|

ललितपुर : धापाखेलका राजु महर्जन ४ दिनयता दैनिक जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान आइपुग्छन्। ललितपुर महानगरपालिकाको मतगणना भइरहेको प्रतिष्ठानको बाहिर बसेर भित्रको नतिजा थाहा पाउने तथा परिवार, आफन्त र साथीभाइलाई जानकारी दिनु उनको दिनचर्या बनेको छ। 

आफूले भोट हालेको पार्टीका समर्थकसँग दिनदिनै बसेर चिया खाँदै दिन कटाएको महर्जन बताउँछन्। स्नातकोत्तर अध्ययनरत उनी आफूले भोट दिएका व्यक्तिले जित्लान् कि नजित्लान् भन्ने चासोले घरमा बस्न नसकेको सुनाउँछन्। मत परिणाम आउन ढिला हुँदा महर्जन र उनीजस्तै चुनावको परिणाममा चासो राख्ने सबै हैरान छन्। कर्मचारी थपेर पनि चाँडो गणना सक्नुपर्नेमा उनको जोड छ।

अहिले २ र ३ वडाको मत गनिरहेकाले र आफ्नो वडा २४ नम्बरमा पुग्दा अझै धेरै दिन लाग्नसक्ने महर्जन बताउँछन्। उनले भने, ‘गर्भमा बसेको बच्चा १०/११ महिनासम्म जन्मन नपाएको जस्तो भयो, भोट हालेको १०/१५ दिन कुर्नुपर्ने भयो।’

गाबहालकी सुनिता शाक्य पनि सन्तान बोकेरै जावलाखेल पुगेकी देखियो। आफ्नो दिदी नै उम्मेदवार भएकाले चासो बढी लागेको उनी बताउँछिन्। चर्को घाममा छाता ओढ्दै शाक्य मत परिणामको प्रतीक्षामा थिइन्। चाँडो नतिजा आए जे भए पनि ढुक्क हुने उनको भनाइ छ। 

देशभरका विभिन्न पालिकामा जस्तै ललितपुरका पालिकामा पनि मतगणना सुस्त हुँदा यहाँका मतदाता हैरान छन्। आफूले भोट हालेको ४ दिन बित्दा पनि आफ्नो वडाको मतगणना शुरु नहुँदा उनीहरु दैनिक मतगणनास्थल आउने जाने गरेका छन्। सञ्चारमाध्यमबाट मत परिणाम घोषणा हुनासाथ थाहा नहुने भएकाले आफू दैनिक मतगणनास्थल पुगेको भेटिने मतदाता बताउँछन्। 

महालक्ष्मी नगरपालिकाको मतगणनास्थल इमाडोलमा भेटिए टीकाथलीका महेश अधिकारी। शनिबारदेखि नै बिहानै आएर साँझसम्म पनि मतपरिणाम के आउँछ भनी कुरेर बसिरहेका उनको पनि उस्तै भनाइ छ। आफूले मतदान गरेको पार्टीले जित्ने आधार देखिएकाले पनि कुरेर बसेको अधिकारी  बताउँछन्। सिङ्गो पालिकाको अन्तिम परिणाम र आफू बस्ने वडाको परिणाम के आउला भन्ने चासो उनलाई छ। अधिकारी भन्छन्, ‘अब सबैले जितेपछि वा हार्ने निधो भएपछि मात्र आउन छोड्ने हो।’

मतगणना सुस्त भएको र बाहिर परिणाम दिन अझै ढिलाइ भएको भन्दै अधिकारी निर्वाचन आयोगले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिए। अहिलेसम्म जम्मा एउटा वडा मात्रै मत गणना सकिएकाले सबै सक्न अझै हप्तौं लाग्नसक्ने देखिएको छ।

आफूले हालेको मतको परिणाम थाहा पाउनका लागि धेरैजना घामपानी र दिनरात नभनी लागेको उनी बताउँछन्। उनले भने, ‘जसले जिते पनि अन्तिम रिजल्ट आए त हामी आआफ्नो काममा फर्कन पाउँथ्यौँ।’

