभैँसी थिए, बगैँचाभरि सुन्तलाका रुख थिए’, उनी विगत सम्झिन्छन्, ‘त्यो सबै खै के भयो ? कस्ले खायो ? कसलाई सोध्नु?’ गरेर खानसके मनग्य जमिन भएको बताउने उनी पछिल्लो समय सरकारले दिन रासन आउन छाडेदेखि यता बाख्रापालन गरेर त कहिले आफ्नाले पठाएको पैसाले जिविका चलाउँदै आएका छन्।

१४ वर्षको उमेरमा नेपाल टेकेका लालबहादुर विश्वकर्मा अहिले ४२ वर्षका भए। उनको कथा पनि शिविरमा भेटिएकाहरुको भन्दा कम छैन। उनलाई मधुरो याद छ, पाक्दै गरेको भात, गोठमा कराउँदै गरेको गाईबस्तु छोडेर आमाको साथ लागेर नेपाल आएको। तर, आफू जन्मेको ठाउँ छोडेर किन हिँड्नु पर्‍यो त्यो उनलाई थाहा थिएन।​​

बढ्दो उमेरसँगै आफूहरुलाई भुटानी सरकारले लखेटको भन्ने पत्तो त पाए, तर किन भन्ने प्रश्नको उत्तर अझै खोजिरहेका छन्। २८ वर्ष नेपालसँग साइनो गाँसेर बसेका उनलाई नेपालमा पुर्ख्यौली घर कहाँ हो भन्ने पनि थाहा छैन। बाल्यकालमा नै बुबा गुमाएका उनलाई नेपालमा आफ्ना छन् भनिदिने कोही नभएको उनी बताउँछन्। अहिले उनी श्रीमती छोराछोरीसँग बस्छन्। 

पाँच वर्षदेखि सरकारको रासन आउन छोडेपछि उनी कहिले ज्यामी काम गर्छन् त कहिले आफ्नाले पठाएको पैसाले घर खर्च चलाउँछन्। उनका पनि आफन्त अमेरिकामा पुगिसकेका छन्। उनलाई पनि नेपालको दुःख छोडेर अमेरिका जाने रहर नभएको होइन। तर विविध समस्याले अमेरिका जान नपाएको उनले बताए । नेपाल छोडेर जाने त गए तर, नेपालमा नै केही गर्छु भनेर बस्नेका लागि असहज अवस्था रहेको उनी बताउँछन्।​​

भुटानबाट विस्थापित भएर पूर्वी नेपालका विभिन्न शिविरमा बसोबास गर्ने भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भएसँगै यति बेला  शिविरमा बस्ने बिर्खबहादुर र लालबहादुर जस्ता सयौँ आफ्नाहरूको सम्झना र भर बस्न बाध्य छन्।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.