मतगणना स्थलमा सिसिटिभी

|

धनगढी : सुदूरपश्चिममा १६ लाखभन्दा बढी मतदाता छन्। यिनै मतदाताले आगामी नेतृत्वका लागि जनप्रतिनिधि चुन्नेछन्। यद्यपि स्थानीय तह निर्वाचनमा ठूलो जनसंख्या मतदान गर्नबाट वञ्चित हुने देखिएको छ।

झण्डै ७ लाखको हाराहारीमा भारतका विभिन्न शहर र २ लाख २६ हजार वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेकाहरूले मत दिन नपाउने भएका हुन्।

हरेक नागरिकलाई मताधिकारको अधिकार भए पनि वैदेशिक रोजगारीमा जानेहरूका लागि ऐन र कार्यविधि नभएका कारण समस्या भएको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका प्रमुख मोहनदेव जोशीले बताए।

‘वैदेशिक रोजगारमा गएकाहरूलाई मताधिकारका लागि मानवअधिकार आयोगले निर्वाचन आयोग लगायत निकायसँग यस विषयमा छलफल गरे पनि यसका लागि ऐन र कार्यविधि बन्न सकिरहेको छैन’, उनले भने।

यस्तै मतदानको क्रममा खटिने कर्मचारी, सुरक्षाकर्मी र निजामती कर्मचारी समेत गरी हजारौँ मतदान गर्नबाट वञ्चित हुने देखिएको छ। सोही कारण स्थानीय तहको निर्वाचनमा शतप्रतिशत मतदाता उपस्थित हुन्छन् भन्ने बलियो आधार समेत छैन। सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न अझै सकेको छैन। स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नबाट लाखौँको संख्यामा मतदाता वञ्चित हुनु लोकतन्त्रको लागि राम्रो सन्देश नभएको सरोकारवाला बताउँछन्।

अनलाइन मतदान, अर्ली मतदान र पोस्टल मतदानमार्फत देश तथा विदेशमा रहेका मतदातालाई मताधिकारको व्यवस्था गर्न सरकार चुकेको छ। सर्वोच्च अदालतले आजभन्दा ५ वर्षअघि नै यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नू भनी परमादेश जारी गरिसकेको, तत्कालीन सरकारले गर्न सकिने उल्लेख गरेको र निर्वाचन आयोगले त्यस सम्बन्धी कानुन संशोधन गर्नका लागि आवश्यक बन्दोबस्त गरेको थियो।

तैपनि सरकारले कानुन संशोधन नगर्दा अहिले पनि लाखौँको संख्यामा मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुनु दुःखद पक्ष भएको धनगढीको बैंकका कार्यरत एक कर्मचारी बताउँछन्।

देश बाहिर रहेका हरेक नेपालीले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने विषयमा आयोग निकै चिन्तित भएको राष्ट्रिय निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘आयोग यस विषयमा चिन्तित छ। राष्ट्रिय निर्वाचनका लागि गहन छलफल गरेर मताधिकारको प्रयोग गर्न दिने वातावरणका लागि दबाब दिनेछ’, उनले भने।

मतगणना स्थलमा सिसिटिभी जडान

स्थानीय तह निर्वाचन २०७९ को मतदान वैशाख ३० गते बिहान ७ बजेदेखि हुनेछ। अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया शुरु हुन्छ। देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निर्वाचन अधिकृतका कार्यालयहरू आफ्नो तयारीमा जुटेका छन्। विशेष गरी प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ।

उक्त गणनास्थलमा सिसिटिभीको व्यवस्था मिलाइएको दार्चुलाका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताए। ‘जिल्लाका सबै पालिकामा हुने मतगणना स्थलमा सिसिटिभी क्यामराको व्यवस्था छ। कतै जडान भइसक्यो। कतै हुँदै छ’, उनले भने।

९ स्थानीय तह भएको कञ्चनपुरमा पनि सबै गणना स्थलमा सिसिटिभी जडान गरिएको छ। जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाको मतगणना समन्वय समितिको हलमा हुने बताइएको छ। जिल्लाका बाँकी ८ स्थानीय तहको गणना भने सम्बन्धित केन्द्रमा नै हुनेभएको छ।

मतगणना हुने ती स्थानमा पनि सिसिटिभीको व्यवस्था गरिएको दाबी निर्वाचन कार्यालयको छ। पारदर्शी रूपमा मतगणना गर्न सिसिटिभीको व्यवस्था गरिएको  कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए। उनले भने, ‘जिल्लाका ९ वटै स्थानीय तहमा मतगणना पारदर्शी हुन्छ। त्यसका लागि सिसिटिभी जडान लगायत सम्पूर्ण तयारी पूरा भएको छ।’

प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला कैलालीको निर्वाचनलाई भने निकै महत्त्वका साथ हेरिएको छ। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका पनि कैलालीमै भएका कारण यहाँको निर्वाचनलाई बढी महत्त्वका साथ हेरिएको हो।

जिल्लाका १३ वटै स्थानीय तहमा हुने मतगणना स्थलमा पनि सिसिटिभी जडान गरिएको छ। धनगढीको मतगणना उपमहानगरपालिकाकै नयाँ भवनमा हुने बताइएको छ भने अन्य स्थानीय तहको सम्बन्धित केन्द्रमै हुनेछ।

जिल्लाका सबै स्थानीय तहमा सुरक्षा र पारदर्शी गणनालाई मद्देनजर गरी सिसिटिभीको व्यवस्था गरिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले बताए। ‘कैलालीमा मतगणना हुने स्थान छनोट भइसकेको छ। सुरक्षाको दृष्टिकोणबाट पनि सुरक्षित छन्। मतगणना स्वच्छ बनाउनका लागि सिसिटिभी क्यामरा जडान गरेका छौं’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.