|

कञ्चनपुर : स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाकी १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी छन्।

मतदान अधिकृत महेशराज भट्टका अनुसार बैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उनले ७ः१५ मिनेट जाँदा पहिलो मत खसालेकी हुन्। यशोदाका छोरा जनकराज पनेरुले उनले रुचाएका उम्मेदवारलाई मतदान मतदान गर्न सघाएका छन्। पञ्चायती शासनदेखि हालसम्म निरन्तर रूपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताइन्।

‘गाउँको विकासमा योगदान दिन सक्ने उम्मेदवारलाई मतदान गरे’, उनले थाहा खबरसँग भनिन्, ‘सबैजनाले योग्य उम्मेदवारलाई मतदान गरी पुण्य कमाउनु पर्छ । मतदान गर्नु पनि तीर्थ गए सरह नै हो । विजयी हुने उम्मेदवारले मतको कदर गरी नाम कमाउनु पर्छ।’

‘मतदान गर्ने आमाले इच्छा व्यक्त गरिन्’, उनका छोरा जनकराजले भने, ‘मोटरसाइकलमा बोकेर मतदान केन्द्रसम्म पुर्‍यायौं‚ मतदानछि घर पुर्‍याएका छौं।’ मतदान गर्न पाउँदा यशोदा निकै खुसी देखिएकी छिन्।

अहिलेसम्म कञ्चनपुरमा ४० प्रतिशत मतदान

कञ्चनपुरमा अहिलेसम्म ४५ प्रतिशत मतदानको कार्य सम्पन्न भएको छ। एक दुई ठाउँमा सामान्य विवाद बाहेक जिल्लामा शान्तिपूर्ण रूपमा मतदानको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए।

‘पानी पर्ने क्रममा मतपेटिका बाहिरभित्र गर्दा भीमदत्त नगरपालिका–९ मटैनामा केही विवाद भएको थियो’, उनले भने, ‘पानी पर्ने क्रम रोकिएसँगै छलफल गरी विवाद साम्य भई मतदानको कार्य चालू भएको छ।’

पुनर्वास नगरपालिका–१० मा केही विवाद देखिएकाले मतदानको कार्य रोकिएको उनले बताए। विवाद साम्य गर्नका लागि छलफल भइरहेकाले केही बेरमै मतदानको कार्य सुचारु हुने जानकारी पाइएको उनले बताए।

जिल्लाभरी मतदानको कार्यमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। पानीको पर्वाह नगरीकनै पनि मतदाताले मतदान गर्ने कार्यलाई निरन्तरता दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.