|

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।

क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएकाे हाे।

एमालेले आफ्नो उम्मेदवार १ मतले विजयी भएपनि निर्वाचन अधिकृतले पक्षपात गरेर कांग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएकाे छ।

एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखिएकाे छ।

उता, कांग्रेसले मतगणना निष्पक्ष भएको र उम्मेदवार विजयी घोषित हुनुपर्ने अडान राखेको छ।  दुई पक्षीय अडानको कारण मतगणना स्थल तनावग्रस्त बनेको छ।

एमालेका नेता वडा नम्बर ५ का उम्मेदवार राजनारायण प्रसाद गुप्ता (राजु)ले भने, ‘ठीक छ कांग्रेसले नै जिते पनि विवाद भएको ठाउँबाट पुनः मतगणना गरिनुपर्ने हाम्रो माग छ, हामीलाई चित्त बुझाउनु निर्वाचन आयोगको दायित्व पनि हो, त्यसैले मतगणना एकपटक फेरि हुनुपर्छ।’

त्यस्तै, कांग्रेसका वडा ५ का उम्मेदवार जीवछ मण्डलले आयोगको निर्णयकाे प्रतीक्षामा रहेको बताए। उनले भने, ‘हामी कानून बमोजिम निर्वाचन आयोगले भनेको मान्न तयार छौँ, हाम्रो कुनै अडान छैन, नियमानुसार आयोगको निर्णयको प्रतीक्षामा छौँ।’​

क्षीरेश्वरनाथ नगरपालिकाका निर्वाचन अधिकृत विकास बस्नेतले दुबै समूहबीच  छलफलको वातावरण बनाइरहेको बताए। उनले दुवै पक्षलाई छलफलमा राखी सहमतिमा कानून अनुसार गरिने  जानकारी दिए।

मतगणना स्थलको अवस्था तनावग्रस्त रहेकाले सुरक्षा व्यवस्था पूर्ण रुपमा कडा गरिएको र अहिले व्यापक रूपमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.