|

काठमाडौं : बुद्धजयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्।

सोमबार बिहान ११ बजे भारतीय सेनाको हेलिकप्टरमार्फत उनी लुम्बिनी आइपुगेका मोदी ६ घण्टा लुम्बिनीमा बिताएर उनी स्वदेश फर्किएका हुन्।

लुम्बिनी आइपुगेलगत्तै उनले मायादेवीको मन्दिरमा गएर पूजा गरेका थिए। उनलाई अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्ष्यालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए।

विशिष्ट अतिथि मोदीलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गरेका थिए।

उनलाई बिदाइमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायत पनि उपस्थित थिए। एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आएका थिए।

लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीचको सम्बन्ध हिमालजस्तै अटल रहेको समेत बताएका थिए। यस्तै मोदीको लुम्बिनी भ्रमणका क्रममा  नेपाल र भारतबीच ६ वटा समझदारी (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा सम्बन्धित देशका अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सोमबार बुद्धिस्ट अध्ययनको लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने समझदारीपत्रमा लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी र इण्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर) बीच हस्ताक्षर भएको हो।

यस्तै भारतीय अध्ययनका लागि आईसीसीआर चेयरको स्थापनासम्बन्धी समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालय र आईसीसीआरबीच हस्ताक्षर भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.