विराटनगर : नारायण गोपालको स्वरमा रहेको ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ गीत र बेलबारी– २ लालभित्तिका ५२ वर्षीय पञ्चकुमार राईको भोगाई उस्तै छ। आफू बस्दै आएको जमिन छोडेर जाउँ भने २ दशक देखिको लगाव छ त्यो ठाँउसँग। छोडी गए कहाँ जाने उनीसँग कुनै गन्तव्य नै छैन।
२३ वर्षदेखि सरकार फेरिएपिच्छे लालपुर्जा पाउने आशमा बसेका पञ्चकुमारका परिवारका लागि नियमित अन्तरालमा आउने चुनाव नेताको भोट माग्ने भाँडो मात्र भए झैँ लाग्न थालेको छ। ‘आशै, आशमा बनिबास भने झैँ भएको छ,’ उखान टुक्का जोड्दै उनी सुनाउँछन्, ‘जो नेता आए पनि उही लालपुर्जाको लोभ देखाएर भोट मात्र माग्छन्‚ त्यसपछि जस्ताको तस्तै।’
सडकले छोएको बस्तीमा पानी, विद्युत‚ सडक पुगे पनि लालपुर्जा हातमा थमाइदिने कोही नभएको उनी बताउँछन्। गएको निर्वाचनमा झैँ यो निर्वाचनमा पनि नेताहरू उही लालपुर्जाको एजेण्डा लिएर आएको बताउने उनी राजनीतिक अवस्था फेरिए पनि व्यवस्था ज्यूँ का त्यूँ रहेको उनी बताउँछन्। करिब ८५ घर रहेको सुकुम्बासी बस्तीमा बस्ने सबैको एउटै दुखेसो रहन्छ- ‘जो आए पनि कसैले दिँदैन लालपुर्जा।’
३२ वर्षीय राजेन्द्रकुमार राईको दुखेसो पनि उही छ- जुनै सरकार आए पनि लालपुर्जा पाइएन। उनी पहिलो पटक स्थानीय तहको निर्वाचनमा मत खसाल्दैछन्। बस्तीमा चाहिए अनुसारको विकास भित्रिएको बताउने उनी लालपुर्जा दिन सक्ने नेतालाई भोट खसाल्ने बताउँछन्।
खोटाङका ६० वर्षीय मिकबहादुर राई २६ वर्षदेखि सोही स्थानमा बस्दै आइरहेका छन्। सामान्य खेती किसानी गर्दै आएका उनी जीवनको ऊर्जाशील उमेर त्यही बस्तीमा बिताउँदा समेत उनले घरजग्गाको लालपुर्जा पाएका छैनन्।
हरेक निर्वाचनमा लालपुर्जाको एजेण्डा बोकेर नेताहरू घरआँगनमा आउने गरे पनि अझैसम्म कसैले दिलाउन नसकेको उनको दुखेसो छ। तर पनि एकदिन घरजग्गाको लालपुर्जा पाइएला भन्ने झिनो आश अझै उनीभित्र बाँकी नै छ। ‘सबै नेता आउँछन्, यही लालपुर्जाको आश देखाउँछन्,’ उनी भन्छन्, ‘देलान् नि एक दिन त।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।