|

धरान : लौरो चुनाव चिह्न लिएर धरान उपमहानगरपालिकाको बागडोर आफ्नो पक्षमा पर्ने सपना देखेर हर्क साङपाङ चुनावमा होमिए। धरानको मेयरमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्ने विषयको चर्चा चल्दै गर्दा साङपाङले स्वतन्त्र उम्मेदवारी दिए।

पछि निर्वाचन आयोगले उनलाई लौरो चुनाव चिह्न दियो। गत वैशाख ३० गते शुक्रबार स्थानीय निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार धरानको मेयरमा साङपाङले नै ‘लिड’ गरिरहेका छन्। ४ दलीय गठबन्धको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राई दोस्रो स्थानमा छन्।

यत साढे दशकदेखि धरानको बागडोर सम्हाल्दै आएको नेकपा (एमाले) तेस्रो स्थानमा छ। निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले एमालेको विरासत नथेग्ने लगभग पक्का जस्तै छ। स्वतन्त्र उम्मेदवार र काँग्रेसका राईबीच कडा प्रतिस्पर्धा छ। जसले गर्दा अहिले नै कसले धरानको बागडोर सम्हाल्ला भनेर भन्न सकिने अवस्था छैन। यद्यपि स्वतन्त्र उम्मेदवारप्रति धरानमा आएको यो आकर्षण निकै अनपेक्षित छ।

कोही स्वतन्त्र उम्मेदवार आएर यस्तो हलचल मचाउला भनेर शायद कमैले सोचेका थिए। धेरैले सोच्न पनि नसकेको कुरा स्वतन्त्र उम्मेदवार साङपाङले वास्तविकतामा परिणत गर्दै छन्। धेरैले राजनीतिक दलले धरानका बासिन्दाको माग पूरा नगरेकाले स्वतन्त्रमा विश्वास बढेको अड्कलबाजी गरिरहेका छन्। अनि धरानका बासिन्दाको पनि उस्तै प्रतिक्रिया छ।

उनीहरूको मात्रै होइन, स्वतन्त्र उम्मेदवार साङपाङको पनि आँकलन र विश्वास त्यही छ। वर्षौँदेखि पार्टीले जनभावनामाथि कुठाराघात गरेकाले आफूमा विश्वास बढेको उनको भनाइ छ।

‘दलहरूले जनताको चाहना, आवश्यकता र भावना नसमेटेका कारणले गर्दा र जनताको अपेक्षाअनुसारको काम गर्न नसकेकाले गर्दा दलहरू विस्तारै–विस्तारै अलोकप्रिय हुँदै जाँदा देशभर स्वतन्त्र उम्मेदवार बढेका छन्’, उनले भने। देशभर दलहरू अलोकप्रिय र स्वतन्त्रहरू लोकप्रिय बन्दै जाँदा आफू पनि सोही अभियानमा होमिएको उनको भनाइ छ।

यसअघिका जनप्रतिनिधि र पार्टीगत रूपमा उम्मेदवारी दिनेले सपना ठूलो देखाए पनि सिन्को समेत नभाँचेको उनी बताउँछन्। आफू तिनै धराने जनताका स–साना आवश्यकतालाई प्राथमिकतामा राख्दै उम्मेदवार बनेको उनी बताउँछन्। ‘धरानमा ठूला–ठूला कुराभन्दा पनि विशेषगरी स–साना समस्या नै छन्’, उनले भने, ‘अत्यावश्यकका कुरा खानेपानी भयो, स्वास्थ्य र शिक्षाका कुरा भए, यी सामान्य आवश्यकता पनि दलले पूरा गर्न सकेनन्। यी नै कुरा स्वतन्त्रले पूरा गर्छन् भनेर जनताले विश्वास गरेका छन्। मेरो पनि त्यसैमा प्राथमिकता रहन्छ।’

दलका नेताहरूमा जितेर गएपछि हामी जनताको प्रतिनिधि हौँ भन्न कुरा ख्यालै नगर्ने उनको आरोप छ। उल्टै सरकारलाई दलगत स्वार्थमा प्रयोग गर्ने गरेको दृष्टान्त देखिने गरेको उनी सुनाउँछन्। ‘म त्यहाँ जितेर गएँ भने दलहरूले गर्न नसकेको काम गर्नेछु’, उनले भने, ‘दलका नेताहरूले गर्न त सक्नुहुन्थ्यो होला तर उहाँहरूले गर्न चाहनु भएन। उहाँहरूमा इच्छाशक्ति रहेन। त्यसैले उहाँहरूले नचाहेको कुरा जनताको सेवा म गर्छु।’

धरानमा ३० हजार मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार साङपाङले ९३७३ मत पाएका छन्। गत वैशाख ३१ गते शनिबारदेखि बुधबार दिउँसो १ बजेसम्म दोस्रो स्थानमा रहेका साङपाङले दिउँसोपछि छलाङ मारे। उनले पहिलो पटक १४ मतले अग्रता कायम गरे। त्यसपछि १९१ मत र अहिले २४५ मतले अग्रता कायम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.