मुख्य अधिकृत भन्छन्- दोहोर्‍याएर प्रतिनिधिलाई मतपत्र देखाउँदा ढिलाइ भयो

|

काठमाडौं : ललितपुर महानगरपालिकाको मतगणना यतिखेर जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ। तर मतगणना ढिलाइ हुँदा मतदाता हैरान छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत शनिबारदेखि आजसम्म अर्थात ५ दिनमा २५ हजार २ सय ६२ मत मात्र गणना सकिएकाे छ। महानगरपालिकामा २९ वटा वडा छन्। जसमा १ लाख २२ हजार ८ सय मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको अनुमान छ।

मतगणना ढिलाइ हुँदा मतदाता आफूले भोट दिएका जनप्रतिनिधि जित हासिल गर्छन् वा गर्दैनन् भन्दै कुर्न बाध्य छन्। निर्वाचन आयोगले समेत छिटो मतगणना सक्न सबै स्थानीय तहलाई निर्देशन दिइरहेकाे छ। तर गणना सुस्त गतिमै छ।

यता मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले भने ठाउँको अभावले समस्या भएको जानकारी दिए। उनले भने, ‘हामीले भएको ठाउँ जति सबै प्रयोग गरि ६ ठाउँबाट मत गणना गरेका छौँ, प्रतिनिधिलाई सबैलाई मतपत्र दोहोर्‍याएर देखाउनु पर्छ, कहिले ठिक भन्नुहुन्छ, कहिले ठिक छैन भन्छन्, यस्तै कारण ढिलाइ भएको छ, तर सक्दो छिट्टै गणना गरिरहेका छौँ।’ 

उनका अनुसार अहिले वडा ९, १०, ११, र १२ वडाको गणना भइरहेको छ। अहिलेसम्म गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

महर्जनले १३ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार ५१ मत  मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ७ हजार २ सय ७८ मत प्राप्त गरेकी छिन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्य ५ हजार ४ सय ७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.