|
तस्वीर सौजन्य : रोयटर्स

फिनल्यान्ड उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्य बन्नु आफ्ना लागि सामरिक खतराको घन्टी भएको रुसले जनाएको छ। रुसले युरोपमा गरिने नेटोको विस्तारले युरोप र विश्वलाई असन्तुलित बनाउने चेतावनी पनि दिएको छ।

फिनल्यान्ड अमेरिका नेतृत्वको सामरिक संगठन नेटोको सदस्यता लिने प्रक्रिया शुरु गर्न लागेको वेलामा रुसले अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुलाई यस्तो चेतावनी दिएको हो।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रुसका विदेश प्रवक्ता दमित्री पेस्कोवले नेटोको सदस्यता लिनका लागि फिनल्यान्डले उठाएको कदमले प्रतिकारात्मक प्रतिक्रिया निम्त्याउने र त्यसबाट पछुताउने अवस्था आउने चेतावनी दिए। 

फिनल्यान्डका राष्ट्रपति र प्रधानमन्त्री दुवैले बिहीबार बिहान नेटोको सदस्यता लिन फिनल्यान्डले ढिलाइ नगर्ने बताएका थिए।

फिनल्यान्ड नेटोको सदस्य बन्नु के रुसका लागि खतरा हो भन्ने प्रश्नको जवाफमा पेस्कोवले भने‚ ‘पक्कै पनि। नेटोको विस्तारले हाम्रो महादेश ९युरोप० लाई अस्थिर र असुरक्षित बनाउँछ।’

उनले फिनल्यान्डमाथि रुसविरुद्ध विद्वेशपूर्ण कदम चालेको आरोप लगाए। यसको प्रतिकारमा रुसले के गर्छ भनि सोधिएको प्रश्नमा उनले भने‚ ‘रुसले उठाउने कदम यो संगठन (नेटो) को क्रियाकलापमा भर पर्छ। जुन परिमाणमा नेटोले हाम्रो सीमानजिक सामरिक संरचना परिचालन गर्छ‚ हामीले चाल्ने कदम पनि त्यसमा नै निर्भर हुन्छ।’

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण नगरुन्जेलसम्म फिनल्यान्डले कुनै पनि सैनिक संगठनसँग आबद्ध नभएर तटस्थताको नीति अँगाल्दै आएको थियो। फिनल्यान्ड–रुसबीच १ हजार ३ सय ४० किलोमिटर (८ सय ३० माइल) लामो सिमाना छ।

फिनल्यान्डले यसै वर्ष नेटोको सदस्य बन्ने सम्भावना छ। ऊसँगै छिमेकी स्विडनले पनि नेटोको सदस्यता लिने भएको छ। स्विडनले पनि सैनिक संगठनहरुसँग आबद्ध नहुने र रुससँग तटस्थताको नीति अँगाल्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.