|

बैतडी : बैतडीका ८ ओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। १० स्थानीय तह रहेकोमा   जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य पालिकाको मत परिणाम सार्वजनिक भएको हो।

सार्वजनिक  मत परिणाम अनुसार नेपाली कांग्रेस  र नेकपा एमालेले तीन/तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ। नेकपा एकीकृत समाजवादीले भने एक पालिकामा पनि जित हात पार्न सकेन।

नेपाली कांग्रेसले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा जित हात पारेको छ भने एमालेले दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हात पारेको छ। यस्तै,माओवादी केन्द्रले मेलौलीमा र स्वतन्त्रले डिलाशैनीमा जित हात पारेको छ। 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी भएकी छिन्। शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँद र उपाध्यक्षमा एमालेका शकुन्तला साउँद विजयी भएका छन्। मेलौली नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) र उपप्रमुखमा नेपाली कांग्रेसका पार्वती बोहरा बिष्ट विजयी भएका छन्। 

यस्तै,दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा कांग्रेसका कौशिला चन्द विजयी भएका छन्। पाटन नगरपालिकाको प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा विजयी भएका छन्। 

 सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएका छन्। सिगासमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी भएका छन्। 

यस्तै,डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन्। दोगडाकेदार र पुर्चौडीमा मतगणना कार्य जारी रहेको छ। 

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख ,१० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरि ४ सय ४० जना जनप्रतिनिधि छनौट हुँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.