|

बैतडी : वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तरगत बैतडीका सबै पालिकाको मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले चारचार, नेकपा माओवादी केन्द्र र स्वतन्त्रले १/१ पालिकाका प्रमुख पदमा विजयी भएको छ।

कांग्रेस पुर्चौडी नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा विजयी भएको हो। एमाले दशरथचन्द नगरपालिका, पञ्चेश्वर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ।

नेकपा माओवादी केन्द्र मेलौली नगरपालिकामा र डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्। 
पुर्चौडीमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका दीपक बहादुर बम नगर प्रमुखमा विजयी भएका हुन् भने उपप्रमुखमा पनि कांग्रेसकै मिना धानुक विजयी भएका हुन्।

उनले नेकपा एमाले र माओवादी केन्द्रलाई पराजित गर्दै विजयी भएका हुन्।

नगर प्रमुखमा दीपक बमले ५८८० मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्ण बहादुर कुवँरले ३९६५ मत ल्याएका छन्। माओवादी केन्द्रका विक्रम कुँवर प्रतीकले ३९०६ मत ल्याएका छन्।

उपप्रमुखमा पनि धानुकले ५२०० मत ल्याएर विजयी भएकी हुन्। एमालेकी जानकी बोहरा साउँदले ४६१२ मत ल्याएकी छिन्। माओवादी केन्द्रकी नन्दा कुमारी शाहले ३९२३ मत ल्याएकी छिन्।

यसैगरी राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार तेज बहादुर ऐरले १९ मत पाए। स्वतन्त्रबाट नगर प्रमुखकका उम्मेदवार वसन्तराज जोशीले ६६ मत पाएका थिए भने स्वतन्त्र बाटै उपप्रमुख पदकी उम्मेदवार पार्वती धानुकले ५९  पाएकी थिइन्।

गत स्थानीय तहको निर्वाचनमा पुर्चोडीमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो।

पाटनमा नेपाली कांग्रेसका गोरी सिंह रावलले ६ हजार ८६९ मत ल्याएर विजयी भएका हुन्। नेकपा एमालेका नारायण भण्डारीलाई १ हजार ५७९ ले पछि पार्दै रावल विजयी भए।

शिवनाथमा नेपाली कांग्रेसका कर्ण सिंह साउँदले नेकपा एमालेका सकुन्तला साउँदलाई ३१६ मतले पछि पार्दै विजयी भएका हुन्। कांग्रेसका साउँदले ३ हजार १६५ मत ल्याए। सिगास गाउँपालिकामा नेपाली कांग्रेसका हरी सिंह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भएका छन्। नेकपा एमालेका जस्वीर सिंह बोहरा  एक हजार ६४९ मतसहित पराजित भए।

दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुष्करराज जोशीले ६ हजार ६८५ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र रावलले ५ हजार ४२७ मत ल्याए।

पञ्चेश्वर गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा नेकपा एमालेको गोरख बहादुर चन्द विजयी भए। उनले ३ हजार ७४२ मत ल्याए भने गठबन्धनबाट नेपाली कांग्रेसका रमेश भण्डारीले २ हजार ४८८ मत ल्याए।

दोगडाकेदार गाउँपालिकामा गठबन्धनका देवराज जोशीलाई पराजित गर्दै नेकपा एमालेका चक्र कार्की विजयी भएका छन्। कार्कीले ४ हजार ९१७  मत ल्याएर विजयी भएका हुन्। गठबन्धनका जोशीले ४ हजार ९१ मत ल्याए।

सुर्नया गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टलाई २६ मतले पछि पार्दै एमालेका अम्मर कुँवर विजयी भए। कुवँरले २ हजार ३५० मत प्राप्त गर्दा बिष्टले २ हजार ३२४ मत ल्याए।

मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका भिम बहादुर चन्द (भूकम्प) विजयी भए। उनले ३ हजार ९६ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश नायकले २ हजार ३७६ मत प्राप्त गरे।

यस्तै डिलाशैनी गाउँपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी विजयी भएका छन्। जोशीले ३ हजार १८९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका लोकेन्द्र राना (शितल)ले २ हजार ६४१ मत ल्याए।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष र ३ सय ३६ वडा सदस्य गरी ४ सय ४० जना जनप्रतिनिधि छनौट भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.