|

पोखरा : पोखरा महानगरपालिकाको प्रमुख पदका मुख्य दुई प्रतिस्पर्धी गठबन्धन र एमालेबीचको मतान्तर दुई हजारभन्दा पनि बढी पुगेको छ।

निर्वाचन आयोगले सार्वजनिक गर्दै गइरहेको मतगणना नतिजामा हरेक पटक मतान्तर बढ्दै जाँदा पछिल्लो पटक सबैभन्दा बढी २ हजार ३५ मतको अन्तर कायम भएको छ।

३९ हजार ३१३ मत गणना गर्दा गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १६ हजार ४१९ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले १४ हजार ३८४ मत पाएका छन्।

एमालेका आधार क्षेत्रका रूपमा हेरिएका वडाहरूको मतगणना चलिरहँदा पनि गठबन्धनका आचार्यले मतान्तरलाई फराकिलो बनाएका छन्।

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले १ हजार ६२१, अटेरी समूहका गनेश पौडेलले ८८६, विवेकशील साझाकी सुशीला केसी (अधिकारी) ले ११५ मत पाएका छन्। यी बाहेकका अन्य उम्मेदवारले एक सय मत पनि कटाउन सकेका छैनन्।

उपप्रमुखमा रहेको मतान्तरको सीमा भने निरन्तर घट्दै गइरहेको छ। पछिल्लो परिणाम अनुसार काँग्रेसबाट उम्मेदवार रहेकी कोपिला रानाभाटले एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई २६७ मतले पछाडि पारेकी छिन्। उनीहरूबीच बुधवार बिहान ४१० मतको अन्तर रहेको थियो।

रानाभाटको पक्षमा १६ हजार ६६५ मत आउँदा गुरुङको पक्षमा १६ हजार ३९८ मत आएको छ। उपप्रमुख पदमा प्रतिस्पर्धा गरिरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रन्जनाकुमारी सेन पौडेललाई १ हजार ३७५ र विवेकशील साझाका माधव पौडेललाई ७४ मत आएका छन्।

यी बाहेकका अन्य उम्मेदवारहरूको मत ५० पनि पुगेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.