|

विराटनगर : सधैँ भन्दा फरक छ सहिद रंगशाला वरिपरिकाे दृष्य। मध्य दिनमा होस या साँझको समय मान्छेको जमात उत्तिकै हुन्छ। अरूबेला जस्तो हुँदो हो त सहिद रंगशालाको घेरा भित्र देखि बाहिरसम्म खेल हार जितको बहस र समर्थकहरूको घुइँचो हुन्थ्यो।

यतिबेला चर्चा  कुनै खेलको होईन। समर्थक भिड पनि मनपर्ने खेलाडी र टिमका लागि होइन। पाँच वर्षसम्मका लागि विराटनगर महानगरपालिकाको नेतृत्वको बागडोर कसको पोल्टोमा पर्ला भन्ने दलहरु बीचको हार जितको बहस र समर्थकहरूको घुइँचो हो।

यतिबेला मुलुकै स्थानीय तह निर्वाचनको नतिजाको पर्खाइमा छ। कति स्थानमा उम्मेदवारी चुनिइसकेका छन् भने कति ठाउँमा बाँकी नै छ। यस्तै प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिकाको मत परिणाम तर्फ सबैको ध्यान मोडिएको छ।

भिडमा सबै मत परिणाम सुन्नको हतारमा रहँदा विराटनगर– २ की रीना सहनीलाई भने मकै पोल्नु र बिक्री गर्नुको चटारो छ। उनी दिउँसो १२ बजेदेखि मतगणना स्थल अर्थात सहिद रंगशाला अगाडि रहेको आदर्श विद्यालयको एक छेउमा बसेर मकै पोल्दै बिक्री गर्छिन्।

मकै पोलेर बिक्री गर्ने उनको व्यवसाय भने होईन। भीडभाडमा बिक्री हुन्छ भन्ने लागेर व्यापार गर्न बसेकाे उनी बताउँछिन्। ‘सँधै म यो व्यापार गर्दिन, भिडभाडमा बिक्री हुन्छ भनेर मात्रै हो, 'उनले भनिन्, ‘दुई दिन देखि व्यापार गर्न थालेको राम्रै आम्दानी भएको छ।’ बिहान इटहरीबाट खरिद गरेर ल्याएको मकै दिनभरमा ल्याए जति सबै सकिएको उनले सुनाइन्।

यस्तै रामपुरकी अनितालाई पनि रीनालाई झैँ मकै पोल्दै बिक्री गर्नुको चटारो उस्तै छ। उनको पनि गर्दै आएको व्यवसाय भने होईन। तर, भिडभाडमा बिक्री भए आफैँलाई आम्दानी हुन्छ भन्ने सोचले व्यापार गर्न बसेको उनी बताउँछिन्। तीन दिन देखि व्यापार थालेको उनको राम्रै आम्दानी भएको उनले सुनाइन्।

भिडलाई को बन्ला विराटनगर महानगरपालिकाको मेयर भन्ने खुल्दुली भइरहँदा रीना  र अनितालाई भने व्यापारमा फाइदा वा नाफा र भोकाएका हरुलाई मकैको स्वाद चखाउन बाहेक कुनै कुराको चासाे छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.