|

चितवन : कारागार कार्यालय चितवनमा हाल ७ सय ४१ कैदीबन्दी छन्। तीमध्ये जबरजस्ती करणीका कैदीबन्दी सबैभन्दा बढी रहेको जनाइएको छ। कारागारमा जबरजस्ती करणीका २ सय ८ जना कैदीबन्दी रहेका छन्। अन्य कैदी १ सय ४८ जना र बन्दी ६० जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

उनीहरूमध्ये एक महिला बन्दी छन्। कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका छन्। यस कारागारमा दोस्रो ठूलो संख्यामा लागुऔषधसम्बन्धी कसुरका कैदीबन्दी छन्।

लागुुऔषधसम्बन्धी कसुरका १ सय ४० कैदीबन्दी रहेको उनले बताए। लागुऔषधसम्बन्धी कसूरमा १० महिला र १ सय ३० पुरुष कारागारमा छन्। उनीहरू २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ।

कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ जना महिला गरी १०२ जना छन्। गैँडाको खाग बिक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ रहेको कार्यालयले जनाएको छ।

यस्तै अन्य डाँका, ज्यान मार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव बेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठ चोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौवध, खोटा चलान, बहुविवाह, सैनिक ऐन/प्रहरी, सम्पत्ति शुद्धीकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा छन्। आचार्यका अनुसार उनीहरूसँगै दुईजना आश्रित नाबालिका रहेका छन्।

यो कारागारमा चितवनसहित ३ जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिए। मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको उनले बताए। स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ।

नवलपुरमा आफ्नो कारागार कार्यालय नहुँदा यहाँ कैदीबन्दीको चाप बढेको हो। यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। २ सय ५५ जनाको क्षमता रहेको पुरुष कैदी बन्दी गृहमा ६ सय ९० जना र २५ जना कैदीबन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.