उपराष्ट्रपति नन्दबहादुर पुनले मतदान नगर्ने

|

काठमाडौं : भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ। नगर, गाउँबाहिर रहेका मतदातासहित प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्रिपरिषद्का सदस्य पनि मतदानका लागि आ-आफ्नो क्षेत्रमा पुगिसकेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेल्धुरा पुगेका छन्। प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्नेछन्। 

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन्। मतदानको लागि सभामुख सापकोटा गृहगाउँ कुविण्डे पुगिसकेको सभामुखको प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। 

यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन्। 

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। प्रचण्ड पनि मतदानको लागि भरतपुर पुगिसकेका छन्।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन्। 

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौंको मध्यबानेश्वरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन्। 

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्। एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्नेछन्। 

कांग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि र माओवादी नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरान्चोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नेछन्। 

माओवादी नेता हरिबोल गजुरेलले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला मावि र नेता मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उच्च माविबाट मतदान गर्नेछन्। 

सत्ता गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्र, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले बागबाजारस्थित पद्यमकन्या बहुमुखी क्याम्पस र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले गैरीगाउँस्थित अन्नपूर्ण विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन्। 

यसैगरी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार रेनु दाहालले भरतपुर महानगरपालिका–१४ स्थित आधारभूत विद्यालय सुन्दरबस्ती, एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन मावि र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन्। 

देशभरका कूल १० हजार ७५६ मतदान स्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु हुनेछ। मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ। 

ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ जना निर्वाचित हुनेछन्। जसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा १/१ जना अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन्।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन्। यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिग मतदाताले मतदानको अवसर पाएका छन्।

उपराष्ट्रपतिले मतदान नगर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन्। उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन्। 

उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.