|

काठमाडाैं : स्थानीय चुनावमा सत्ता गठबन्धन विरुद्ध एक्लै भिडेको एमालेका धेरै गढ भत्किएका छन्। अघिल्लो चुनावमा एमालेले २९४ स्थानीय तहमा प्रमुख र अध्यक्ष जितेर पहिलो दल बनेको थियो भने कांग्रेस २६६ तहमा विजयी भएर दोस्रो दल बनेको थियो।

१०६ तहमा प्रमुख र अध्यक्ष जितेर माओवादी केन्द्र तेस्रो दल बनेको थियो। यो पटक एमालेलाई पुरानो विरासत जोगाउन सकस परेको छ। गठबन्धन गरेर चुनावमा होमिएका कांग्रेस र माओवादीले पनि यसअघि जितेका स्थानीय तहको नेतृत्व यो पटक गुमाएका छन्।

२०७४ को चुनावमा माओवादी केन्द्रले जितेको धनुषाको विदेह नगरपालिकाको नेतृत्व यो पटक एमालेले पोल्टामा परेको छ भने सर्लाहीको हरिहरपुर नगरपालिकामा एमालेको गढ भत्किएको छ।

खासगरी तराई भेगमा २०७४ सालमा जितेका दलले यसपाली त्यो विरासत थाम्न सकेका छैनन्। माओवादीकै बर्चस्व रहेको जनकनन्दनी गाउँपालिका यसपालि जसपाले बाजी मारेको छ। यसअघि मधेशवादी दलको हालीमुहाली रहेको लक्ष्मीनिया गाउँपालिका यसपाली कांग्रेसले बाजी मारेको छ।

सर्लाहीको हरिहरपुर नगरपालिकामा एमालेको गढ भत्किएको छ। यहाँ यसपाली कांग्रेस विजयी भएको छ। मधेसकेन्द्रित दलहरु सत्ता, स्वार्थ र नातावादमा रुमलिएकाले कांग्रेस, एमाले, माओवादी लगायतका दल रोज्न थालेको मधेसमै केन्द्रित पत्रकारहरू बताउँछन्।

एमालेकै बर्चस्व रहेको मकवानपुरको कैलाश गाउँपालिका अहिले कांग्रेसले जितेको छ। २०७४ सालमा पराजित भएको माओवादी केन्द्र सल्यानको वनगाड कुपिण्डे नगरपालिका यो पटक विजयी भएको छ। अघिल्लो पटक एमालेलाई जिताएका स्थानीयले यस पटक माओवादीलाई मौका दिए।

एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला र एमाले केन्द्रिय सदस्य गुलाब जंग शाहको नगरपालिकामा माओवादी आउनुलाई एमाले फुटको प्रत्यक्ष असरका रुपमा हेरिएको छ।

​अघिल्लो पटक काठमाडौं उपत्यकामा एउटा मात्र स्थानीय तह जितेर विरासत जोगाएको माओवादी केन्द्रले यसपटक भने पुरानो छाप छोड्न सकेन। ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा एमाले विजयी भएको छ।

छिमेकी महाङ्काल गाउँपालिकामा एमालेको किल्ला भत्काउँदै कांग्रेसले बाजी मारेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.