|

बागलुङ : ढोरपाटन नगरपालिकामा झडप हुँदा मतगणना प्रभावित बनेको छ। मत गणनाको विषयमा दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको हो। झडपमा दुई जना घाइते भएका छन्। जस मध्ये एकको अवस्था गम्भीर छ।

झडपमा ढोरपाटन नगरपालिका- २६ वर्षीय भीमबहादुर विक र वडा- १ का ४० वर्षीय खुमबहादुर विक घाइते भएका छन्। घाइते भिम बहादुरको अवस्था गम्भीर छ।

उनलाई हेलिकप्टरमार्फत पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तीवाङका प्रमुख राजेशकुमार शर्मा अधिकारीले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको थियो। झडपका कारण शनिबार दिउँसोसम्म पनि मतगणना भएको छैन। मत गणनाका लागि गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीको भनाई छ।

निर्वाचन कार्यालय ढोरपाटनका निर्वाचन अधिकृत लाल सिंह थापाले सर्व दलीय बैठक राखेर तत्काल मतगणना गरिने बताउँछन्। शुक्रबार ढोरपाटनको सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो। ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको ढोरपाटनमा १२ हजार १ सय मत खसेको थियो। जुन ६९.१३ प्रतिशत हो।

ढोरपाटनमा नगरपालिकामा कुल मतदाता १७ हजार ६ सय ३० रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.