टेलिभिजन र अनलाइनमा अरु जिल्लाका पालिकाको नतिजा हेरे पनि आफ्नो पालिकामा एउटा वडाको नतिजा आउनै दुई दिन लाग्दा महानगरवासी हैरान छन्। महानगरको मतगणनास्थल जावलाखेल, गोदावरी नगरपालिकाको गणना भइरहेको बज्रबाराही, महालक्ष्मीको इमाडोललगायत तीनवटै गाउँपालिकाको केन्द्रमा अहिले मतदाताको भीड छ। आफूले मतदान गरेको उम्मेदवारले जितेपछि खुसीयाली मनाउन बसेकाको प्रतीक्षाको अवधि लम्बिरहेको छ। कतिपयत  आफ्नो काम छाडेर पनि आउने गरेको बताउँछन्। 

जिल्लाका ६ पालिकामध्ये तीनवटै गाउँपालिकामा कम मतदाता भएकाले पनि धेरै समय नलाग्ने देखिएको छ भने नगरमा मतगणना सुस्त छ। शनिबार मतगणना शुरु भएकामा मङ्गलबारसम्म पनि कतिपय पालिकाको थोरै कम मात्रै मत गणना भएको छ। खासगरी ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा मतगणना सुस्त छ। दुवै पालिकामा हालसम्म एक/एक वडाको मात्रै मत गणना भएको छ। यही गतिमा मत गणना हुने हो भने दुवै पालिकामा अझै एक साताभन्दा बढी लाग्ने देखिएको छ।

मतगणनामा कर्मचारी पुगेनन् वा ठाउँको अभाव भयो भने व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला निर्वाचन कार्यालयको  भएको जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरे बताउँछिन्। जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक पर्दा जनशक्ति थप गर्नसक्ने भए पनि अहिलेसम्म कुनै पनि पालिकामा कर्मचारी पुगेनन् भनेर माग नभएको उनको भनाइ छ। 

ललितपुर महानगरपालिकामा शनिबार दुई ठाउँमा मात्रै गणना भएकामा आइतबारदेखि दुई ठाउँ थपेर अहिले ४ ठाउँमा गणना भइरहेको र महानगरको बढी मतदाता भएका वडामा बढी समय लागेको निर्वाचन अधिकृत घिमिरेको भनाइ छ।  

महालक्ष्मी नगरपालिकामा धेरै विवाद हुँदा मतगणनामा ढिलाइ भइरहेको उनको तर्क छ। वडा १ र १० गरी दुई ठाउँमा मतगणना शुरु गरिएकामा १० मा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएको भनी विवाद भएको थियो।

गोदावरी नगरपालिकामा अरु नगरपालिकाभन्दा छिटो मतगणना भएको पाइएको छ। ३ ठाउँमा मतगणना भइरहेकाले अबको १/२ दिनमा सकिने अधिकृत  घिमिरेको जोड छ। गाउँपालिकामध्ये कोञ्ज्योसोम गाउँपालिकामा एउटा वडामा थोरै मत मात्रै गणना गर्न बाँकी भएकाले आजै परिणाम आउन सक्ने देखिएको छ।

अहिलेको गतिमा हुँदा बागमती गाउँपालिकामा चाँडै परिणाम आउनसक्ने देखिएको छ। शुरुमाभन्दा अहिले कार्यरत कर्मचारीको पनि गति बढेको अधिकृत  घिमिरे बताउँछिन्। शुरुका दिनमा ७/८ घण्टाको एक सिफ्टमा ५ सय मतपत्र गनिने गरेकामा अहिले ७/८ सय मत गणना भइरहेको छ।

७१ वडा रहेको ललितपुरमा अहिलेसम्म झण्डै आधाको मत परिणाम आउन बाँकी छ। महानगरपालिकामा ४ र महालक्ष्मी नगरपालिकामा एउटा र गोदावरी नगरपालिकामा ९ वडाको गणना सकिएको छ। दक्षिण ललितपुरका गाउँपालिकामध्ये कोञ्ज्येासोम र महाङ्काल गाउँपालिकाकै मत परिणाम आइसकेको छ भने बागमती गाउँपालिकामा दुई वडाको परिणाम आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.