|

ललितपुर : जिल्लाको गोदावरी नगरपालिकामा मेयर र उपमेयर सहित अधिकांश वडामा नेपाली कांग्रेस विजयी भएकाे छ।

नगरपालिकाको वडा नम्बर १३ झरुवाराशीमा भने एमालेले आफ्नो अस्तित्व जोगाएको छ।

हुन त वडा नम्बर ६ र १० मा वडा अध्यक्ष नजिते पनि वडा सदस्य जितेको छ।

११ वटा वडा जितेर हौसिएको कांग्रेसले एमालेको गड रहेको झरुवाराशी भने जित्न सकेन।

कांग्रेसले अघिल्लो स्थानीय तहको चुनावमा भन्दा यसपालि थप २ वटा वडा जितेको छ। गोदावरी १३ झरुवारासीको वडाध्यक्ष पदमा नेकपा एमालेका भाष्कर थापा पुनः विजयी भए।

बिहीबार सबेरै आएको मत परिणाम अनुसार थापाले १ हजार ५१ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरुषोत्तम पौडेल (ठाकुर) ले ९ सय ११ मत ल्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सचिन केसीले ५ सय ६७ मत पाए।

यसैगरी सदस्यहरूमा पनि एमालेका सबै उम्मेदवारहरू विजयी भए। महिला सदस्यमा मुन्ना केसी, दलित महिला सदस्य मैया रोक्का नेपाली तथा खुल्ला सदस्यमा प्रेम बहादुर थापा र कमल बहादुर केसी निर्वाचित भएका छन्।

थापालाई लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा निष्ठा र आदर्शको राजनीति गर्ने नेताको रुपमा परिचित लिइन्छ।

उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक झरुवारासी गाविसको उपाध्यक्षमा विजयी भएका थिए। गत २०७४ को स्थानीय तहको निर्वाचनमा पनि गोदावरी १३ को वडाध्यक्षमा निर्वाचित भएका थिए।

गोदावरीको मेयरमा, उपमेयरदेखि लिएर ११ वटा वडामा कांग्रेस विजयी भएको छ। मेयरमा एमालेका गम्भिर रानालाई हराउँदै फेरि कांग्रेसका गजेन्द्र महर्जन मेयरमा निर्वाचित भएका छन्।

उपमेयरमा एमालेकी रमी प्रधानाङ्गलाई हराउँदै फेरि मुना अधिकारी नै विजयी भएकी छिन्। महर्जन निवर्तमान मेयर र अधिकारी निवर्तमान उपमेयर रहेका छन्।

१४ वटा वडा रहेको गोदावरीमा कांग्रेसले ११ वटा वडा जित्दा माओवादी केन्द्रले २ तथा नेकपा एमालेले एक वडामा जितेको छ।

वडा नम्बर १, २, ४, ५ , ६, ७ , ९, १०,११, १२ र १४ वडामा कंग्रेस विजयी हुँदा वडा नम्बर ३ र ८ मा माओवादी केन्द्र विजयी भएको छ। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.