काठमाडौं : शुक्रबार मतदान स्थगित भएका ४ मतदान स्थलमा आज पुनः मतदान भएको छ।
आज पुनः मतदान भएका सबै ४ मतदान स्थलका ६ वटा केन्द्रमा सामान्य तवरले मतदान सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा आज पुनः मतदान भएको हो। बझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि आजै मतदान सम्पन्न भएको छ।
आयोगले गत शुक्रबार स्थगित भएका ६ जिल्लाका १० मतदान स्थलको पुनः निर्वाचनको मिति तोकेको थियो। जसअनुसार ५ मतदान स्थलमा भोलि र एक मतदान स्थलमा पर्सि जेठ ३ गते मतदान हुँदैछ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका र तुलसीपुर उपमहानगरपालिका-१७ मा पनि भोलि मतदान हुँदैछ। यी दुइ स्थानका एक एक जना उम्मेदवारको मृत्यु भएपछि मतदानको दिन पछाडि धकेलिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।