|

काठमाडौं : नेपाल​ युगान्डाविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार दोस्रो हार खेपेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १ विकेटले पराजित भएको हो।

नेपालले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको युगाण्डाले १९ दशमलव ५ बलमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो। युगाण्डाकी रिता मुसमालीले सर्वाधिक ३० रन जोडिन्। फ्रान्कलिन नज्जुम्बाले १९ र जेनेट मबाब्जीले १६ रनबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका कविता कुँवर र सबनम राईले २/२ विकेट लिँदा रुबिना चौधरीले एक विकेट हात पारिन्।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन जोड्यो। नेपालका बिन्दु रावलले सर्वाधिक २६ रनको योगदान गरिन्। ३६ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन्।

सरिता मगरले २२ रनको योगदान गरिन्। कप्तान रुबिना क्षेत्री १७ रन बनाएर रन आउट भइन्। डोली भट्टले अविजित ९ रन बनाइन्। ७ बलको सामना गरेकी उनले १ छक्का हिर्काइन्। सिता रानामगर ६ रन जोडेर रन आउट भइन्। ईन्दु बर्माले ५ तथा अप्सरी बेगमले ३ रन जोडे।

बलिङतर्फ युगाण्डाकी जेनेट मबाब्जीले सर्वाधिक २ विकेट लिइन्। एभलिन एनिपो,  रिता मुसमाली र कन्सिए अबेकोले १/१ विकेट लिए।

युगान्डाविरुद्धको पहिलो टी–२० मा सोमबार नेपाल १२ रनले पराजित भएको थियो। नेपालले अब बिहीबार तेस्रो टी-२० मा युगान्डासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल युगान्डा दुवैले चौथो टी-२० जेठ ६ गते र अन्तिम टी-२० जेठ ७ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.