|

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी विद्यालय सञ्चालक प्याब्सन र एन-प्याब्सनले शिक्षकहरूसँग छलफल नगरी सरकारबाट भएको साताको दुई दिन सार्वजनिक बिदाबारे निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको छ।

शिक्षक युनियन (इष्टु)ले विज्ञप्ति नै जारी गरेर असन्तुष्ट व्यक्त गरेको हो। प्याब्सनले जेठ १ गते सरकारले गरेको साताको दुई दिने बिदा मान्ने र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निर्णयअनुसार अगाडि बढ्ने भनी विज्ञप्ति जारी गरेकाे थियाे। तर,शिक्षकसँग कुनै छलफल नै नराखी एकलौटी ढंगले निर्णय भएको इष्टुका अध्यक्ष होमकुमार थापाले बताए।

सरकारले समेत यस्ता संवेदनशिल विषयवस्तु लागू गर्नुभन्दा पहिला सरोकारवाला नियकायहरूसँग यथेष्ट छलफल,सम्वाद गर्न पनि जरुरी नठाने भन्दै उनले गुनासो गरे।

‘निजी विद्यालय सञ्चालक संस्था प्याब्सन र एन-प्याब्सनले शिक्षक आधिकारिक युनियन इष्टुससँग छलफल नै नगरी एकलौटी धारणा बनाउने,विज्ञप्ति निकाल्ने र शिक्षक प्रतिनिधि नराखी क्यालेण्डर बनाउने कामले केही असमझदारी ल्याउन सक्छ,अबदेखि यो कुरा सबैले मनन् गर्न जरुरी छ,’उनले भने।

सरकारले दिएको यो बिदा चित्त बुझ्दो नभएको पनि उनले बताए। यसले शैक्षिक क्षेत्रलाई असर पुग्ने उनको भनाइ छ। सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागू भइसकेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.