'गठबन्धन सफल भयो, संघीय चुनावमा पनि सँगै जान्छौँ'

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन्।

उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रियासमेत दिए। नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताए।

उनले भने,  ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ। धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे। हामी निर्णायक शक्ति हौँ। हामी स्थापित शक्ति हौँ। हाम्रो एजेण्डा देशमा स्थापित छ। त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ। अपेक्षा योभन्दा अझ राम्रो थियो। तर, हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरु मिलाउने, आन्तरिक मतभेदहरु मिलाउनेमा हामी सकेनौँ। नत्र योभन्दा राम्रो हुन्थ्यो।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए। केही ठाउँमा माओवादीलाई मत नहालिएको भए पनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ।

गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए। उनले भने, ‘कतिपय ठाउँहरुमा नहालेको पनि देखियो। तर धेरैजसो ठाउँमा गठबन्धन सफल नै भएको छ। यो प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन हो। यस अर्थमा यसको औचित्य अझैपनि छ। हामी एउटा निर्वाचनको लागि मात्रै गठबन्धन गरेको होइन। हामी प्रतिगमन रोक्न सफल छौँ। राजनीतिक स्थायित्वका लागि सफल छौँ। संविधानको रक्षाका लागि सफल छौँ।

अहिले स्थानीय निर्वाचनमा मुलत्ः सफल भएको छ। हामी यो गठबन्धन अगाडी लैजान्छौँ। केन्द्र, प्रदेशमा पनि जान्छ गठबन्धन। अहिले खासमा त २५ प्रतिशत मात्रै हो गठबन्धन गरेको। त्यसैले हामीले यसलाई यही कारणले हारेको वा यही कारणले जितिएको भन्न मिल्दैन। पार्टीहरुका आ–आफ्ना स्ट्रेन्थहरु छन्। आ–आफ्ना संगठनहरु छन्। आ–आफ्ना एजेण्डाहरु छन्। मुल कुरो पार्टीका आफ्नो शक्ति नै हो। र गठबन्धन एक चौथाइ मात्रै भयो। त्यसमा मुलत्ः सफल भएको छ।’

उनले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.