|

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सातवटा स्थानीय तहमध्ये तीनवटामा मात्रै नेपाली काँग्रेस विजयी भएको थियो। अघिल्लो स्थानीय  निर्वाचनमा कुश्मा नगरपालिका, जलजला गाउँपालिका र पैयुँ गाउँपालिकामा मात्रै जितेको काँग्रेसले अहिले यी सहित एमालेको बलियो क्षेत्रका रूपमा हेरिएको फलेवास नगरपालिका र बिहादी गाउँपालिकामा पनि बाजी मारेको छ।

२०७४ सालको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा काँग्रेसका रामचन्द्र जोशीले एमालेका उम्मेदवार मेघनाथ सुवेदीलाई पराजित गरेका थिए। जोशीले ८ हजार ५७ मत पाउँदा सुवेदीले ७ हजार २३९ मत पाएका थिए। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार शङ्कर गिरीले १ हजार १६३ मत पाएका थिए।

यस पटकको निर्वाचनमा जोशीले ९ हजार ८६४ मत पाएका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीले पाएको मतको योगफल ९ हजार २२० हुन्छ। तर यस पटकको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जोशी त्यो भन्दा बढी मत पाएका छन्। किनकि त्यसमा थोरै मतदाता रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका कार्यकर्ताले पनि केही मत थपिदिएका छन्। काँग्रेसका कार्यकर्ताले पनि माओवादीलाई काँग्रेस जत्तिकै माया गरे। ०७४ को चुनावमा प्रमुखमा लड्दा १ हजार १६३ मत ल्याएका माओवादीका शङ्कर गिरीले यस पटक उपप्रमुखमा लड्दा ८ हजार २८२ मत पाएका छन्। उनी निर्वाचित हुन नसके पनि पहिलेको भन्दा अत्यधिक मत पाएका छन्।

फलेवास नगरपालिकाको अवस्था पनि कुश्मा नगरपालिकाकै जस्तो छ। ०७४ को निर्वाचनमा काँग्रेसका उम्मेदवार गंगाधर तिवारीले ५ हजार ७५५ मत र माओवादीका उम्मेदवार मोती शर्मा रेग्मीले ४१४ मत ल्याएका थिए। यस पटक पनि नगरप्रमुखमा लडेका तिवारीले ७ हजार ७०० मत ल्याउँदै एमालेका उम्मेदवारलाई पराजित गरे। अघिल्लो स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा नै उम्मेदवार रहेकी शोभा क्षेत्रीले ६९६ मत ल्याएकी थिइन्। काँग्रेसका कार्यकर्ताले दिएकै भोटका कारण उनले यस पटक ६ हजार ३२७ मत ल्याएर उपप्रमुखमा निर्वाचित भइन्।

‘फलेवास नगरपालिका मात्रै होइन पर्वत जिल्लाभर नै गठबन्धनले राम्रो काम गरेको छ। गठबन्धनमा रहेका एक दलले अर्को दललाई इमानदारीपूर्वक मतदान गर्नुभएको छ। इमानदार कार्यकर्तामा हुने गुण पनि यही हो’, फलेवास नगरपालिकाको प्रमुखमा निर्वाचित तिवारी भन्छन्, ‘गठबन्धनको कुरा सुन्दा कार्यकर्ताहरूलाई शुरुमा नराम्रो लागेको हो। तर अहिले पर्वत जिल्ला र देश भरीको राम्रो नतिजा देख्दा उहाँहरू पनि प्रसन्न हुनुहुन्छ। अब हामीले राम्रो काम गर्दा उहाँहरूमा सन्तुष्टि मिल्छ।’

२०७४ को निर्वाचनमा बिहादी गाउँपालिकामा काँग्रेसबाट उम्मेदवार रहेका परबिन गुरुङले २ हजार २१७ मत पाएर एमालेका उम्मेदवारसँग पराजित भए। उनै गुरुङ अहिले ३ हजार ४६९ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। तर उपाध्यक्षमा लडेका माओवादीका सन्तबहादुर गुरुङ भने गठबन्धनमा रहेर पनि पराजित भएका छन्।

एउटा मात्रै चुनाव चिह्नमा मतदान गर्दै आएका कतिपय मतदाताहरूले अन्य चुनाव चिन्हमा मतदान गर्न नमान्ने अवस्था रहेका कारण काँग्रेसका उम्मेदवारले जति मत पाएका छन् गठबन्धनका उम्मेदवारले पनि त्यत्ति नै मत पाएको अवस्था भने छैन। पर्वतका लागि तयार पारिएको मतपत्र र ‘कोलम’ नै फड्किएर गर्नुपर्ने मतदानका कारण धेरै मत बदर हुँदा समस्या भएको नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको भनाइ छ।

‘गठबन्धन हामीले सोचको भन्दा पनि सफल भएको छ। तैपनि जति ठाउँमा जित हुन्छ भनेका थियौँ त्यो भने अलिकति भएको छैन,’ उनले भने, ‘कोलम नै फड्केर मत हाल्नुपर्ने थियो त्यसमा सबैले मेसो पाउने कुरा भएन। धेरै मत बदर हुँदा हामी झिनो झिनो अन्तरमा पराजित पनि भएका छौँ।’

गठबन्धनकै कारण काँग्रेसले एमालेकाे गढ मानिएका क्षेत्रमा समेत आफ्ना उम्मेदवारलाई निर्वाचित गराएको छ। ०७४ को निर्वाचनमा ३७ वडामा एमालेले, ४ वडामा माओवादीले र २० वटा वडामा काँग्रेसले जितेका थिए। यस पटकको निर्वाचनमा एमालेका ४ वटा वडा गुमेका छन्।

एमाले ३३ वडामा सीमित हुँदा माओवादीले तीन, काँग्रेसले २४ र स्वतन्त्रले एउटा वडामा जित हात पारेका छन्। माओवादीले एउटा वडा गुमाउनु परे पनि जलजला गाउँपालिकाको उपाध्यक्ष र फलेवास नगरपालिकाको उपप्रमुख पाउनु उसका लागि राम्रो उपलब्धि हो। गठबन्धन सफल भएको र यसलाई निरन्तरता दिनुपर्ने माओवादी नेताहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.