|

रुकुम (पूर्व) : भूमे गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्र–एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। भूमे–४ मा माओवादी केन्द्र–एमाले गठबन्धनको प्यानल विजयी भएको हो।

माओवादी केन्द्र–एमाले गठबन्धनमा एमालेको तर्फबाट वडाध्यक्ष पद र अन्य चार वडा सदस्य माओवादी केन्द्र तर्फबाट उम्मेदवारी दिएका थिए भने कांग्रेसले एकल उम्मेदवार दिएको थियो।

माओवादी केन्द्र–एमाले गठबन्धन वडाध्यक्षमा एमालेका श्यामप्रसाद बुढा निर्वाचित भएका छन्। बुढाले निकटतम प्रतिस्पर्धी कांग्रेसका चंखबहादुर बुढा मगरलाई पराजित गरेका हुन्। निर्वाचित बुढाले २ सय ८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका चंखबहादुरले २ सय ४५ मत प्राप्त गरेका छन्।

हाल वडा नम्बर ३ को मत गणना भइरहेको छ। यस वडामा माओवादी केन्द्रको विरुद्ध कांग्रेस–एमाले गठबन्धन गरेका छन्। कुल १ हजार ७१ मत खसेकोमा हाल ३ सय मत गणना हुँदा माओवादी केन्द्रका प्यानलले अग्रता लिएको छ।

माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार परशुराम बुढाले १ सय ५१ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्ष उम्मेदवार भीमबहादुर पुनले एक सय ६ मत प्राप्त गरेका छन्। 

पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रकै अग्रता कायमै रहेको छ। माओवादी केन्द्रका पालिका अध्यक्ष उम्मेदवार होम प्रकाश श्रेष्ठले २ हजार ४ सय ६४ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका कमान पुनले ५३ मत र मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढाले २ सय ४५ मत प्राप्त गरेका छन्।

यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रका सविना बुढा मगरले २ हजार ४ सय ४९ मत प्राप्त गर्दा एमालेका कमानसिंह डाँगी क्षेत्रीले ६ सय ५५ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.