अहिलेसम्म चार वडाध्यक्ष र १९ सदस्य निर्वाचित

|

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको गृहजिल्लामा पार्टीको मत परिणामको नतिजा अघिल्लो निर्वाचनको भन्दा कमजोर देखिएको छ। 

२०७४ सालको स्थानीय निर्वाचनमा राप्रपाले तीन पालिकाको प्रमुख पदसहित धेरै वडामा विजयी भएको हो। योपल्ट निर्वाचनपछिको मत परिणाम हेर्दा राप्रपा हल्दिबारी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र दमक नगरपालिकाको मेयर पदबाहेक अन्य कुनै पालिकाको प्रमुख पदमा अगाडि देखिँदैन।

हल्दीबारी राप्रपा अध्यक्ष लिङदेनको गृहपालिका हो। गाउँपालिकाका अध्यक्षमा उनका भाइ रवीन्द्र लिङदेन पुनः उठेका छन्। रवीन्द्र एमालेका उम्मेदवार डम्बर गिरीभन्दा झन्डै १५ सय मतले अगाडि देखिएका छन्। राप्रपाले २०७४ को निर्वाचनमा वडा नम्बर ५ जितेको थियो।

उता दमकमा राप्रपाले काँग्रेस र माओवादीसँग चुनावी तालमेल गरेको छ। राप्रपाबाट मेयरमा उठेका रामकुमार थापा एमालेकी उम्मेदवार गीताकुमार पौडेल अधिकारीभन्दा झन्डै ५ सय मतले अगाडि छन्। यी दुई पालिकामा मात्र उठेका उम्मेदवार प्रमुख पदमा अगाडि छन्। भद्रपुर नगरपालिकामा राप्रपाकी राधा कार्की तेस्रोबाट दोस्रो स्थानमा आएकी छिन्। कार्कीको मत परिणाम हेर्दा छिट्टै पहिलो स्थानमा आउने सम्भावना बढेर गएको देखिन्छ।

२०७४ सालको निर्वाचनमा राप्रपाले कचनकवलमा अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा जितेको थियो। वडा नम्बर १, ३ र ५ मा वडाध्यक्षसहित सदस्यहरू पनि जितेका थिए। त्यति मात्र नभर गाउँपालिकामा राप्रपाको बहुमत थियो तर यसपालिको चुनावी नतिजाअनुसार कचनकवलमा राप्रपाले २ नम्बर वडामा एउटा दलित महिला सदस्य मात्र जितेको छ। राप्रपाले जितेको वडामा योपल्ट काँग्रेसको प्यानलै निर्वाचित भएको छ।

गौरीगञ्जमा पनि राप्रपाले २०७४ मा अध्यक्ष पद जितेको थियो। यो वर्ष पनि राप्रपाले निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठलाई अध्यक्षमा उठाएका छन्। पछिल्लो मत परिणामको नतिजा हेर्दा श्रेष्ठ चौथो स्थानमा देखिएका छन्। त्यस्तै दमक वडा नम्बर १ र ७ मा पनि राप्रपाले जितेको थियो।

योपल्ट दमक १ एमालेले जितिसकेको छ। ७ नम्बरको मतगणना बाँकी छ। अघिल्लो निर्वाचनमा बिर्तामोड नगरपालिका ८ मा राप्रपाले वडाध्यक्ष जितेको थियो। राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका अजय कार्की पुनः राप्रपाबाटै वडा अध्यक्षमा उठेका छन्। ८ नम्बरको मतगणना बाँकी छ। 

झापा राप्रपाले कहाँ कहाँ जित्यो 

झापाका १५ पालिकाको १३१ वडामध्ये राप्रपाले हालसम्म चारवटा वडाध्यक्ष र १९ सदस्य जितेको छ। राप्रपाले हल्दीबारी १ र ४ नम्बर वडामा प्यानलै जितेको छ। १ नम्बर वडाका निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै राप्रपाका देवीबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले सापकोटालाई ३६८ मतान्तरले हराएका हुन्। थापाले १९६८ र सापकोटाले १६०० मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रूपादेवी रसाइली निर्वाचित भएका छन्।

४ नम्बर वडामा निवर्तमान वडाध्यक्ष नेपाली काँग्रेसका होमप्रसाद चूडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन्। थापाले १०७२ र चूडालले ७९८ मत ल्याएका छन्। चूडालभन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए। मेचेले ८१६ मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल, सुरेन्द्र बाह्रकोटी, भगीरथा दाहाल र शान्तादेवी विश्वकर्मा निर्वाचित भएका छन्।

त्यसैगरी एमालेलेको लालकिल्ला भनेर चिनिने बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा राप्रपाको प्यानलै निर्वाचित भएको छ। राप्रपाबाट उम्मेदवार बनेका वीरबहादुरसिंह राजवंशी वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन्। ५ नम्बरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको वडा हो। त्यस वडामा २०३८ सालदेखि एमालेले किल्ला जमाएर बसेका थिए। यस पालिकाको चुनावमा राप्रपाले एमालेको लालकिल्ला भत्काइदियो।

राजवंशीले १२०८ र खरेलले १११६ मत ल्याएका छन्। त्यस्तै वडा सदस्यमा राप्रपाका जयप्रसाद तिम्सिना ११०५, श्रीइच्छाबहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुकाकुमारी विक ११६५ मत ल्याएर विजयी भएका छन्।

त्यसैगरी काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले भद्रपुर वडा नम्बर ३ मा वडाध्यक्षसहित प्यानलै जितेको छ। राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय युवा हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका छन्। उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ र एमालेका कमला थुलुङलाई पराजित गरेका हुन्।

तामाङ काँग्रेसका वडा सभापति हुन् भने थुलुङ निवर्तमान वडाध्यक्ष हुन्। कार्की १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन्। त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन्। महिला सदस्यमा भुवामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याई राप्रपाबाटै निर्वाचित भएका छन्।

त्यस्तै भद्रपुर वडा नम्बर ५ मा खुला वडा सदस्य राप्रपाका जेष्ठमल ठाकुर निर्वाचित भएका छन्। ५ नम्बर राप्रपाले जित्ने दाबी गरे पनि वडाध्यक्षसहित तीन सदस्य काँग्रेसले जित्यो। राप्रपाबाट कचनकवल गाउँपालिका २ मा दलित महिला सदस्यमा अमृता बोगटी गन्धर्व निर्वाचित भएकी छिन्। २ नम्बरमा काँग्रेसले राप्रपाका निवर्तमान अध्यक्षलाई पराजित गरेको छ। बुद्धशान्ति गाउँपालिका २ मा राप्रपाबाट खुल्ला सदस्यमा विक्रम बोहोरा निर्वाचित भएका छन्।

यो प्रारम्भिक नतिजाको तथ्याङ्क भएकाले मतगणना सकिएपछि केही पालिकामा राप्रपाबाट सदस्य जित्ने सङ्ख्या बढ्न सक्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.