काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजको निर्वाचनमा देखिएको उत्साहपूर्ण जनताको उपस्थितिले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका छन्।
स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गरेका छन्।
पार्टीको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, ‘शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु।’
मतदान कार्यमा अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उत्साहजनक सहभागिता जनाइ मतदान गर्नु हुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसको तर्फबाट धन्यवाद समेत दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।