|

काठमाडौं : सडकमा चहलपहल कम छ। केही मानिस कसलाई भोट हाल्ने भनेर सल्लाह गर्दै मतदान स्थलतिर जाँदै छन्। केही मानिस भोट खसालिसकेर बूढीऔँलाको नीलो मसी हेर्दै फर्कँदै छन्। त्यही सडक छेउमा आधा सटर खुलेको चियापसल छ। चियापसलमा एउटा पुरानो रेडियोमा समाचारको हेडलाइन बज्दै छ, 'मतदाताको उत्साहजनक उपस्थितिमा स्थानीय निर्वाचन हुँदै..'

डिकुमायालाई आज अलिकति फुर्सद छ। ग्याँसको चुलो, चुलो राखेको टेबल, चिनी, चियापत्ती लगायतका वस्तु राखेका बट्टा, बट्टा राखेको ठाउँ सबै एक एक गर्दै सफा गर्दै छिन्। आज स्थानीय तहको चुनाव हो भन्ने उनलाई थाहा छ। तैपनि रामेछाप खाँडादेवी गाउँपालिकाकी मतदाता डिकुमाया भोट हाल्न गइनन्। उनलाई जाऊँ जाऊँ पनि लागेन। 

'म एकजनाले नहालेर के बिग्रिने हो र? श्रीमान् जानुभएको छ। एउटा जहानमा एकजनाले हाले त भइहाल्यो नि। जहानै लिएर हिँड्न गाह्रो पनि हुन्छ'‚ उनी भन्छिन्, 'अलिकति खर्च बच्यो भने पनि यता सटर भाडालाई थपथाप हुन्छ। दुईचार कप चिया गयो भने पनि राम्रै हुन्छ।' 

लोकतान्त्रिक देशमा एउटा पर्वको रूपमा लिइने निर्वाचनले डिकुमायामा कुनै उत्साह ल्याउन सकेन। २०७९ वैशाख ३० गते उनका लागि अन्य सामान्य दिन जत्तिकै छ। बरु चुनावका कारण व्यापार कम छ। कहिले चुनाव सकिन्छ र अलि बढी आम्दानी हुन्छ भन्ने प्रतीक्षामा उनी छिन्।

'अस्ती आमा विरामी हुँदा धेरैसँग सहयोग माग्यौँ। कसैले केही गरेन। सबै आफैँले गर्नुपर्‍यो। चुनाव अगाडि आएर हजार पन्ध्र सय बाँडेर खुट्टा ढोगेर के हुन्छ र?' उनी भन्छिन्, 'सबै आफैँले नै गर्ने रहेछ। त्यही भएर मलाई यस्ता चुनाव सुनावको वास्तै लाग्दैन।'

स्थायि बसोवास सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका भएका दंगाल दम्पती उद्धवबहादुर र सन्ध्याको मतदाता नामावलीमा नामै छैन। मध्य बानेश्वरको मध्य भागतिर रहेको उनीहरूको पानीपुरी, चटपटे र केही किराना सामग्री रहेको पसल चुनावका दिन पनि खुला छ।

उद्धव भन्छन्, 'जसलाई भोट हाले पनि उस्तै हो। नेताहरू बोल्ने मात्रै हुन्। आफ्नै लागि मात्रै गर्छन् हाम्रा लागि गर्ने केही होइनन्। त्यही भएर मतदाता परिचयपत्र पनि बनाइएन, भोट पनि हालिएन।' 

गुल्मी तम्घासका निराजन पन्थी पनि यसपालिको चुनावमा भोट हाल्न गएनन्। उनको मतदाता नामावलीमा नाम थियो। विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूले गाडीको व्यवस्था गरिदिँदा पनि आफू भोट हाल्न नगएको उनी बताउँछन्। 

'पहिलो कारण त अफिस छ। आज एकदिन मात्रै छुट्टी थियो। एकदिनमा त्यति टाढा पुगेर आउन सम्भव छैन। अर्को कुरा मेरो ठाउँबाट उठेका उम्मेदवारमा मलाई कोही पनि योग्य लागेन'‚ उनी भन्छन्, 'हो‚ यो मान्छेले गर्छ। यसलाई जिताउनु पर्छ भन्ने जस्तो कोही मान्छे उठेको भए म एकदुई दिन मिलाएर पनि जान्थेँ होला। कुनै पार्टीले प्रायोजन गरेको गाडीमा उनीहरूले खुवाएको खाना खाएर जान मेरो नैतिकताले दिएन। म ग्यारेन्टीका साथ भन्छु यस्तो अवस्था मेरो मात्रै होइन धेरै युवाको छ।' 

त्यस्तै काठमाडौंमा तरकारी व्यवसाय गर्दै आएका दार्चुलाका विक्रम साउद मतदान गर्न गाउँ जाने तयारीमा थिए तर अन्तिम अवस्थामा गाडी नपाएपछि उनले नजाने निर्णय गरे। उनी भन्छन्, 'पहिले जाने नजाने दोधारमै थिएँ। अन्तिममा जाने भनेर तयारी गरेको थिएँ। गाडी पाइएन। जसलाई मैले आफ्नो उम्मेदवार मानेको थिएँ उहाँलाई नैतिक समर्थन मात्र गर्न सकेँ।' 

निर्वाचनकै दिन सयौँ युवाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भरेका छन्। नेपालमै रहेर पनि मतदानका लागि आफ्ना ठाउँ जान नसक्नेको संख्या पनि ठूलो छ। त्यति मात्र होइन नेपालका लाखौँ जनता विदेशमा छन् जो आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित छन्। उनीहरूलाई सम्बोधन गर्नबाट राज्य चुकेको छ। मतदान भएका धेरै ठाउँमा झडप भएको छ, कतै मतदाता, कतै उम्मेदवारका टाउका, कतै मतपेटिका फोरिएको छ।

यस्तै यस्तैमा स्थानीय निर्वाचन २०७९ सकिएको छ। यसको सफलता, असफलता भने केलाउन बाँकी छ। समीक्षा हुन बाँकी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.