|

काठमाडौं : देशभरका ७ सय ५२ स्थानीय तहमा निर्वाचन जारी छ। मतदाताहरूले धमाधम मतदान गरिरहेका छन्। विभिन्न उमेर समुहका व्यक्तिले आफूलाई मनपर्ने उम्मेदवारलाई चुन्ने यो अवसरलाई अधिकांशले उपभोग गरेका छन्। 

यसैबीच उपत्यकाका विभिन्न क्षेत्रमा ह्विलचियरको सहारामा आएका अपाङता भएका व्यक्ति, आफन्तले डोहोर्‍याउँदै ल्याइएका वृद्धवृद्धाहरू, गर्भवती महिला, दृष्टिविहिन लगायत सम्पूर्ण व्यक्तिले यो चुनावमा मतदान गरेका छन्। 

देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको अवस्थामा अधिकांशले कुशल नेतृत्वको अपेक्षा गरेका छन्। ललितपुरमा भोट खसाल्न ७० वर्ष कटेका बटु आचार्यले आवश्यक विकास संरचना बनाउन सक्ने योग्य व्यक्ति छान्न आएको बताए। उनले भने,‘मत अधिकार पनि प्रयोग गर्न,योग्य व्यक्ति चुनेर विकास गराउन आएको हुँ।’

उनमा शारिरिक समस्या देखिएपनि भोट हाल्न पाउँदा निकै खुशी देखिन्थे। यसअघिको निर्वाचन र अहिलेको निर्वाचनमा धेरै फरक रहेको उनले बताए। ‘पाँच वर्षको अवधिमा अपेक्षित विकास नभएपनि केही परिर्वतन भने आएको छ,तर गाउँगाउँमा सिंहदरबार भनेजस्तै घरघरमा अवसरका ढोका खुलेनन्’,उनले भने।

यसैगरी वसन्तपुरमा मतदान गर्न आएका ७५ वर्षीया वृद्धा गायत्री शर्माले भने जनताको अपेक्षा नेतृत्व पुरा गर्न नसकेको दुखेसो गरिन्। हामीले त असल नै भनेर भोट दिएपनि जितपछि भने उनीहरूले हाम्रो चाहना पुरा गर्न नसकेको बताइन्। 'भोट माग्न आउँदा त मिठो बोल्छन्। असल नै देखिन्छन्। जितेपछि नाम मुखै देख्न गार्हो हुन्छ बाबै', उनले भनिन्, 'यसपाली पनि अपेक्षा छ। हेरौं काम गर्छन्, गर्दैनन्', उनले भनिन्।

‘धेरै पटक भोट दिइसके,योग्य व्यक्ति चुनियोस भन्ने अपेक्षा लिएका छौँ,कसले काम गर्छ उसैलाई भोट दिने हो,’उनले भनिन्।  ललितपुरमा  मतदान केन्द्रमा भेटिएकी हिरालक्ष्मी ब्यान्जनकारले पनि ललितपुरमा सक्षम र योग्य व्यक्ति आउनुपर्ने बताइन्। 

त्यस्तै, पद्मकन्या क्याम्पसमा भेटिएका हितमान गुरुङ भने आफ्ना लागि भन्दा पनि आफ्ना सन्ततिका लागि भोट दिन आएको बताउँछन्। पञ्चायतदेखि आजसम्म देश बन्छ कि भन्दै धेरै पटक भोट दिँदै आएका हौं। यसपाली पनि त्यहि अपेक्षा छ। नेतृत्वले हाम्रो लागि भन्दा पनि सन्ततिको भविष्य सुनिश्चित गरिदिए हुन्थ्यो भन्ने लाग्छ। 

'हामी त अब डाँडाका घाम भयौं। हाम्रा सन्ततिले दु:ख नपाउन भनेर असल नेतृत्व चुन्न आएका हौं। देशमा नीति र विधि बसाल्न जरूरी छ। यसका लागि हाम्रो मत अमूल्य छ', उनले भने, 'यसकारण पनि बिरामी शरीर बोकेर भोट हाल्न आएको हुँ।' 

महानगरपालिकाका अर्का मतदाता विश्व बहादुर खत्रीले भने,‘हाम्रो वडाको लागि पनि राम्रै व्यक्ति आउलान् भन्ने आशा छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.