|

संखुवासभा : स्थानीय निर्वाचनका लागि संखुवासभामा १६२ मतदान केन्द्रमध्ये तीन केन्द्रमा महिला मतदान अधिकृत छन्। ती केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला छन्।

खाँदबारी नगरपालिका–१ स्थित खाँदबारी टुँडिखेल मतदान केन्द्र (क), (ख) र पाँचखपन नगरपालिका–२ को शिव माध्यमिक विद्यालय स्याबुन (ख) मतदान केन्द्रमा सबै कर्मचारी महिला तोकिएको छ। जिल्लाका तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको अभिभारा महिलाको काँधमा छ।

खाँदबारी नगरपालिका–१ टुँडिखेल मतदान स्थल (क) मा निर्वाचन अधिकृत लक्ष्मी थापाको नेतृत्वमा सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित ५ जनालाई दायित्व सुम्पिएको छ। त्यहाँ सुरक्षा कमान्ड सम्हाल्ने पनि सबै महिला छन्।

यस्तै मतदान केन्द्र (ख) मा पनि मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारीसँगै सुरक्षा कमान्डको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको हो। यस केन्द्रमा विमला नेपाललाई मतदान अधिकृत तोकिएको छ।

टुँडिखेल मतदान केन्द्र बजारक्षेत्रमै रहेको यो केन्द्रलाई जिल्लाकै नमुना मतदान केन्द्रसमेत घोषणा गरिएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले खाँदबारी टुँडिखेलमा रहेको मतदान केन्द्र (क) र (ख)मा १५ जना महिला सुरक्षाकर्मी खटाइएको छ।

त्यस्तै पाँचखपन नगपालिका–२ शिव माध्यमिक विद्यालय स्याबुन (ख) मतदान केन्द्रमा पनि देवकुमारी गिरीलाई मतदान अधिकृत तोकिएको छ। जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी खटाइएको छ।

यसरी एउटा मतदान केन्द्रमा पाँच सरकारी कर्मचारी हुने छन् भने तीन स्वयंसेवक खटिनेछन्। जिल्लाभर ७९९ कर्मचारी निर्वाचनका लागि खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.